६ वटा प्रदेशमा एसईई सम्पन्न
काठमाडौं : प्रदेश २ बाहेकका माध्यमिक शिक्षा परीक्षा (एसईई) बिहीबार सम्पन्न भएको छ । प्रश्नपत्र बाहिरीएपछि स्थगित भएको प्रदेश २ को परीक्षा भने शुक्रबारबाट फेरि सुचारु गर्ने राष्ट्रिय परीक्षा बोर्डले तयारी गरेको छ ।
प्रदेश २ बाहेकका प्रदेशमा भने सामान्य, प्राविधिक र संस्कृत तीनै धारको परीक्षा बिहीबार सकिएको हो । सामान्य र संस्कृत धारका परीक्षा भने चैत १८ गते नै सकिएको थियो । प्राविधिक धारमा अन्यमा भन्दा धेरै विषय भएका कारण तीन दिन थप समय लागेको हो ।
यस वर्ष सातवटै प्रदेशमा गरेर चार लाख ७० हजार परीक्षार्थी सहभागी थिए । प्रदेश २ बाट भने ७० हजार परीक्षार्थी सहभागी थिए । परीक्षा बोर्डले यी प्रदेशको परीक्षाका लागि पनि सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) का नियन्त्रक विष्णुप्रसाद अधिकारीले भने, ‘चार दिनअघिको हुरीका कारण थुपै्र जनधनको क्षति भएका बारा र पर्सा जिल्लामा पनि परीक्षा सञ्चालनका लागि कुनै कठिनाइ नभएको रिपोर्ट उताबाट आएको छ ।’