स्वास्थ्य कार्यालय प्रदेशलाई हस्तान्तरण
कालिकोट : जिल्ला स्वास्थ्य कार्यालय कालिकोटलाई कर्णाली प्रदेश सरकार मातहतमा रहने गरी हस्तान्तरण गरिएको छ। मुलुक संघीय संरचनामा गएपछि अन्योलमा परेको जिल्ला स्वास्थ्य कार्यालय अब प्रदेश सरकार मातहतमा रहने भएको हो। कर्णालीका जिल्ला भौगोलिक रूपमा विकट रहेकाले स्वास्थ्य सेवाबाट बञ्चित नागरिकलाई प्रभावकारी स्वास्थ्य सेवा दिन स्थानीय स्तरमै अस्पताल सञ्चालन गर्ने सरकारको अवधारणाअनुसार जिल्ला स्वास्थ्य कार्यालयलाई प्रदेश सरकार मातहतमा ल्याइएको हो।
जिल्ला समन्वय समितिका प्रमुख अनिपाल शाहीले संघीय संरचनापछि अन्योलमा परेको जिल्ला स्वास्थ्य कार्यालय प्रदेश सरकार मातहतमा जानु राम्रो भएको बताए। ‘कालिकोटमा औषधि अभाव छ। अव प्रदेश सरकारले औषधि उपलव्ध गराउनुपर्छ। स्वास्थ्य समस्यामा ध्यान दिनुपर्छ’, उनले भने। स्वास्थ्यको पहुँचभन्दा टाढा रहेका जनतालाई स्वास्थ्य सेवासँग जोड्न पहल गर्न पनि उनले आग्रह गरेका छन्। कार्यक्रममा खाडाचक्र नगरपालिकाका उपप्रमुख विजया विष्टले बर्षेनी हुँदै आएको सिटामोल अभाव अब हुन नदिन जिल्ला स्वास्थ्य कार्यालयले पहल लिनुपर्ने बताइन्।
कार्यक्रममा कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयका खोप अधिकृत चक्रबहादुर खड्काले स्वास्थ्य पाएनौं भन्ने गुनासो आउन नदिन स्वास्थ्य कार्यालय र अस्पतालबाट सेवालाई प्रभावकारी बनाउने बताए। स्वास्थ्य कार्यालय कालीकोटमा उपकरण र कर्मचारी समस्या समाधान गर्न तत्काल पहल थालिने उनको भनाइ छ। कार्यक्रममा प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्की, जिल्ला प्रहरी कार्यालय प्रमूख डिएसपी बिनोद शर्मा, कांग्रेस सहसचिव दमन शाही, अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सरोज बोगटीलगायतले गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्न जिल्ला स्वास्थ्य कार्यालयले समन्वयात्मक भुमीका खेल्नुपर्नेमा जोड दिएका थिए।