‘जोगिन्दर बन्न २० मिनेट लाग्छ’
हिमालयन टेलिभिजनमा टक सो ‘जोगिन्दरको पान पसल’ सञ्चालन गर्छु । केही वर्षअगाडि अमेरिकन एम्बेसीको यौनसम्बन्धी विषयवस्तुमा आधारित सर्ट फिल्ममा काम गरेको थिएँ । त्यसमा म पान पसलेको भूमिकामा थिएँ । पान पसलमा परिवार नियोजनका अस्थायी साधन पनि बेच्ने गर्थें । परिवार नियोजनबारे चेतना फैलाउन त्यो सर्ट फिल्म उपयोगी थियो । एम्बेसीका चारपाँच वटा फिल्ममा मैले खेलेको फिल्म पहिलो भयो ।
त्यसपछि मलाई ‘कलालाई मर्न दिनु हुँदैन’ भन्ने लाग्यो । त्यसका लागि हिमालयन टेलिभिनमा कुरा गरेँ । पान पसले जोगिन्दर बनेर टक सो सञ्चालन गर्न थालेँ । नेपाल टेलिभिजनबाट प्रसारण हुने ‘एक्सक्युज मी’ मा पनि मैले जोगिन्दरको भूमिका निर्वाह गरेको छु ।
सेटमा रेडी हुन मलाई दुई घण्टा लाग्छ । पान पसल थाप्न र पसलमा सामान मिलाएर राख्नुपर्ने भएकाले बढी समय लाग्छ । मेकअप गरेर जोगिन्दर बन्न २० मिनेट लाग्छ । लुंगी, कुर्ता र रातो फेटा लगाएपछि जोगिन्दर बन्ने गर्छु । दर्शकले मलाई भेट्दा विश्वास गर्नुहुन्न । मेरा घरकाले मलाई जोगिन्दर नै भन्नुहुन्छ । म तराईको बासिन्दा हुँ । त्यही जन्मेँहुर्कें । त्यसैले बोलीमा मलाई खासै ग्राहो हँुदैन ।
म जस्तो रियलमा बोल्छु, जोगिन्दर बनेपछि मेरो बोली त्योभन्दा एकदमै फरक हुन्छ । तर, मलाई स्वरमा खासै मेहनत गर्नु पर्दैन । दर्शकसामु आफूलाई शिवशंकर रिजाल भनेर चिनाउँदा उहाँहरू छक्क पर्नुहुन्छ । उहाँहरूलाई म रिजालभन्दा पनि तराईतिरको यादव, ठाकुरजस्तै थर भएको मान्छे लाग्ने रहेछु । रिजाल हो भन्दा कतिले त विश्वासै गर्नुहुन्न । कतिले ‘तपाईं पहाडिया पो हो’ भन्नुहुन्छ । टक सोबाट मैले धेरै प्रशंसा पाइरहेको छु ।
सोको पहिलो दिन अझै पनि सम्झिन्छु । तत्कालीन ऊर्जा मन्त्री प्रकाशशरण महत सोका अतिथि हुनुहुन्थ्यो । कुनै पनि मन्त्रीसँग त्यो मेरो पहिलो भेट थियो । एकदमै नर्भस भएको थिएँ । केही बिग्रिन्छ कि भन्ने डर लागेको थियो । तर, सो राम्रै भयो । राम्रो प्रतिक्रिया पाएँ ।