पाटनमा निशुल्क स्वास्थ्य शिविर
बैतडी : बैतडीको पाटनमा बिहीबारदेखि निशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको छ। बैतडी समाज कैलाली र पाटन नगरपालिका बैतडीको संयुक्त आयोजनामा शिविर संचालनमा आएको हो।ग्रामीण क्षेत्रका नागरिकलाई घरदैलोमा स्वास्थ्य सेवा दिने उद्देश्यले शिविरको आयोजना गरिएको बैतडी समाज कैलालीका अध्यक्ष मायाप्रकाश भट्टले बताए। उनले गाउँघरमै विशेषज्ञ सेवा दिने उद्देश्यले शिविरको आयोजना गरेको बताए।तीनदिनसम्म सञ्चालन हुने शिविरमा अप्रेशनबाहेकको विशेषज्ञ सेवा प्रदान भइरहेको छ।
शिविरमा बालरोग विशेषज्ञ, हाडजोर्नी तथा नशारोग विशेषज्ञ, स्त्रीरोग विशेषज्ञ, जनरल फिजिसियन, दाँत र आँखा रोगसम्बन्धी विशेषज्ञले सेवा दिइरहेका छन्।गाउँघरमै निशुल्क शिविर सञ्चालन हुँदा स्थानीयलाई सजिलो भएको पाटनका स्थानीय हरिश बिष्टले बताए
सुर्नयामा निशुल्क आँखा शिविर
बैतडीको सुर्नया गाउँपालिका-२ सतबाँझमा तीनदिने निशुल्क आँखा शिविर सुरु भएको छ। च्यारीटी हेल्थ फाउण्डेसन नेपाल, धनगढी नेत्रालय प्रालि र सुर्नया गाउँपालिकाको संयुक्त आयोजनामा शिविर सुरु भएको हो।
शिविरमा आँखाको जाँच,निशुल्क चस्मा र औषधि वितरण भइरहेको छ। शिविरमा चेकजाँच गराउँदा कसैको मोतीबिन्दु देखिएमा उनीहरुको निशुल्क उपचार गरिने त्यसका लागि फेरी शिविर सञ्चालन गरिने धनगढी नेत्रालय प्रालिका प्रबन्ध निर्देशक गजेन्द्रबहादुर चन्दले बताए।
स्वस्थ आँखा सुन्दर संसार, मोतीबिन्दुविहीन सुर्नया अभियान गाउँपालिकाले सञ्चालन गरिरहेकाले शिविरले सो अभियानमा सहयोग पुर्याउने गाउँपालिकाका अध्यक्ष वीरबहादुर बिष्टले बताए।