वडाध्यक्षले भनेको नमान्दा प्रहरीको लाइन काटियो

वडाध्यक्षले भनेको नमान्दा प्रहरीको लाइन काटियो

विराटनगर : आफूले भनेको नमानेको भन्दै एक जनप्रतिनिधिले प्रहरी चौकीको विद्युत आपूर्ति बन्द गरिदिएका छन्। विराटनगर महानगरपालिका वडा नम्बर १२ का वडाध्यक्ष हिरालाल कामतले आफूले भनेअनुसार नगरेको भन्दै प्रहरी चौकी बखरीको बिजुली काटिदिएका हुन्।

वडाध्यक्षले लाइन काटेपछि ५ दिन यता प्रहरी चौकी विद्युतविहीन छ। विद्युत लाइन काटिएपछि चौकीमा रहेको सञ्चार सेट तथा मोबाइल चार्ज गर्न आसपासमा धाउनु प्रहरीको बाध्यता बनेको छ।

स्थानीयवासीको सहयोगमा निर्माण भएको सो चौकीलाई स्थापनाकालदेखि नै वडा समितिको कार्यालयले आवश्यक विद्युत उपलब्ध गराउँदै आएको थियो। तर बिना सूचना एक्कासी विद्युत काटिएपछि दैनिक कार्यसञ्चालनमै समस्या भएको प्रहरी चौकी बखरीका प्रहरी सहायक निरीक्षक सन्तोष यादवले जानकारी दिए।

वडा कार्यालयबाट आएको बिजुली बन्द भएपछि अरु स्थानबाट आपूर्ति गर्न लागेको यादवले बताए। प्रहरी चौकीले विराटनगरको ६, ११ र १२ हेर्दै आएको छ।

घरेलु मदिरा उत्पादन र तस्करी हुने सो क्षेत्रमा पछिल्लो समय प्रहरीले कडाई गरेका छ। प्रहरीले कडाई गर्दा पक्राउ परेका कतिपय व्यक्तिलाई छाड्न वडाध्यक्ष कामतले प्रहरीलाई दबाव दिँदै आएको प्रहरी स्रोत बताउँछ। झैझगडा केसमा पक्राउ परेका आफूनिकटलाई छाड्न उनले दबाव दिने गरेको प्रहरी स्रोत बताउँछ।

तर वडाध्यक्ष कामतले आफूले प्रहरीलाई अनुचित दबाव नदिएको बताए। कामतले कार्यालय सञ्चालन गर्न भोल्टेजको समस्या भएपछि चौकीको विद्युत काटिएको दाबी गरे। वडा कार्यालयमा दुईवटा कम्प्युटर र चारवटा पंखा जडान भएकाले भोल्टेज अपुग हुँदै आएको उनले बताए। ‘कार्यालयको काम नै प्रभावित हुन थालेपछि चौकीको विद्युत काटिएको हो’, प्रहरीलाई जानकारी गराएरै विद्युत काटिएको जनाउँदै उनले भने, ‘मोबाइल र सञ्चार सेट चार्ज गर्ने भनेको छु।’

मोरङका प्रहरी प्रमुख मनोजकुमार केसीले चौकीमा विद्युत व्यवस्था गर्न निर्देशन दिएको बताए। वडा समितिबाट आपूर्ति हुँदै आएको विद्युत काटिनुको कारण जानकारी नभएको उनले बताए। कानुनअनुसार प्रहरीले काम गर्दे आएकाले कार्यालयमा छुट्टै विद्युत व्यवस्था गरिने उनले जानकारी दिए।

वडा कार्यालयले प्रहरी चौकीसहित सामुदायिक भवनमा समेत बिजुली दिने गरेको छ। तर त्यहाँ भने बिजुली काटिएको छैन।

सामुदायिक भवनमा समेत बिजुली काटिने जानकारी दिएको वडाध्यक्ष कामतको भनाई छ। ‘सामुदायिक भवनको समेत विद्युत काटिने सूचना दिएको छु‘, उनले भने। कामतले चौकीलाई छुट्टै विद्युत मिटर जडानको सिफारिस गर्ने बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.