दाइजो लिँदै छोरा बेच्दै

दाइजो लिँदै छोरा बेच्दै

काठमाडौं : तराजुको एकापट्टि बसेका छन् दुलहा। अर्कोपट्टि गाडी, पैसा, सुनचाँदी, गाईबस्तुलगायत खुद्राखुद्री थुप्रै सामान छन्। बेहुलीका बुवा अझै पैसा थप्दैछन् तर जति पैसा राखे पनि त्यसले बेहुलाको वजनलाई उछिन्न सकेको छैन। यता बेहुली तराजु ब्यालेन्समा आउनेबित्तिकै दुलहालाई वरमाला लगाइदिन प्रतीक्षारत छिन्।

यो दृश्य नेपाल आर्ट काउन्सिलमा प्रदर्शनीमा रहेको एक मिथिला चित्रको हो। तराई क्षेत्रमा व्याप्त दाइजो प्रथालाई व्यंग्य गर्दै चित्रकार रञ्जु यादवले उक्त चित्र बनाएकी हुन्। उनी भन्छिन्, ‘हाम्रा समाजमा अझै पनि दाइजो लिएर छोरा बेच्ने चलन छ।’ सम्पत्तिको लालसामा गरिने यस्तो कामले महिला पीडित हुन पुगेको उनी बताउँछिन्।

चैत १८ गते अन्नपूर्ण पोस्ट्ले ‘सिन्दूरभन्दा सस्तो जिन्दगी’ शीर्षकमा दाइजोकै कारण प्रदेश नं. २ का महिलाको घरेलु हिंसा र हत्या हुने गरेको समाचार प्रकाशन गरेको थियो। जसमा कृति झा, रञ्जना शमा, माधुरी वर्णवाल, सीमा शर्म, सुनीतादेवी यादवजस्ता महिलाकोे दाइजोकै कारण परिवारले निर्घात कुटपिट गर्दा मृत्यु भएको थियो।

तराईमा दाइजो प्रथा व्यावसायिक खरिदबिक्री प्रक्रिया जस्तै भएको कलाकार रञ्जु बताउँछिन्। ‘सामान जस्तै केटाको भाउ बर्सेनि बढ्छ’, उनी भन्छिन्, ‘यो साल १० लाख छ भने अर्को साल १२ लाख पुग्छ।’ शिक्षित युवाबाट दाइजो प्रथाको विरोध हुन नसक्दा समस्या जिउँकातिउँ रहेको रञ्जु बताउँछिन्। उनको अर्को चित्रमा वर (दुलहा) लाई बरद (गोरु) को संज्ञा दिइएको छ। विवाहजस्तो पवित्र बन्धनलाई सम्पत्ति र पैसामा मोलमोलाइ गर्ने हुनाले वरहरू सबै वरद भएको उनको बुझाइ छ।

विवाहपश्चात् दाइजो अपुग भएको भन्दै श्रीमान् र उनका परिवारले पेट्रोल छर्केर जलाइएको दृश्य रञ्जुका चित्रमा समावेश छ। उनले भ्रूण हत्याको विरोधमा समेत चित्र कोरेकी छन्। छोरीलाई शिक्षित बनाएमा मात्र महिला सशक्तीकरण सम्भव हुने उनको बुझाइ छ। उनी भन्छिन, ‘छोरी शिक्षित भए पूरा समाज शिक्षित हुन्छ।’ रञ्जुले आफ्नो चित्र मार्फत मिथिला समाजको चित्रण गरिरहँदा मिथिला आर्टको भरपुर प्रयोग गरेकी छन्। जसमा कमलको फूल, माछा, मयुरको बढी प्रयोग गरिएको छ। रञ्जुका अधिकांश चित्रमा नारी बाहुल्य छन्। जहाँ एक नारी घर खेत, अफिसको काम गर्नुको साथै समाजको अगुवा बनेकी छन्।

रञ्जुले बनाएका चित्र हेरिसकेपछि कवि तथा लेखक अभय श्रेष्ठले भने, ‘यो एक सचेत कला हो र त्यति नै संवेदनशील पनि।’ समाजका पुराना मूल्य र मान्यतामा सन्देह गर्दै त्यसमाथि धावा बोल्ने र न्यायपूर्ण मिथिला समाजको परिकल्पना रञ्जुको चित्रले गरेको उनले बताए।

रञ्जुले आफ्नो चित्रमार्फत तराईको धर्मसंस्कृति र परम्परा झल्काएकी छन् भने समाजका कतिपय गलत मूल्यमान्यता परिवर्तन हुनुपर्ने बताएकी छन्। उनका चित्रमा तराईका विविध समस्या चित्रण गरिएको छ। प्रदर्शनी आकार्षक बनाउन प्रदर्शन हलमा अरिपन बनाइएको छ। रञ्जु भन्छिन, ‘मण्डला नै अरिपन हो। यसलाई चौक वा चौका पनि भनिन्छ।’ उनले मिथिला सभ्यता चिनाउन भरदुतिया (भाइटीका) मा बनाइने अरिपनको शैली अपनाएकी हुन्।

रञ्जु सानैदेखि मिथिला चित्रकलामा रुचि राख्थिन्। बच्पनमा उनले कापीका हरेक पन्ना मिथिला चित्र बनाएरै भरेकी थिइन्। समूहमा थुप्रै पटक चित्रकला प्रदर्शनीमा भाग लिए पनि कलर अफ चेन्ज नाम दिइएको यो रञ्जुको एकल चित्रकला प्रदर्शनी हो। रञ्जुलै २०१५ देखि बनाएका चित्र प्रदर्शनीमा राखिएको छ। प्रदर्शनी बुधबार सकिएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.