गुणस्तरहीन तेल र घिउ बजारमा
काठमाडौं : नेपालमा उत्पादन हुने अधिकांश खानेतेल र घिउ गुणस्तरहीन भेटिएको छ। गुणस्तरहीन खानेतेल र घिउ मानव स्वास्थ्यका लागि पनि हानिकारक मानिन्छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गरेको बजार अनुगमनका क्रममा यस्तो पाइएको छ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले चालू आवको आठ महिनामा गुणस्तरहीन खाद्य तथा पेयजन्य पदार्थ उत्पादन गर्ने एक सय ३६ उत्पादनबिरूद्ध मुद्दा दायर गरेको छ। सबैभन्दा बढी मुद्दा खानेतेल र घिउसँग सम्बन्धित छन्। विभागका महानिर्देशक सञ्जीवकुमार कर्णले बिहीबार आठ महिनाको प्रगति सार्वजनिक गर्दै यो जानकारी दिएका हुन्। उनका अनुसार एउटै उद्योगका उत्पादनबिरुद्ध न्यून गुणस्तरअन्तर्गत १० वटासम्म मुद्दा दायर भएको छ।
बारास्थित कृष्ण आयल एन्ड रिफायनरी इन्डस्ट्रिजबाट उत्पादित वनस्पति घिउ, सन्फ्लावर तेल, सोयाविन तेल, पामोलिन तेल र तोरी तेल खानै नहुने अवस्थामा भेटिएको छ। यो उद्योगबाट उत्पादित खानेतेल र घिउ न्यून गुणस्तरको पाइएको छ। मिसावट गरेर उत्पादन गरिएका यस्ता खानेतेलको उपभोग गर्दा मानवस्वास्थ्यमा जटिल प्रकारका रोग लाग्ने सम्भावना हुन्छ।
यस्ता तेल प्रयोगले झाडापखाला, फुड प्वाइजन, टाइफाइड, कमलपित्त, झाडा पखाला, पाचनप्रणाली, कलेजो र मिर्गौलासम्बन्धी रोग लाग्न सक्छ। यो उद्योगबिरुद्ध चालु आर्थिक वर्षको साउनदेखि फागुनसम्ममा न्यून गुणस्तर महलभित्र १० वटा मुद्दा दायर गरिएको छ।
यस्तै बाराकै नारायणी आयल इन्डस्ट्रिजबाट उत्पादित सूर्यमुखी र तोरी ब्रान्डको तेल पनि गुणस्तरहीन अवस्थामा फेला परेको छ। यो उद्योगबिरुद्ध विभागले दुई मुद्दा दायर गरेको छ। यसैगरी एग्रो प्रोसेसिङको तोरी तेल र सूर्यमुखी तेलबिरुद्ध तीन मुद्दा र शिवशक्ति घिउ उद्योगको वनस्पति घिउ र सूर्यमुखी तेलबिरुद्ध दुई मुद्दा दायर भएको छ।
यस्तै बाराकै आदर्श आयल इन्डस्ट्रिजबाट उत्पादित तोरी तेल, गणपति वनस्पतिको सूर्यमुखी तेल, अन्नपूर्ण भेजिटेबल प्रोडक्टको वनस्पति घिउ, जय माँ लक्ष्मी डेरी उद्योगको घिउ, मनकामना एग्रो प्रोसेसिङको तोरी तेल, बौद्धनाथ घिउ उद्योगको घिउ र मिल्क फुड डेरी प्रोडक्टको घिउबिरुद्ध एक एक मुद्दा दायर भएको छ।
विभागका प्रवक्ता पूर्णचन्द वस्तीका अनुसार महँगो तेलमा सस्तो तथा कम गुणस्तरको तेल मिसाएर, तोरीको तेलमा पामोलिन र भटमासको तेल मिसाएर तथा सनफ्लावर तेलमा भटमास र पामोलिन तेल मिसाएर बिक्री गर्ने गम्भीर प्रकृतिका समस्या देखिएका छन्। मापदण्डअनुसार तेलमा हुनुपर्ने तत्व पनि कम र मापदण्डविपरीत भेटिएको छ। रिफाइन गरिएका तेलमा ०.५ भन्दा कम एसिडको भ्यालु हुनुपर्छ। यसैगरी पेरोअक्साइड को भ्यालु पनि १० मा हुनुपर्छ। ‘तर एसिड र पेरोअक्साइडको भ्यालु कुनैमा कम कुनैमा अत्यधिक परिमाणमा भेटियो’, वस्तीले भने, ‘खानै नहुने अवस्थामा तेल भेटिएपछि मुद्दा दायर गरेका छौं।’
यसपछि सबैभन्दा बढी प्रशोधित भन्दै पिउने पानी बिक्री गर्दै आएका उद्योगबिरुद्ध मुद्दा दायर भएको छ। पानी प्रशोधन गर्ने उद्योगबिरुद्ध ३३ वटा मुद्दा दायर भएको छ। यसपछि मिठाई, दूध, मसला, पीठो, दाना, चामल, मैदा, मह, चुक, हल्का पेय पदार्थलगायतबिरुद्ध मुद्दा दायर गरिएको छ।
मुलुकी अपराध संहिता तथा फौजदारी कार्यविधि संहिताले खाद्यसम्बन्धी कसुरलाई पहिलोपटक फौजदारी अपराधका रूपमा राखेको छ। फौजदारी अपराधका रूपमा परिभाषित गरी कडा दण्ड तथा सजायको व्यवस्था पनि गरिएको छ।
न्यून गुणस्तरको खाद्य पदार्थलाई उच्च गुणस्तरको भनी झुक्याई वा अखाद्य पदार्थ न्यून गुणस्तरको खाद्य पदार्थ वा अखाद्य पदार्थलाई उच्च गुणस्तरको भनी बिक्री गरेमा तथा कुनै उच्च गुणस्तरको खाद्य पदार्थमा निम्न स्तरको खाद्य पदार्थ वा अखाद्य पदार्थ मिसावट गरी बिक्री गरेमा पाँच वर्षसम्म कैद वा ५० हजार जरिवाना वा दुवै सजाय हुन सक्ने व्यवस्था छ।