स्थानीय तहमा प्राविधिक नै प्राविधिक
काठमाडौं : निजामती सेवाका कर्मचारीमध्ये स्थानीय तहमा ४९ प्रतिशत अर्थात् ६६ हजार ९ सय ८ दरबन्दी कायम छ। सरकारले स्वीकृत गरेको १ लाख ३७ हजार ६ सय १४ कर्मचारीमध्ये झन्डै आधा तहमा रहने व्यवस्था गरिएको हो। तर यति धेरै कर्मचारी कुन समूहका कर्मचारी रहलान् ? मन्त्रालयका अनुसार ७ सय ५३ वटै तहमा कुल स्वीकृत दरबन्दीको करिब ७४ प्रतिशत प्राविधिक कर्मचारी रहने सांगठनिक संरचना तयार भएको छ।
दरबन्दीका आधारमा तहमा अब प्राविधिक कर्मचारीको जमघट हुँदैछ। तहमा स्वीकृत सबै दरबन्दीमा सरकारले कर्मचारी खटाउन सके नागरिकले प्राविधिक तथा विशेषज्ञ सेवा पाउन सास्ती खेप्नु पर्ने छैन। ‘हिजो तल्लो तहसम्म स्वास्थ्य तथा कृषि सेवा पुर्याउन संरचना रहे पनि जनशक्ति नहुँदा स्थानीयले सेवा पाउन कठिनाइ थियो।
संघीयतामा केन्द्रका सबै अधिकार तल्लो तहसम्म पुर्याउन र स्थानीय सरकारलाई बलियो पारी प्रभावकारी सेवा उपलब्ध गराउन प्राविधिकतर्फ धेरै दरबन्दी कायम गरिएको हो’, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले भने।
प्राविधिकस्तरका सबै खालका कर्मचारी दरबन्दी अनुसार खटाइने र रिक्त दरबन्दीमा विज्ञापनमार्फत तत्काल पदपूर्ति पनि गरिने उनले जानकारी दिए। तहमा कृषि र स्वास्थ्यका कर्मचारीको दरबन्दी धेरै कायम भएको छ। कृषितर्फ अधिकृतमा १ हजार ५ सय ५०, सहायकतर्फ ६ हजार १ सय ७४ गरी जम्मा ७ हजार ७ सय २४ कर्मचारी रहने छन्। स्वास्थ्यमा अधिकृततर्फ २ सय १०, सहायकतर्फ २५ हजार ४ सय ४४ गरी जम्मा २५ हजार ६ सय ५४ कर्मचारी रहने छन्।
मन्त्रालयका अनुसार स्वास्थ्य संस्था तहलाई हस्तान्तरण गरिएकाले पनि प्राविधिक कर्मचारीको दरबन्दी संख्या बढेको भएको हो। मन्त्रालयका अनुसार ४ हजार १७ वटा स्वास्थ्य संस्थामार्फत स्थानीय स्वास्थ्य सेवा प्रवाहको व्यवस्था गरिएको छ। ३ सय ८ आयुर्वेद औषधालयहरू सम्बन्धित स्थानीय तहमातहत रहने गरी हस्तान्तरण भएका छन्।
२७ प्राथमिक अस्पताललाई सम्बन्धित स्थानीय तहमातहत लगिएकाले तहको कुल दरबन्दीमा ३८ प्रतिशत स्वास्थ्य सेवाको दरबन्दी कायम भएको मन्त्रालयका प्रवक्ता अधिकारीले जानकारी दिए।
प्रत्येक नगरपालिकामा प्राविधिकतर्फ इन्जिनियरको दरबन्दी रहने व्यवस्था गरिएको छ। नगरको वडा र गाउँपालिकामा भने जनसंख्याका आधारमा इन्जिनियरको दरबन्दी कायम गरिएको छ। त्यस्तै शिक्षा, वन समूहका कर्मचारी पनि प्राविधिक स्तरकै रहने छन्। प्रत्येक स्थानीय तहमा कृषि र पशु सेवातर्फको कम्तीमा एक/एक अधिकृत स्तरीय दरबन्दी कायम भएको छ। हरेक वडामा एक जना प्राविधिक र एक जना प्रशासनिक दरबन्दी कायम गरिएको छ।
संघ, प्रदेश र स्थानीय तहको कुल स्वीकृत दरबन्दीमध्ये ४९ प्रतिशत स्थानीय तहमा दरबन्दी कायम भएको छ। स्थानीय तहमा प्रशासन र प्राविधिक गरी ६६ हजार ९ सय ८ कर्मचारीको दरबन्दी कायम भएको हो। स्थानीय तहतर्फ स्वीकृत ६६ हजार ९ सय ८ दरबन्दीमध्ये निजामती सेवाबाट ३१ हजार ४३ कर्मचारी समायोजन भइसकेका छन्।
साबिकका स्थानीय तहका १० हजार ५ सय ४०, जिविसबाट १ हजार २ सय ४१ र अन्य सेवाबाट ३ सय १६ कर्मचारी गरी जम्मा १२ हजार ९७ कर्मचारी तहमा समायोजन भएका छन्। स्थानीय सरकार सञ्चालन ऐन दफा ८७ को व्यवस्था बमोजिम कार्यरत करिब ७ हजार ६ सय ५० गरी जम्मा ५० हजार ७ सय ९० कर्मचारी तहको सेवा प्रवाहमा खटिने मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले जानकारी दिए।