पूर्वमन्त्री शाही भन्छन्- 'कांग्रेस भित्रको कलह नयाँ होइन'
रुकुमपश्चिम : पूर्वमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य जीवनबहादुर शाहीले पार्टीमा भएको पछिल्लो कलह नयाँ नभएको बताएका छन्। कांग्रेसको जन्म नै विवाद र कलहका बीचबाट भएकाले बीचमा अरु पनि थुप्रै कलह व्यहोरेर आएको पार्टी विधानलगायतका विषयमा केही जिल्ला सभापतिले राखेको असहमतीलाई समान्य रुपमा लिनुपर्ने कुरामा जोड दिए ।
पार्टी कामको सिलसिलामा शुक्रबार रुकुम पश्चिम पुगेका शाहीले सदरमुकाम खलंगामा प्रेस युनियनको पत्रकार सम्मेलनमा आफ्नो धारणा राख्दै पार्टीमा विधान पारित हुँदा नै २० प्रतिशतले विधानप्रति असमति जनाएको र त्यही असमतिको परिणाम अहिले देखिएको बताए।
उनले भोली बस्ने केन्द्रीय समितिको बैठकमा विधान परिमार्जनको विषयमा छलफल नहुने तर यो समस्याको समाधान भने गर्नेपर्ने बताए। 'अहिले पार्टी विधान परिमार्जन गर्नुपर्ने माग उठेको छ। विधान पारित गार्दा खेरी नै मसहित अन्य २० प्रतिशत केन्द्रीय सदस्यले असमति जनाएका थियौं,' उनले भने, 'केही पार्टी सभापतिको अहिले त्यही विषयमा असमति देखियो ।यो विषयमा ढिलोचाँडो निकास निक्लिएला, निक्लनैपर्छ तर भोली बस्ने बैठकमा नै यस विषयमा छलफल भैहाल्ने सम्भावना म देख्दिन।'
पार्टीका असन्तुष्ट ५० भन्दा बटी जिल्ला सभापतिको बिहीबार काठमाडौंमा सम्पन्न एक बैठकले भोली शनिबार बस्ने समिति बैठकबाट विधान परिमार्जन गर्नुपर्ने अल्टिमेटम दिएका छन्। यसै प्रसंगमा शाहीले आफ्नो भनाई राखेका हुन्।
कर्णाली प्रदेशका प्रमुख प्रतिपक्षी दलका नेता समेत रहेका शाहीले वर्तमान सरकारले दुई तिहाईको दम्ब देखाएको तर जनतालाई अनुभूत हुने गरी भने केही गर्न नसकेको आरोप पनि लगाए।
नेपालको तथ्यगत आधारलाई ख्याल नगरी सरकार भावनामा बहकिएको बताउँदै शाहीले संघले प्रदेश सरकारको अधिकार कुण्ठिन गरिदिँदा प्रदेश सरकार सबभन्दा कमजोर देखिएको पनि बताए। साथै उनले वाईडवडी प्रकरणमा आवश्यकताभन्दा बढी मिडियाबाजी भएकोमा असन्तुष्टि व्यक्त गरे।
अहिले यो विषय अख्तियारमा गएकाले चाँडै यस बारेमा सत्यतथ्य बाहिर आउने र गल्ती गरेकाले कारवाही भोग्नुपर्ने पनि पूर्व मन्त्री तथा कांग्रेस नेता शाहीको भनाई थियो।