जसलाई चौरी, खर्क र गोठबाहेक अरु थाहा छैन
जुगल (सिन्धुपाल्चोक) : जुगल गाउँपालिका-३ तेम्बाथानकी ४६ वर्षीया मिङ्मा शेर्पा चौरी गोठमै जन्मिइन्।उनी जन्मदा उनका बावु-आमाले चौरी व्यवसाय गरिरहेका थिए। उनी गोठ र खर्कमै हुर्किन। अनि विवाह पनि खर्कमै गरिन्, स्थानीय जाङ्बु शेर्पासँग।
खर्क र गोठबाहेकको अन्य संसारसँग उनको सानिध्यता छैन।वर्षको तीन महिनाबाहेक गाउँमा बिताउन पाउँदिनन्। चिसो बढ्दै गएपछि उनको गोठ तीन महिनाका लागि तेम्बाथान पुग्छ।त्यसैले उनी हरेक वर्ष कात्तिकमा आफ्नो गाउँ तेम्बाथान पुग्छिन्। त्यही बेला आफन्त र छिमेकीसँग भेट हुन्छ।फेरि माघबाट विस्तारै लेक चढेपछि कम्तिमा पाँच ठाउँमा गोठ सार्दै खर्क र गोठमै वर्ष बित्छ।
उनका सन्तान पनि गोठमै जन्मिए अनि त्यही हुर्किंदै छन्। उनका चार सन्तानमध्ये पछिल्ला दुईजना मात्र स्कुल जान थालेका छन्।बाँकी दुई छोरी उनीहरुलाई गोठमै सघाउँछन्।'पहिला पढाउनुपर्छ भन्ने थाहा भएन, अहिले दुईजनालाई आफन्तकोमा राखेर पढाउन थालेका छौं,' झण्डै २७ सय मिटर उचाईको निमालास्थित गोठमा भेटिएकी मिङ्माले भनिन्, 'दुई सन्तानले हामीले जस्तो दुःख भोग्नु नपरोस् भनेर पढाउन थालेका हौं।'
उनले साँढे चार दशकको अवधिसम्म भोट हालेकी छैनन्।चुनाव आएपछि श्रीमान भने साता लगाएर गाउँमा भोट हाल्न जाने गरेको उनले बताइन्।'भोट हाल्न गएका बेला गोठका लागि चाहिने सातु सामल पनि बोकेर आउँछन्,' मिङमाले भनिन्, 'अघिपछि पनि खाने सामान सकिएपछि उहाँ नै गएर बोकेर ल्याउनु हुन्छ।'
उनीजस्तै गोठ र खर्कमा रहने महिला कसैले पनि भोट हाल्न पाउँदैनन्।आफ्नो उमेर बताउन नसक्ने मिङ्मारल्हामु शेर्पाको पनि कथा उस्तै छ।विवाहपछि गोठ र खर्क सम्हाल्न थालेकी मिङ्मारल्हामुलाई पनि आफ्नो संसार नै चौंरी, गोठ र खर्क भए जस्तो लाग्छ।
हिमाली क्षेत्रमा अभ्यस्त उनी तेम्बाथानबाट माघमा गोठ सारेपछि ढोङ्जाङ्मा, निमाला, चाँसीखर्क, थालदर, नेपेमासाल हुँदै चार हजार दुई सय ५० मिटर उचाईमा पर्ने बुम्बाशेर्पूसम्म पुग्छिन्। जुगल हिमश्रृंखलाको फूर्बा ज्योज्यो हिमालको फेदीमा पर्ने बुम्बाशेर्पू उनको अन्तिम गन्तव्य हो। मध्ये गर्मीमा बुम्बा शेर्पू पुग्ने उनको परिवार जाडोसँगै तल झर्ने गर्छ। 'गोठमाथि सार्दै लगेपछि गाउँमा के भयो त्यसको अत्तोपत्तो हुँदैन,' मिङ्मारल्हामूले भनिन्, 'हाम्रो सन्सार नै यही खर्क र गोठ हुन्छ।'
गोठमा उनलाई सघाउन श्रीमान र १७ वर्षीया छोरी फूर्वा छन्। गोठमै हुर्किएकी छोरी फुर्वाले पनि स्कुलको संघार टेकिनन् ।'यहाँ त बिरामी भयो भने औषधि र झाँक्री केही पनि पाइदैन,' गोठमा रुघा र ज्वरोले च्यापेको अवस्थामा भेटिएकी मिङ्मारल्हामुले दुखेसो गरिन्। 'गोठ र खर्कको जिन्दगी नखाउँ भने दिनभरीको शिकार खाउँ भने कान्छा बाबुको अनुहार जस्तै छ।' चौरी चराउने, चौरीलाई स्याहार गर्ने, दूध दुहुने र छुर्पी बनाउनमै आफ्नो जिन्दगी सीमित भएको उनले बताइन्।
गोठमा छोरी फूर्वा र काखे छोराका साथ निमाल्हामू शेर्पा।