बाराको विरह : गरिबमाथि प्रकृतिको 'अन्याय'
फेटाबाट फर्किएपछि
काठमाडौं : प्रकृतिले वितण्डा मच्चाउनुअघि फेटाका बासिन्दासँग सबथोक थियो। पुगिसरी त थिएन तर सन्तुष्टि पक्कै थियो। सानै भएपनि घर थियो। परिवार थियो। र, प्रियजनको माया थियो।
प्रकृतिले सीताराम पटेल (६०) सँग यी सबै कुरा खोसिदिएको छ।
बारा जिल्लास्थित फेटा गाउँपालिकाको भरवलिया गाउँ पुग्दा सीताराम विरक्त देखिन्थे। उनको टाउकोमा सेतो पट्टी बाँधिएको थियो। मुहारमा गहिरो निराशा देखिन्थ्यो। लाग्थ्यो, आइतबार आएको भयंकर हुरीको उनलाई शारीरिक रुपमा मात्र होइन, मानसिक रुपमा पनि गहिरो चोट लागेको छ।
सीताराम पटेल
प्रकृतिको उदण्डताबाट तहसनहस भएका गाउँ पुगेपछि हामीले कयौं सीताराम भेट्टायौं जसले आश्रय लिने झुपडीमात्र भनइ हाँसिरहेका-खेलिरहेका प्रियजन गुमाएका थिए, जोगाएर राखेको अन्न गुमाएका थिए। असह्य पीडा खेपिरहेको उनीहरूको आँखामा प्रष्ट देखिन्थ्यो। बोल्दा बोल्दै उनीहरूका गला अवरुद्ध हुन्थे।
'खेती किसानी गरेर बालबच्चा पाल्दै आएका थियौं, भत्किएको घरलाई फेरि बस्न लायक बनाउन हामीसँग पैसा पनि छैन', गम्भीर मुद्रामा सीताराम भनिरहन्छन्,'घरमा राखिएको अनाज पनि बाँकी रहेन, सबैजसो आफन्त अस्पतालमा छन्, गरिबलाई नै भगवानले अन्याय गर्यो।'
सीताराम जस्तै प्रकृतिको वितण्डामाथि धेरैको प्रतिकृया थियो, 'गरिबमामाथि ईश्वले नै अन्याय गर्यो।'
राज्यको राहत
सरकारको राहत पीडित गाउँले समक्ष समयमै नपुग्दा फेटाबासीहरूले झन् पीडा बेहोर्नुपरेको प्रष्ट देखिन्यो। दुई दिन ढिलागरी पुगेको सरकारको राहत पनि थोरै गाउँमा सीमित रह्यो।
मंगलबार बेलुका हामी फेटा गाउँपालिकास्थित पुरैनिया पुग्दा सरकारका टेन्ट भर्खरै पुगेका थिए। नेपाली सेनाले एक घर, एक टेन्ट ठड्याउँदै थियो। पुरैनिया यस्तो गाउँ हो जो सुरुदेखि नै चर्चामा थियो। सञ्चार माध्यमहरू पनि त्यही गाउँमै केन्द्रित रहे। त्यस्तो गाउँमा पनि राज्यको राहत दुईदिनपछिमात्र पुग्नु आफैंमा बिडम्बना हो।
पुरैनिया गाउँका पीडितसँग कुराकानी गरिरहँदा एक महिलाले अन्य गाउँको अवस्था वीरगञ्जस्थित अन्नपूर्णका सम्वाददाता क्रान्ति शाहलाई सुनाउँदै थिए। 'तपाईँहरू उताका अरू गाउँमा पनि जानुस् न, यहाँ त राहत आइपुगेको छ, अरु गाउँको अवस्था बिजोक छ', उनी भन्दै थिइन्, 'प्रचार-प्रसार नभएर ती गाउँहरूमा सरकारको त कुरै नगरौं कुनै संस्थाको पनि राहत पुगेको छैन।'
स्थानीयले राहत भरपुर पुगेको भन्ने गाउँमा भर्खर सरकारी टेन्ट लगाइँदै थियो। ‘राहत पुगेको’ पुरैनियामा यो हाहाकार, राहत नपुगेको गाउँको अवस्था कस्तो होला ? प्रश्नहरूमात्र थिए मनमा।
घटनाको भोलिपल्ट प्रधानमन्त्री केपी शर्मा ओलीले हेलिकप्टरबाट फेटा गाउँपालि अवलोकन गरे। तर, भोलिपल्ट बेलुकासम्म पनि गाउँमा राहत पुग्न सकेको थिएन। मानिसहरू व्यक्तिगत रुपमा राहत लिएर गएका थिए। तर, राहत बोकेर गएका धेरैजसो राहत कम र राहत हस्तान्तरणको सेल्फीमा अधिक रमाइरहेका थिए।
राहतको नाममा धेरैजनाले चाउचाउ र बिस्कुट लिएर नजिकका गाउँमा पुगेका थिए। पीडितलाई चाउचाउ र बिस्कुट भन्दा ओढ्ने-ओछ्याउने सामग्री आवश्यक थियो।
च्यातिएको त्रिपालमा आमाको किरिया
तेस्रो दिन। फेटा गाउँपालिकाकै भरवलिया गाउँ।
हावाहुरीले तहसनहस पारेको तीन दिनपछि मात्र भरवलिया गाउँमा सुरक्षा तथा उद्दार टोली पुगेको रहेछ। हामी गाउँमा पुग्दा स्थानीय बासिन्दा र सेनाले भग्नावशेष कोट्याउँदै थिए। गाउँमा सरकारी टेन्ट आइपुगेकै थिएन। च्यातिएका त्रिपाल मुनि गाउँलेहरू ओत लागेका देखिन्थे।
घाम चर्को थियो। च्यातिएको त्रिपालले थोरै भए पनि घामबाट ओत दिएको थियो। राजेन्द्र पटेल त्यहीँ टोलाइरहेका थिए।
भत्किएको घरमा च्यापिएर उनकी आमा मनोरमा देवी पटेको आइतबार नै निधन भयो। आमा मनोरमाको निधनपछि राजेन्द्र त्रिपालकै ओतमा किरिया बसेका छन्।
'बाहिर हिँड्न मिल्दैन’, त्रिपाल मुनी गुन्द्रीमा पल्टिएका राजेन्द्र भन्दै थिए, 'पहिले केही थिएन, घाम चर्को भएपछि घरमै भएको पुरानो त्रिपाल लगाएको हुँ।'
कोही अस्पतालमा, कोही पीडामा
हावाहुरीको विपद्मा २९ जनाको मृत्यु भइसकेको छ। चार सयभन्दा बढी मानिस घाइते भएका छन्। सयौं घरपरिवार प्रभावित भएका छन्।
अस्पतालमा हुनेहरू कोही मुत्युसँग लडिरहेका छन्, कोही घाउको पीडामा छन्। गाउँमा हुनेहरूलाई आफ्ना आफन्तको चिन्ताले सताएको छ। भरवलिया गाउँका देवनाथ पटेल परिवारलाई पनि यस्तै चिन्ता छ। भत्किएको घरमा च्यापिएर गम्भीर घाइते भएका देवनाथ वीरगञ्जकै अस्पतालमा उपचार गराइरहेका छन्।
रुँदै गरेकी देवनाथकी चाची।
देवनाथको घर पुग्दा परिवारका सबैजना एकसाथ रोइरहेका थिए। बच्चादेखि वृद्धसम्म सबैका आँखा रसाएका थिए। 'मलाई भतिजा देखाइदेउ,मलाई भतिजा देखाइदेउ', देवनाथकी चाची रुँदै थिइन्।
देवनाथले रगत नपाएपछि अस्पतालमा उनको अवस्था बिग्रिँदै गएको रहेछ। तर, गाउँमा कसैले देवनाथको मृत्यु भयो भन्ने हल्ला फैलाइदिएपछि यहाँ कोलाहल मच्चिएको रहेछ।
घाइते भएका आफन्तजन सञ्चो भएर आउने प्रतिक्षामा देवनाथको जस्तै धेरै परिवारहरू छन्।
बाटोमा खटिया, खटियामा पढाई
भरवलिया गाउँमा छिर्दाछिर्दै देखियो- दुई बालिका खटियामा बसेर बढिरहेका छन्। छेवैमा भत्किएको घर, त्यसैमाथि त्रिपालमा टेन्ट। त्रिपालको अगाडि खटिया र खटियामाथि थिए- प्रतिमा र मनिषा।
दुबै दिदी बहिनी एकोहोरो किताब हेरिरहेका थिए। लाग्थ्यो- उनीहरूको पढ्ने इच्छाशक्तिलाई हावाहुरी र त्यसपछिको कोलाहलले रोक्न सकेन। क्यामरा देखेपछि अलिकति हच्किएका उनीहरू एकछिनपछि फर्केर हास्न थाले।
प्रतिमा र मनिषा खुला आकाशमुनी बसेर पढेका त छन् तर उनीहरूलाई थाहा छैन, स्कुल कहिलेदेखि सुरु हुन्छ। उनीहरूजस्ता सयौं बालबालिको पढाइ आइतबारको हुरी र त्यसपछिको कोलाहलले प्रभावित गरेको छ।