सगरमाथा आधार शिविरसम्म ट्रेकिङ गर्दै क्यानेडियन राजदूत
काठमाडौं : नेपालका लागि क्यानडाका गैरआवासीय राजदूत नादिर पटेल सगरमाथा आधार शिविरसम्म ट्रेकिङ गर्न लुक्ला प्रस्थान गरेका छन्। दिल्लीबाट काठमाडौं उत्रेका उनी शुक्रबार बिहान लुक्लातर्फ लागेका हुन्। लुक्लाबाट आधारशिविरसम्म ट्रेकिङ गर्ने सोचका साथ उनी त्यसतर्फ लागेका हुन्।
विश्वकै अग्लो शिखरको काखमा दुई साता बिताउने र त्यो दृष्य क्यानडा पुर्याउने उनले बताए। ‘कैयन कूटनीतिक वार्ताभन्दा नेपाल भ्रमण वर्ष २०२० को लागि यो काइदा उपयोगी रहने मेरो विश्वास छ’, अन्नपूर्णसँग संक्षिप्त कुरा गर्दै उनले भने, ‘मलाई नेपाल मनपर्छ। त्यसैले म आइरहन्छु। मेरो परिवार पनि नेपालको कुरा सुन्दा उत्साहित हुन्छन्।’
नेपाल भ्रमण वर्ष २०२० को प्रचार हुने गरी आफू त्यस क्षेत्रमा ट्रेक गर्न लागेको उनले यसअघि पत्रकार सम्मेलन गरेर बताएका थिए। ट्रेकिङ रुटमा क्यानेडियन सहयोगमा बनेका योजनाको विविध जानकारी लिने उद्देश्य पनि रहेको उनले स्पष्ट पारे। ‘सानो टिमसहित म त्यसतर्फ जान लागेको छु’, राजदूतले भने, ‘सन् २०१२ मा मेरी श्रीमतीले त्यस क्षेत्रमा ट्रेकिङ गर्दा सुनाएको अनुभवले मलाई त्यसतर्फ तानेको हो।’
उनका अनुसार नेपाल र क्यानडाबीच दशकौंदेखि घनिष्ठ सम्बन्ध रहेको र सगरमाथा जाने रुटमा क्यानडाले धेरै ऐतिहासिक र साँस्कृतिक सम्पदा निर्माणमा सघाएको छ। उनले भने, ‘हामी हिड्ने क्रममा ती सम्पदाको छोटाछोटा दृष्य कैद गर्ने र त्यो क्लिपको क्यानडामा प्रदर्शन गर्नेछौं। कतिपय सञ्चारमाध्यमले त्यसलाई लिइरहेका हुनेछन्। त्यसका अलावा सामाजिक सञ्जालमा पनि त्यो भिडियो राख्नेछौं।’
नेपालको विकासका लागि पर्यटन एक महत्वपूर्ण पाटो रहेको उल्लेख गर्दै उनले भने, ‘म नेपालको भविष्य उज्ज्वल देख्छु। किनकी नेपालमा यस्ता जानै पर्ने धेरै स्थान छन्।’ उनले पर्यटन बोर्डका प्रमुख कार्यकारी सुवास जोसीलाई देखाउँदै भने, ‘उहाँहरूले क्यानडा पुगेर पनि कैयन क्याम्पियन गर्नु भएको होला। तर, म यस्तो टिम लिएर नेपालबारे जानकारी दिँदा उहाँहरूको त्यो भ्रमण वर्षको अनुभवलाई सघाउन मद्दत पुग्छ।’
साच्चै लोभलाग्दो मनमोहक हिमालमा ट्रेकिङ जानु व्यक्तिगत रूपमा अदभूत अनुभव हुनेछ। ‘मैले यस्तो अनुभव मेरी श्रीमतीबाट सुनेको छु’, उनले भने, ‘अब म उनलाई आफ्नो अनुभव बाड्नेछु। यो अनुभव क्यानडेली जनतासम्म पु¥याउने छु।’ उनले क्यानडाका लागि नेपालबाट नियुक्त भएका राजदूत भृगु ढंगनलाई देखाउँदै भने, ‘म नेपालको लागि क्यानडाको राजदूत यहाँ क्यानडाको लागि नेपाली राजदूत हुनुहुन्छ। यसरी दुई राजदूत सँगै विरलै भेटिन्छ। यो पनि हाम्रो हिमाल मोहले जुराएको हो।’
क्यानडाबाट नेपालमा हरेक वर्ष करिव १५ हजार पर्यटक आउने हुनाले यसको वृद्धि गराउन पहल आवश्यक रहेको उनले बताए। नेपालका लागि क्यानडाका अवैतनिक दूत डा. बुद्ध बस्नेतले यस्तो भ्रमणका लागि आफूले पहल गरिरहेको र क्यानडियनहरूले नेपालमा भ्रमण र लगानी दुवैमा जोड दिने आफ्नो विश्वास रहेको उल्लेख गरे। दक्षिण एसियाली क्षेत्रमा क्यानडेली कम्पनी धेरै छन्। उनीहरू नेपाल जस्तो मुलुकमा लगानी गर्न खोज्छन्। तर, त्यसका लागि नेपाल सरकारले वातावरण बनाइदिनुपर्ने राजदूतको धारणा थियो।
लगानी गर्ने चाहना
नेपालमा राम्रो वातावरण बने लगानी गर्न उनीहरू सहजै आउने दाबी गर्दै उनले भने, ‘यस क्षेत्रमा एक हजारभन्दा बढी यस्ता लगानीकर्ता छन्। अघिल्लो साता काठमाडौंमा भएको लगानी सम्मेलनमा क्यानडाको उपस्थिति उल्लेख्य थियो।’ दुई पक्षीय सहकार्यमा ऊर्जा उत्पादनका लागि सम्झौता भएको उनले बताए। नेपालको पर्यटन, ऊर्जा क्षेत्रमा क्यानडाले थप काम गर्नसक्ने राजदूत पटेलले बताए।
यसअघि राजदूत पटेलले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग शिष्टाचार भेट गरेका थिए। भेटका क्रममा द्विपक्षीय सम्बन्ध, पर्यटनको विकास, लगानी र सहयतासम्बन्धी विषयमा छलफल भएको उनले बताए। नेपालमा लगानीको लागि प्रशासनिक झन्झट रहेको लगानीकर्ताको गुनासो रहेको उनले परराष्ट्रमन्त्रीलाई सुनाएका थिए। उनले नेपाल र क्यानडाबीच परराष्ट्र सचिवस्तरीय संयन्त्र बनिसकेको र पहिलो बैठक ओटावामा भइसकेकाले नेपालमा हुने बैठकबारे छलफल गरेका थिए। हुनत, क्यानडाले नेपाललाई दिँदै आएको दुईपक्षीय सहयोग कटौती गरेको छ भने नेपालमा रहेको कन्सुलर कार्यालय पनि बन्द गरेर दिल्ली लगेको छ। नेपालको दूतावास क्यानडामा छ भने यहाँ दिल्लीस्थित क्यानडेली उच्च आयोगले हेर्दै आएको छ।