दार्जिलिङको कथा ‘फातसुङ’ सार्वजनिक
काठमाडौं : नेपालीभाषी भारतीय लेखक छुदेन काविमोको उपन्यास फातसुङ सार्वजनिक भएको छ। काठमाडौंमा शुक्रबार आयोजित कार्यक्रममा लेखक खगेन्द्र संग्रौला, युवा लेखक भूषिता वशिष्ठ र उपन्यासकार काविमोले सार्वजनिक गरे।
भाषाका लागि गरिएको गोर्खाल्यान्ड आन्दोलनको पृष्ठभूभिमा उपन्यासको कथा बुनिएको छ। काविमोले नेपाली भाषाका लागि सन् २०१८ को युवा अकादमी पुरस्कार प्राप्त गरेका छन्। फातसुङ लेप्चा शब्द हो। यसको शाब्दिक अर्थ हुन्छ— माटोको कथा।
कार्यक्रममा भूषिता वशिष्ठले पुस्तकले आफ्नो बाल्यकाल सम्झाएको बताइन्। भाषा जातीयताको पहिचान रहेको र फातसुङले त्यसलाई प्रस्ट्याउने उनको भनाइ छ। ‘भाषा र क्रान्तिको सम्बन्ध धेरै गहिरो छ। भाषा राजनीतिक चेतनाको सूत्रधार हो’, उनले भनिन्, ‘कतिपय अवस्थामा जनताको राजनीतिक चेतना अपूर्ण रहेकै कारण क्रान्ति तुहिएका छन्। त्यसैले गर्दा फातसुङ जस्ता लोकभाषी पुस्तकको महत्ता दूरगामी छ।‘ पुस्तकमा ठेट भाषाले महत्व पाएको छ।
लेखक संग्रौलाले सानो कलेवरमा आएको यो पुस्तकले धेरै ठूलो कथा बोकेको बताए। साथै दार्जिलिङको माटोको कथालाई जीवन्त रुपमा देखाएको उनको भनाइ छ। ‘यो पुस्तकमा बोल्न नपरेको भए, म आज अपरेसन थिएटरमा हुने थिएँ,’ संग्रौलाले भने, ‘तर पुस्तकमा बोल्नुपर्ने भएपछि मैले सोमबारलाई अपरेसनको समय मिलाएँ।’
लेखक काविमोले उपन्यासको पृष्ठभूमिबारे बताए, ‘फातसुङ दार्जिलिङको कथा हो। १९८६ मा पहिलो पटक अलग राज्यको माग गर्दै दार्जिलिङमा गोर्खाल्यान्ड आन्दोलन भएको थियो। त्यस आन्दोलनमा सयौं मान्छे मारिए। त्योभन्दा ठूलो कुरा हजारौँ मान्छेको सपना भत्काइयो। फातसुङ त्यही सपनाहरुको कथा हो।‘
फाइनप्रिन्टले प्रकाशन गरेको उपन्यासको मूल्य ३०० रुपैयाँ छ।