विप्लवका सोच र व्यवहार
नेकपा–चन्दले व्यवहारमा नवीनता नभएर पहिलेभन्दा बलियोसँग पुरातन जडता पक्डेको प्रस्ट भएको छ।
नेकपा–चन्दले संगठित सैनिक बलका आधारमा चलाएको अराजकता, हिंसा र आतंकलाई सरकारले रोक लगाएको छ। उक्त किसिमको व्यवहार गर्नेहरूमाथि निगरानी र धरपकड सुरु गरेको छ। यसकारण नेकपा–चन्द हाल भूमिगत र छिन्नभिन्न छ। सरकारको यो कारबाहीबारे केही कोणबाट टिप्पणी आएका छन्। अधिकांश टिप्पणी सघन छैनन्। केही टिप्पणीकारले अराजकता र आतंकको बोध गर्दागर्दै पनि बिचोबीचको स्थान ओगटेका छन्। मध्यभाग ओगट्नु कहिलेकाहीं उपयोगी बन्छ। तर, तटस्थता प्रदर्शन गर्न गरिने मध्यपन्थ नकच्चरो हुन्छ। अन्य केही टिप्पणिकारको विश्लेषण भने सम्यक, गम्भीर र मननीय रहेको छ।
उता राजनीतिक दलका एक प्रवक्ताले भने राजनीतिक दाउपेचअन्तर्गत र धमिलो पानीमा माछा मार्ने हेतुले वार्ताबाट मात्र राजनीतिक समाधान निस्कने र तसर्थ सरकारको हालको निर्णय उचित नभएको टिप्पणी गरेका छन्। तर, हिंसा, आतंक र बलपूर्वकको अर्थोपार्जनलाई राजनीतिक भन्न सकिने भएन। राजनीतिक आन्दोलन वार्ताबाटै टुंगिनुपर्छ। तर, जुन ‘आन्दोलन’ हिंसामय र सैनिकीकृत छ सोकोे हल राजनीतिक हुन सक्ने भएन। संविधानको रक्षा र कानुनको पालना गर्नुपर्ने सरकारले नगर्नु अन्यथा हुन्थ्यो।
यो टिप्पणीको उद्देश्य भने अलि नौलो छ। यो टिप्पणी मुख्य गरेर हालसम्म चर्चामा नआएको, नेकपा–चन्दको व्यवहार होइन, त्यसभित्र बहसमा रहेका जस्ता प्रतीत हुने केही सोचमा केन्द्रित छ। साथै नेकपा–चन्दको सोच र व्यवहारबीचका अन्तरविरोध र सो अन्तरविरोधको सम्भाव्य हलबारे यहाँ चर्चा गरिनेछ।
नेकपा–चन्दका केही सोच
सोचको तहमा नेकपा–चन्द उल्लेख्य तहमा चलायमान देखिन्छ। यहाँ चलायमानको अर्थ पुरानो उग्र वामपन्थको रुढीको पहिचान र विश्लेषण गर्ने, स्थिरता र जडता पन्छाउने र हालै बन्दै गरेको विश्वलगायत क्षेत्र र मुलुकभित्रका परिवर्तन खुट्याउने त मूलतः रुढीमा नभएर नवीन परिवर्तनका आधारमा राजनीतिक दृष्टिकोण र कार्यभारको खाका कोरिनुपर्छ भन्ने अर्थमा हो। यसको मतलब नेकपा–चन्दले गरेको विश्लेषण सही र यथेष्ट छ वा सो विश्लेषणमै आधारित भएर उनीहरूले आफ्नो राजनीतिक खाका तयार गर्दै छन् भन्ने होइन। सो विश्लेषणमै आधारित भएर हालको राजनीतिक यात्रा चालेको हो भन्ने झनै लाग्दैन। वास्तवमा सो विश्लेषणको शृंखला यात्रामा अलिपर पुग्दै गर्दा नेकपा–चन्द कुन पाटो अख्तियार गर्दै अघि बढ्छ, सो रोचक हुने अनुमान गर्न सकिन्छ। तर साथै सोच संश्लेषित नहुँदा र त्यसले व्यवहार निर्देशित नगर्दा नेकपा–चन्द आफैंले र अरूले समेत क्षति भोग्ने सम्भावना यथेष्ट रहन्छ। जुन प्रक्रिया हाल जारी पनि छ।
फेरि पनि सोचको तहमा रहने हो भने नेकपा–चन्दले वर्तमान विश्व, मुलुक र समाजका कैयन् महत्त्वपूर्ण मुद्दा खुट्याउन र खोतल्न खोजेको देखिन्छ। यी मुद्दा यो कारणले महत्त्वपूर्ण छन् कि बनिबनाउ मा–ले–माको रुढीभित्र यिनीहरू मुद्दा बन्नै सक्दैनन् बरु मन्त्र बनेर रहन्छन्। तर मन्त्रलाई मुद्दा बनाएरै एमाले र हालको माओवादी जन्मिएका हुन्। फेरि यिनैबाट कित्ताकाट गरेर रुढीतिर फर्किएका नेता र दल पनि धेरै छन्। उदाहरणका लागि नेकपा–चन्दको रुढीको विनिर्माणको प्रारम्भिक तर गम्भीर लाग्ने प्रयासलाई नेकपा (क्रान्तिकारी) का नेता मोहन वैद्यले गम्भीर तवरले खण्डन गरेका छन्। हिँडिरहेको बाटो भरपर्र्दो लाग्नु एक किसिमले स्वाभाविक हो। तर, हालको विशिष्ट विश्व ऐतिहासिक संरचनाअन्तर्गत भने पहिले हिँडिरहेको बाटोलाई नै आँखा चिम्लेर पछ्याउँदा पहिरोको बीचमा पुगेर उभिएको आभास नहुनु र त्यस अवस्थामा समेत पुरानै बाटोको सार्वभौमिकताको गैरऐतिहासिक पृष्ठपोषण गरिरहनु रुढीवादमा रमाउनु पनि हो। ‘एक्कासि रामराज्य’ को सुदूर र सम्भवतः मिथ्या परिकल्पनाको धुवाँभित्र रमाएर वर्तमानमा चाङ लागेका समस्याको हल खोज्दै जनजीवनलाई क्रमशः सहज तुल्याउने जिम्मेवारीबाट पन्छिनु पनि हो।
नेकपा–चन्दले केही हदमा मन्त्र जप्न छोडेको प्रतीत हुन्छ। समस्या चिर्ने गरेर विश्लेषण गरेको छैन। तर, खुट्याउँदै र खोतल्दै गरेको भने देखिन्छ। संश्लेषित त झन् गरेको छैन। तर, माक्र्स, लेनिन र माओले नभोगेको र विश्लेषण गर्नुनपरेको परिवर्तनहरूको सूची बनाएको छ। आशा गरौं, यो सूचीको विहंगम अर्थ खोज्ने काममा छामछाम–छुमछुम पनि गर्दैछ।
नेकपा–चन्द भन्छ र सोध्छ– लेनिनले सहरमा सघन विद्रोह गर्न सिकाए। माओले गाउँमा दीर्घकालीन जनयुद्ध गर्न। तर अब गाउँ र सहरको भेद धुमिल हुँदै गरेकोे नयाँ संसार र मुलुकमा क्रान्तिको जमिन र स्वरूप पहिलेको झैं हुन सक्दैन। लेनिनले औद्योगिक र सहरी श्रमिकको साथ लिए, माओले साना कृषक र भूमिहीनको भने अबको मित्रशक्ति को हो ? मित्रशक्तिभित्र ‘मध्यम वर्ग’ लाई समेत हुल्नुपर्ने हो कि ? यो किन पनि भने विश्वमा र नेपालमै पनि मध्यम वर्गले माओवादीलगायत अन्य प्रगतिशील दलहरूलाई सहयोग गरेको लामो फेहरिस्त छ।
दोस्रो, नेकपा–चन्द भन्छ– माक्र्स, लेनिन र माओको बेलाभन्दा पनि विकसित र एकीकृत पुँजीवाद र विश्वकीकरण हाल मौजुद छ। यो गतिशील पनि छ। परेको बेलामा संसारभरिका आर्थिक र अन्य शक्ति एकीकृत गर्न सक्छ। साथै यो विश्व पुरानो रुढीअन्तर्गतको नितान्त पुँजीवादी, साम्राज्यवादी र सामन्ती कित्तामा सजिलै विभाजन गर्न सकिने खालको पनि छैन। कहाँसम्म भने पुँजीपतिहरूले नै नाफाको केही हिस्सा श्रमिक हितमा समेत खर्च गर्ने चलन बसेको छ। कामदारकै पनि कम्पनीमा केही लगानी छ। यो अर्थमा पुँजीवादी अर्थतन्त्र केही जनकल्याणकारी पनि भएको छ।
तेस्रो, नेकपा–चन्द भन्छ– हालको विश्वमा कानुनको शासनलगायत केही व्यक्तिगत स्वतन्त्रता स्थापित भएको छ र यसले पुँजीवादी मान्यताभित्र राज्य सञ्चालनमा नागरिकलाई महत्त्वपूर्ण भूमिका दिएको छ। त्यसमाथि केही हदमा समावेशिता, मानवअधिकार आदि पाच्य बनेका छन्। साम्राज्यवाद फाँसीवादी व्यवस्था हो भने पुँजीवादमा प्रतिस्पर्धाको लागि जमिन छ। यद्यपि यो पनि सही हो कि पुँजीवाद हैकमीवादी व्यवस्था हो र लोकतन्त्रको गाडी कुलीनतन्त्रले हाँक्छ। यसर्थ यी परिवर्तनले केही ‘भ्रम’ पनि छाडेका छन्।
चौथो, नेकपा–चन्द भन्छ– विश्वमा सैनिकीकरणलगायत विज्ञान र प्रविधिमा ठूलो विकास भएको छ। यो सैनिकीकरणले बलिया मुलुकलाई अन्तर्राष्ट्रिय तहको शक्ति प्रदान गरेको छ। विज्ञान र प्रविधिको र सूचना प्रविधिको अभूतपूर्व विकास भएको छ। यातायात, सूचना सञ्चार, शिक्षा, संस्कृति आदिमा पुँजीवादले व्यापक परिवर्तन ल्याएको छ। नवीन राजनीतिक खाका कोर्न यो परिवर्तन बुझ्न आवश्यक बनेको छ।
पाँचौं, नेकपा–चन्द भन्छ– हाल नवीन वर्ग सम्बन्धको विकास भएको छ। माक्र्स, लेनिन, माओका बेलामा झैं हाल समाजमा श्रमिक र पुँजीपति तथा किसान र जमिनदार मात्रै छैनन्, माक्र्सको बेलामा कामदारले पुँजीपति र राज्यकोे संयुक्त शक्तिअन्र्तगत पिसिएर दिनको १८ घन्टा खटिनुपर्ने स्थिति थियो भने हाल त्यस्तो छैन। फेरि अनेकथरी नयाँ खाले शिक्षित कामदारको सृष्टि भएको छ। जस्तै– डाक्टर, इन्जिनियर, प्राध्यापक, वकिल, लेखापाल। यी कामदार पनि आखिरमा अरू कसैका लागि नै काम गर्छन् र अरूलाई नाफा आर्जन गर्न दिन्छन्। तर पनि पहिलेभन्दा यी छुट्टै किसिमका कामदार हुन्।
पुँजीवादी पद्धतिअन्तर्गत व्यापक प्रगति गर्दै गरेका विशाल चीन र विशाल भारतका बीचमा रहेको नेपालले पुराना खाले समाजवादी व्यवस्था स्थापित गर्न र दिगो तुल्याउन सक्दैन।
नेकपा–चन्दको वर्तमान विश्व, मुलुक र समाजको हालको लेखाजोखामा यी र अन्य यस्तै नवीन परिवर्तनको चर्चा रहेको छ। परिवर्तनहरूको सूची लामो छ। छोटो–छोटो र अपुग व्याख्या छ। सूची छ तर समष्टि छैन। सम्भावना खोतल्न खोजिएको छ। उता संशय पनि छ। विश्व, मुलुक र समाजमा भएका यी परिवर्तनले नेकपा–चन्दको आफ्नै राजनीतिक ‘लाइन’ मा के अर्थ राख्छ भन्नेबारे ठोस विश्लेषण छैन। नवीन परिवर्तन चिन्हित गर्ने काम उल्लेख्य मात्रामा भएको छ। तिनले रुढिमा केही प्रशस्त अहम् प्रश्न उठाएका छन्। तर, परिवर्तनहरूको मिहिन र ठोस विश्लेषण छैन।
जहाँसम्म रुढीमा प्रश्न उठाउने सवाल छ, नेकपा–चन्दमा त्यसको अर्को थप पाटो पनि छ। नेकपा–चन्द भन्छ– सोभियत संघ र चीनको बाटो हिँडेर होइन बरु त्यहाँ अख्तियार गरिएको रणनीतिको समालोचना गरेर मात्र ठीक बाटो र ठाउँमा पुग्न सकिन्छ। ती दुई मुलुकलगायत नेपाल र अन्य कतिपय समाजवादी, नौलो जनवादी आदि आन्दोलन र राज्यसत्ताहरूको असफलता र विघटनबाट पाठ नसिक्ने हो र बरु तिनै बाटो हिँड्ने हो भने सफलता हात लाग्दैन। सोभियत संघ ढल्नुको कारणबारे चर्चा गर्दै नेकपा–चन्द एकातिर त्यसबाट पाठ सिक्नुपर्ने, अबको विश्वको हालको प्रकृति त्योभन्दा भिन्नै चरित्रको रहेको र यसैकारणले पनि पुराना राजनीतिक खाका र रणनीतिको अख्तियारीमार्फत सफलता हात नलाग्ने तर्क गर्छ। ‘खास गरेर स्टालिनपछि’ समाजवादी सत्ता र नागरिकबीच मित्रवत् सम्बन्ध बन्न नसकेका, अझ जनताको मतबेगर प्रतिनिधि चुनिएका र यसैकारणसमेत सही नेतृत्वको विकास हुन नसकेकाबारे पनि नेकपा–चन्दले चर्चा गरेको छ।
यो बदलिँदो विश्व, मुलुक र समाजको ऐतिहासिक र संरचनात्मक विशिष्टतालाई नेकपा–चन्दले साम्राज्यवादको विनिर्माण वा अन्त्यपछिको ‘साम्राज्यवादपश्चात्को युग’ भन्ने बुझेको छ। यो संरचना र युगबारे ठोस चर्चा नेकपा–चन्दमा छैन। तर कमसेकम पुरानो र हालको विश्वको चरित्रमा तात्विक भेद छ भन्ने नेकपा–चन्दको निक्र्योल छ। उता नेकपा (क्रन्तिकारी) भने नेकपा–चन्दले चर्चा गरेका नवीन विश्व संरचनाबारे बेखबर छ वा तिनलाई तपसिलको कोटीमा राख्छ। विश्व, मुलुक र समाजमा आएको परिवर्तन अनदेखा गरेपछि राजनीतिक खाका र रणनीतिबारे नवीन तवरले घोत्लिनुपर्ने आवश्यकता पनि परेन। स्थिति र रणनीति दुवै बनीबनाउ छन्। विश्व, मुलुक, समाज स्थिर वा स्थिर झैं छन्। रुढी कामचलाउ छ।
नेकपा–चन्दको व्यवहार
उता नेकपा–चन्दले बौद्धिक चुनौती बोक्दाबोक्दै पनि राजनीतिक हलबारे भने जडता अंगीकार गरेको देखिन्छ। माथि भनिए झैं नेकपा–चन्दले पहिचान गरेको परिवर्तनको फेहरिस्त हेर्ने हो भने स्थिति आकलनको तहमा ऊ केही तथ्यसंगत बन्दैछ। ‘बन्दै छ’ किनकि एकदुई वर्षयता मात्रै उसमा यी परिवर्तनको आभास सघन हुन थालेको बुझिन्छ। स्थापित समाजवादी सत्ताहरू र त्यहाँका नागरिक झन्डै दुई किनारामा ध्रुवीकृत भएर रहे, जनताको ती राज्यसत्ताहरूमा अपनत्व रहेन। चुनाव नभएर पनि सो भएन भनेर ठम्याइ सकेपछि र पुरानो समाजवादी सत्ताका अनेकन ‘सत्य’ लाई प्रश्नवाचक घेराभित्र हालिसकेपछि राजनीतिक खाका र रणनीति दुवैको संश्लेषण हुनुपर्ने हो। सोच र व्यवहारबीच रहेको ठूलो र बढ्दै गरेका चौडाइ र गहिराइ पुर्दै जानुपर्ने हो। नेकपा–चन्दको हालसालका गतिविधि भने सोच र व्यवहारबीचको विरोधाभासलाई अझ गहिरो र चौडा तुल्याउनतिर प्रस्ट तथा उद्यत् छ।
नेकपा–चन्दमा यो विरोधाभाष किन छ ? यो प्रश्नको केही ठोस उत्तरहरू हुन सक्छन्। एक– आफ्नै खुट्याइमा सामान्यदेखि गम्भीर संशयहरू रहनु। दुई– खुट्याइहरू संश्लेषित नहुनु वा त्यो हदसम्म संश्लेषित नहुनु। जुन हदसम्म नाकाम भए पनि स्थापित बौद्धिक–राजनीतिक खाका र रणनीतिहरू सश्लेषित छन्। केही हदको संशय स्वसचेत मानव जीवनको अभिन्न अंग नै हो। किनकि सार्वभौम अर्थात् सर्वकालिक र सर्वस्थानिक सत्य छैन भनेर मानेपछि एउटै ‘सत्य’ ले हामीलाई गोलबन्द गर्न र डोर्याउन सक्ने भएन।
नेकपा–चन्दको व्यवहारको तहमा भने सोचको अंश कतै आभास हुँदैन।
हामी विशिष्ट इतिहास र संरचनाले जन्माएका र हुर्काएका र त्यो इतिहास र संरचनालाई जानीनजानी पुनर्गठन गर्ने प्राणी हौं भने हाम्रा राजनीतिक खाका र रणनीतिहरू इतिहास र संरचनाले तोकेका सीमाबाट स्वतन्त्र हुन सक्दैनन्। सीमाभित्र रहेर गरिनेलगायत सीमाको दायरा विस्तार गर्ने कार्यमा लाग्न हामी स्वतन्त्र वा केही स्वतन्त्रचाहिँ छौं। स्वतन्त्रताको दायराको हद भने तात्कालिक अवस्थाको विश्व, मुलुक र समाज सञ्चालनको परिपाटी र खाका, राजनीतिक, आर्थिक, सांस्कृतिक आदि संरचना र कर्ताहरूको संगठित जुझारुपनले निर्धारित गर्ने भयो।
नेकपा–चन्दले हाल सोच र व्यवहारबीच चर्काउँदै गएको विरोधाभाषको आधारभूमि भने उपरोक्त दुईभन्दा भिन्नै देखिन्छ। विरोधाभास हुँदै गर्ला तर हालको महत्त्वपूर्ण कार्यनीति संगठित र हतियारसहितको अर्थ संकलन र हिंसा अनि यसबाट निःसृत हुने आतंक र आतंकमार्फत सहज बन्ने विस्तारित अर्थोपार्जन नै हो भन्ने निचोडमा नेकपा–चन्द पुगेको देखिन्छ।
वास्तवमा नेकपा–चन्दले हाल सञ्चालन गरेजस्तो हतियारबन्द अर्थोपार्जन र आतंकको शृंखलालाई व्याख्या गर्ने हिजोआजको शास्त्रीय खाकाले त्यस्तो आतंक र अर्थोपार्जनको शृंखलालाई अधिकांशतः कुनै राजनीतिक ‘आदर्श’ सँंग जोडिएको अभियान हो भन्ने मान्दैन। त्यस्तो ‘आदर्श’ लाई फगत एउटा सामुन्ने झुन्ड्याएको आडम्बरी नारा हो, जसको आडमा हिंसा, आतंक र ती सबैको मूल उद्देश्य जसरी भए पनि अर्थोपार्जन गर्न हो भनेर ठोकुवा गर्छ। झलक्क हेर्दा यो निचोड ‘अलि बढी नै भयो कि’ भन्ने पनि लाग्छ। तर यसरी पनि सोचौं, यो विश्वमा गएको १५०–२०० वर्षमा कति त्यस्ता उग्र दक्षिण र उग्र वामपन्थी नारा झुन्डिए होलान् र त्यसको आडमा हिंसा, आतंक र अर्थोपार्जन कति भयोे होला ? नाराअनुसारको कार्यक्रम सञ्चालन गरियो होला वा गरिएन होला ? अनि कार्यक्रमबाट जनताले दिगो फाइदा लिन सके होलान् ? अथवा मूल नेतृत्व त्यस नाराप्रति समर्पित हुँदाहँुदै पनि उक्त नारा र नेतृत्वको नाममा कति ‘अनदेखा’ हिंसा, आतंक र अर्थोपाजन कार्यकर्तालाई गरे होलान् ? वा कार्यकर्ता ‘इमानदार’ रहँदारहँदै पनि नेतृत्व भने मालामाल हुँदै गयो होला ? सम्भवतः अधिकांश ‘आदर्श’–आतंक–अर्थाेपार्जनका शृंखला कालान्तरमा ‘हप्ता उठाउने’ तहमै स्खलित भएर अस्ताए होलान्।
नेकपा–चन्दले औपचारिक–अनौपचारिक वार्तामार्फत हिंसा र सैनिकीकरणबाट अवतरण गरोस्।
आतंक–अर्थोपार्जन–विस्तारित हिंसा शृंखलाले हतियारको संकलन र सैनिकीकरणको विस्तार गर्न प्रयोग हुने प्रस्ट देखिन्छ। तर सोच र व्यवहारबीचको चौडाइ र गहिराइ बढाउँदै जाँदा आफू वारि आउन नसक्ने अरूलाई पारि लान नसक्ने स्थिति बन्ने निश्चित हुन्छ। हतियारबन्द स्थितिको नेतृत्व कमिसारले गर्छ, जनसमर्थन खोज्ने र प्राप्त गर्ने राजनीतिक नेताले गर्दैन। एकातिर जनसमर्थन प्राप्त गर्ने स्थिति नबन्ने र अर्कोतिर सरकारको वैध बलसँग आमनेसामने भइरहँदा राजनीतिक र सैनिक बल क्षीण हुने निश्चित छ।
उता लामोे हिंस्रक द्वन्द्वपछिको संविधानअन्तर्गत सबैखाले शान्तिपूर्ण राजनीति अख्तियार र सञ्चालन गर्ने स्वतन्त्रता प्राप्त भएको छ। यो राजनीतिक खाका प्रयोगमा धेरै विकार छन्। पछि पनि जन्मिरहन्छन्। तिनलाई सुधार गर्न सक्ने जमिन पनि छ। राजनीतिक खाका नै सुधार र विस्तार गर्ने जमिन पनि छ।
इतिहासको पाठ
यो सत्य हो– सुधार कि विस्तारभन्दा पर पनि राजनीतिक खाका थिए र भविष्यमा पनि हुन्छन्। अर्थात् वर्तमानको राजनीतिक खाकाको सुधार र विस्तारको विशिष्ट सीमा छ। तर वर्तमानमा ती ‘वैकल्पिक’ राजनीतिक जगतमा छिर्न, उदाउन र उदाएर फस्टाउन वर्तमान विश्व ऐतिहासिक परिस्थिति र प्रवाहले दिँदैन। गएका कैयन् दशकहरूको पाठ त्यही नै हो। सोचको तहमा नेकपा–चन्द झन्डै यही नै विन्दुमा पुगेका पनि छ। तर व्यवहारको तहमा भने सोचको अंश कतै आभास हँुदैन। सारांशमा इतिहासको प्रवाहले खास कालका लागि खास बाटाहरू खोल्छ, खास बाटा खुला र बन्दको बीचतिर राख्छ र अन्य बाटा बन्द गर्छ। नेकपा–चन्दको व्यवहारले लिँदै गरेको रूप भने बन्द गरिएको बाटोपट्टिको हो।
वर्तमान युगमा वैकल्पिक बाटो खुला राख्ने, आधा–आधी खुला राख्ने वा बन्द गर्ने काम इतिहासले स्थान र संरचनाविशेषलाई लिएर तय गर्छ। यसै पनि पुँजीवादको सागरमा एउटा मात्रै मुलुकमा समाजवादी राज्यसत्ता स्थापित गर्न र टिकाउन सकिन्छ वा सकिँदैन भन्ने प्रश्न समाजवादी साहित्यमा पुरानै हो। अहिलेसम्मको इतिहासले भन्छ– त्यसा गर्न सकिँदैन। त्यसमाथि मूलतः पुँजीवादी पद्धतिअन्तर्गत व्यापक प्रगति गर्दै गरेका विशाल चीन र विशाल भारतका बीचमा रहेको नेपालले पुराना खाले समाजवादी व्यवस्था स्थापित गर्न र दिगो तुल्याउन सक्दैन। त्यसबाहेक हतियारबन्द युद्धको दौरान मुलुकको राजनीति, नेतृत्वलगायत अर्थतन्त्र कसरी छिमेकी–परस्त बन्दै जान्छ र त्यसबाट उम्किन कति ठूलो मूल्य चुकाउनुपर्छ भन्ने अनुभव सबैमा ताजै रहेको छ।
समाजवादका कल्पनाकारले मूलतः सार्वभौम राष्ट्रको अवधारणाअन्तर्गत मुलुकपिच्छे छुट्टाछुट्टै राज्यसत्ता रहने परिपाटी परिकल्पना गरे। छुट्टाछुट्टै मुलुकमा छुट्टाछुट्टै समाजवादी सत्ताको परिकल्पना आफैं हरेक मुलुकको छुट्टाछुट्टै अर्थतन्त्र, राजनीति, उत्पादन व्यवस्था वर्ग आदि रहन्छ भन्ने विश्वासमा पनि आधारित थियो। वास्तवमा यो परिकल्पना सोभियत संघको समाजवादले नै पनि लागू हुन दिएन। पूर्वीयुरोपका मुलुकहरूलाई सोभियत संघमाथि आ िश्रत रहने सर्तमा मात्रै ‘सार्वभौम’ रहन सक्ने तुल्याइयो।
मुलुक–मुलुकको छुट्टाछुट्टै अर्थतन्त्र रहने अवधारणाअन्तर्गत माक्र्सलगायत अन्य समाजवादी विद्वान्, नेता आदिले मुलुकपिच्छेको आफ्नै उत्पादन प्रणाली रहने मान्यता बाँडे। यसर्थ माक्र्सवादमा उत्पादन प्रणाली यस्तो व्यापक र जब्बर संरचना बन्यो जसको चरित्रले राज्यसत्ता, अर्थतन्त्र, वर्गविन्यासलगायत राज्य र समाजका सबै अन्य अवयवको चरित्र निर्धारक बन्यो। उता पुँजीवादी विश्व व्यवस्थामा त मुलुकपिच्छेको छुट्टाछुट्टै अर्थतन्त्र, उत्पादन व्यवस्था, वर्ग व्यवस्था, राजनीतिक व्यवस्था, सार्वभौमिकता रहँदैन वा न्यून मात्रामा रहन्छ। पुँजीवादी विश्व व्यवस्थाको मूल खाका उत्पादन प्रणाली नभएर व्यापार प्रणाली वा बेचबिखन प्रणाली बन्यो। उत्पादन प्रणाली बेचबिखन प्रणालीको सहायक बन्यो। अर्थात् जे बिक्छ, बिकाउन सकिन्छ, सो उत्पादन गरिन्छ, गर्न सकिन्छ। बेचबिखन नहुने, गर्न नसकिने वस्तु वा सेवाको के मूल्य ? अनि एकीकृत विश्व बजारमा यथेष्ट बेच्न नसक्ने मुलुकको के गणना ?
पुरानो समाजवादी भएर यो एकीकृत पुँजीवादी विश्व व्यवस्थाअन्तर्गत बेचबिखनमा भाग लिनु हुन्छ वा हुँदैन ? हुन्छ भने नाफा कसले लिने, पुनर्लगानी कसले गर्ने, रोजगार कसले दिने ? दलले, राज्यसत्ता र यसका अंगहरूले ? वा निजी लगानीकर्ता, उद्यमी आदिले ? दल वा राज्यसत्ता वैश्यराजमा पारंगत भएको वर्तमान युगमा देखिएको छैन। जुन मुलुक यो प्रयत्नमा लागे ती रुग्ण भए। जुन बिरलो मुलुक, केही समयका लागि भए पनि, पेट्रोलियम वा अन्य खानीजन्य उत्पादनका कारणले रुग्ण हुनबाट बचे वा फस्टाए तीविरुद्ध नाकाबन्दी भयो, युद्ध छेडियो, गृहयुद्ध भयो, गराइयो। उता निजी लगानीकर्ता र उद्यमीले नाफा र पुनर्लगानीको चक्र सञ्चालन गर्ने हो भने समाजवाद आत्मविहीन बन्ने भयो। यसर्थ नेकपा–चन्दको आतंक र अर्थोपार्जन सीमित स्थान र समयविशेषमा सँगसँगै लग्न सक्नुलाई एक किसिमको ‘उपलब्धि’ नै मान्न सकिएला। तर, मुलुकको राज्यसत्ता हातमा लिन सक्नु र यही विश्व व्यवस्थामा सो राज्यसत्ता दिगो बनाएर राख्न सक्नु भने दन्त्यकथाभन्दा अन्य मान्न नसकिएला।
अन्त्यमा,
सोचको तहमा पुरातनताको मन्त्र तिरस्कार गर्दै वर्तमान विश्वमा हुँदै गरेका परिवर्तन, सम्भावना र छेकबारसमेतको लेखाजोखा गर्न केही गम्भीर रूपमा लागेको प्रतीत हुनाले पुरानै लाइनको समाजवादी दल र राज्यसत्ताले जन्माएका विकार केही पहिचान गरेको र नवीन सम्भावना खोतल्न थालेकाले नेकपा–चन्द नयाँ बाटो खोज्दै छ भन्नका लागि केही आधार मिल्छ। तर नेकपा– चन्दले व्यवहारमा नवीनता नभएर पहिलेभन्दा बलियोसँग पुरातन जडता पक्डेको प्रस्ट भएको छ। यो गम्भीर विरोधाभाषाको पुनरावलोकन र हल नेकपा–चन्दले तुरुन्त खोजोस् भन्ने आग्रह गर्न सकिन्छ। साथै पुँजीवादअन्तर्गतको हालको विश्वको अन्तरंग एकीकृतपना, सो विश्व पुँजीवादको केन्द्रको मूल अंश एसिया र हाम्रै छिमेकमा स्थानान्तरण हुँदै गरेको स्थिति र त्यसले खोल्ने सम्भावनाबाट फाइदा लिन र खतरा पनि टार्न ‘एकीकृत क्रान्ति’ को नारा प्रत्यक्षतः प्रत्युत्पादक हुने हुँदा सोबारे पुनर्विचार गर्न पनि आग्रह गर्न सकिन्छ। साथै वर्तमान संविधान र यसअन्तर्गतको लोकतन्त्र, यसमा आधारित समाजवाद, समावेशिता आदि आयामले कमसेकम केही दशकका लागि मार्गप्रशस्त गर्छन् र त्यही दौरान स्थापित पद्धति अख्तियार गर्दै संवैधानिक सीमा विस्तार गर्न र अघि बढ्न सकिन्छ। नेकपा–चन्दले औपचारिक–अनौपचारिक वार्तामार्फत यही बाटो अख्तियार गर्दै हिंसा र सैनिकीकरणबाट अवतरण गरोस् भन्ने आग्रह गर्न सकिन्छ।