तिम्रो न माया लाग्दछ साइँली..

तिम्रो न माया लाग्दछ साइँली..

काठमाडौं : नेपाली तथा नेपालीभाषी श्रोता–दर्शकमाझ एउटा गीत भाइरल नै बनेको छ अचेल । ‘तिम्रो नै माया लाग्दछ साइँली...’

युट्युबमा भाइरल भएको उक्त गीतको ‘ओरिजिनल भर्सन’ कसले गाएको भन्ने चाहिँ नयाँ पुस्तालाई पछिसम्म थाहै भएन । युट्युबमा भने लामो कर्ली कपाल पाल्ने भारतीय गायक गिटारमा यो गीत गाइरहेका देखिन्छन् ।

खासमा यो गीत झलकमान गन्धर्वको पो रहेछ ! भारतीय ती गायकले भने गन्धर्वको भन्दा भिन्न तरिकाले गाएका छन् । मोडर्न मेलोडीको फ्युजनमा उनले यसलाई झनै कर्णप्रिय बनाइदिए ।

कतै बाटो छेउमै बसेर उनले गाइरहेको उक्त गीतको रफ भिडियो युट्युबमा आजसम्म १० लाखभन्दा धेरैले हेरिसकेका छन् । त्यसो त, भिडियो पनि खासै तयारी बिना नै पोस्ट गरेको देखिन्छ । जहाँ भारतीय गायक आरको मुखर्जी संगीतमा लिप्त देखिन्छन् । उनको साथमा एक विदेशी युवती र एक युवकले ताल मिलाइरहेका छन् ।

रोचक के भने, भारतीय गायक आरको मुखर्जीले गाएको यो गीत भाइरल भएपछि उनले गाएका अरू थुप्रै गीत हेरिन थालिएको छ । संगीत पारखीमाझ आरको नै सम्भवतः सबैभन्दा धेरै खोजिएका गायक हुन् अहिले । उनका अधिकांश नेपाली–भारतीय मिश्रित गीत अहिले युट्युब च्यानलमा लाखौं दर्शकले हेरिसकेका छन् ।

को हुन् आरको मुखर्जी ?       

आरको मुखर्जी उत्तर–भारत क्षेत्रका एक क्लासिकल गायक हुन् । उनी ‘अर्बन फोक आर्टिस्ट’को रूपमा भारतीय आदिवासी समुदायमा स्थापित छन् । कोलकातामा जन्मिएका उनी पछिल्लो समय भारती, बंगाली र आसपासका क्लासिकल गीत उत्खनन गर्दै गाउँदै चहारिरहेका छन् ।

सयौं वर्ष पुराना लोप हुनै लागेका अरू थुप्रै गीत गाइसकेका छन् उनले । यही सिलसिलामा नेपाली लोकगीत पनि उनले आधुनिक शैलीमा गाएर लोकप्रिय बनाए ।

नेपाली लोकगायक झलकमान गन्धर्वका थुप्रै गीत उनले पबमा समेत गाएर दर्शकलाई उफारेका छन् । कतिपय शब्द उच्चारण बिग्रिए पनि उनले नेपाली मौलिक तथा पुराना गीतलाई न्याय गरेर ‘रिफर्मेसन’ नै गरिदिएका छन् । यही क्रममा उनले केही नेपाली गायकसँग पनि आफ्नो प्रस्तुति दिइसके ।

विश्वसंगीत दुनियाँमा आरको संगीतमै जीवन बाँच्ने गायकमध्ये एक हुन् । जस्तो कि, बब डिलन, बब मार्लेजस्ता गायकले संगीतलाई नै आफ्नो जीवन बनाए । एक भर्सटाइल सिंगरको छवि बनाएका आरकोले आफ्नै परिवारबाट गायन सिकेका थिए । ब्लुज र आदिवासी गायनसँगै प्लेब्याक सिंगरको रूपमा पनि उनी चिनिएका अनुहार हुन् ।

१५ भन्दा धेरै भाषामा गीत गाउने आरकोले बंगाली, भारतीय नेपालीलगायत थुप्रै आदिवासी गीतलाई फरक र आधुनिक शैलीमा गाएर चर्चित बनाइसकेका छन् । यसका लागि उनी अरू केही संगीतकर्मीसँग युरोपका लगभग सबै मुलुक पनि घुमिसकेका छन् ।

त्यहाँ हुने थुप्रै संगीत फेस्टिभलमा पनि उनी सहभागी भइसके । चार वर्षअघि फ्रान्समा भएको फेस्टिभलमा फ्रेन्च आदिवासी संगीत गाएर राम्रो चर्चा पाएका थिए । कोलकातामा ‘फिडलर्स ग्रिन’ नामको स्वतन्त्र गायकहरूको समूह स्थापना गर्ने मुख्य अभियन्ता पनि हुन् उनी । त्यो समूह मूलतः एउटा सहरी लोक ब्यान्ड नै हो ।

अचेल भने उनले एक संगीत अभियन्ताकै शैलीमा भारतीय मौलिक गीतको खोजीमा समय बिताएका छन् । उनी युरोप, अमेरिकालगायत मुलुकसँग भारतीय मौलिक गीतको सम्बन्ध स्थापित गर्ने प्रयासमा सक्रिय छन् । आरको गिटारसँगै काजु र उकुले पनि राम्ररी बजाउँछन् । सन् २०१३ मा उनले घातेर कोठा नामको बंगाली लोकगीत पहिलो पटक सार्वजनिक गरेका थिए ।

नेपालीमाझ लोकप्रिय

तिनै प्रभावशाली गायक अचेल नेपाली युवामाझ निक्कै रुचाइएका गायक बनेका छन् । त्यसो त आरकोले पनि एकपछि अर्को नेपाली लोकगीत गाउँदैछन् । जुन अनौठा पनि सुनिन्छन् । रोचक त के भने, नेपालकै मूर्धन्य गायक झलकमान गन्धर्वका लगभग हराइसकेका थुप्रै गीत विदेशी गायक आरकोले गाएपछि नै फेरि सुनिन थालियो । रेसम फिरिरी, तिम्रो नै मायँ लाग्दछ साइँली, अल्लारे नानी केशीजस्ता नेपाली पुराना लोकगीत गाएर उनले नेपालीमाझ चर्चा पाएका छन् ।

एक विडम्बना वा रोचक पक्ष के भने, युवा पुस्ता युट्युबलाई सूचनाको विश्वसनीय स्रोत मान्दै आएको छ । युट्युबमै कोही अभिनेता बन्न सक्छ, कोही नेता बन्न सक्छ । कोही जसरी पनि सेलिब्रिटी बन्न सक्छ ।

आरको मुखर्जी भने नेपाली दर्शकमाझ सेलिब्रिटी बन्नुभन्दा पहिले नै एक संगीत अभियन्ताको रूपमा स्थापित भइसकेका थिए । उनी एक दशक अघिदेखि संगीत अभियानमा सक्रिय छन् । हराउनै लागेका मौलिक गीतलाई उनले जसरी पुनरुत्थान गर्दैछन्, यसले उनलाई संगीत क्षेत्रमा लामो दौडको घोडाको रूपमा उभ्याएको छ ।

आरको मुखर्जीसँगै विश्वमा अहिले मौलिक गायनको खोजी व्यापक हुन थालेको छ । हरेक समाज र सभ्यतासँग आफ्नै किसिमका जीवनका लय हुन्छन् । तिनै जीवनका लयलाई गीत, नाच, कथा, क्यानभासजस्ता कलाका ‘फर्म’मा उतारिन्छ ।

यस्तो चलन पुरानै हो । आधुनिक समाजमा कलाका रूप केही नयाँ चिनिए । केही संकटमा परे । औद्योगीकरण र बसाइसराइसँगै संस्कृति र कला पनि संकटमा परे । अहिले प्रविधिको व्यापकताले ती मौलिक कला र संस्कृतिलाई नयाँ पुस्तासँग चिनाउने पहल हुन थालेको छ ।

भारतीय गायक आरको मुखर्जीको गायनशैलीले यसलाई पुष्टि गर्छ । मौलिक गायनलाई नयाँ तरिकाले चिनाउँदै गरेका आरकोले आफ्नो जीवनशैली नै एक फकिर जस्तै बनाएका छन् ।

हिप्पी जस्तो देखिने उनको साथमा अरू केही संगीतमै लागेका अभियन्ता पनि छन् । जसले जीवन र संगीतलाई जोडिरहेछन् । आखिर उनको यस्तो पहलबाट समग्रमा लोप हुनै लागेका मौलिक गीतसंगीतको पुनरुत्थान हुँदैछ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.