झाँकी

झाँकी

 शिरमाथि कमेरो केशको झाँकी ढल्काएर

  मतिभ्रममा उर्लिरहेछ वृद्ध लेखक
  त्यसलाई जाकिदिनू चिसो खोरमा
   
  मुटु थुतेर कुल्चिदिए पनि मस्किरहेछ अविचल
  सडकमा ढलेको लास
  त्यसको मुहारमा अत्यास पोतेर
  सबैले देख्ने गरी टागिँदिनू खम्बामा
   
  झाँकी प्रदर्शन गर, बन्धु !
  सप्तरङ््गी झाँकी
  उफ्र बाँदरझैँ 
  र प्रफुल्ल तुल्याऊ लोकतन्त्रलाई 
  यो लोकतन्त्र दिवस हो
   
  सांस्कृतिक भेषमा ठाँटिएर रङ्गीविरङ्गी
  नाच्दैनाच्दै परेड खेल 
  र निहुरमुन्टी अभिनन्दन गर गणतन्त्रलाई
  यो गणतन्त्र दिवस हो
   
  निहालेर भाँतीभाँतीका संस्कृति 
  अभिमानले गमक्क फक्रिन्छ देश 
  मात्र यतिका लागि जोगाइराख्नु संस्कृति 
  तिमीलाई एउटै सिलमा उनेपछि मात्र
  हर्षमा डुबल्किन सक्छ लोकतन्त्र
   
  यही झाँकी हो
  तिम्रो अभीष्ट र अनुष्ठान 
  युग–युगसम्म बचाएर राख झाँकीलाई
  ताकि लटठन सकून् शासक पछिसम्म
  देखाओस् युटुबले हात–हातमा
  र भ्युअर पुगून् लाखौँ
   
   
  तिम्रो साजी रगतले
  तिमी आफैँले कोरेको चित्रकला
  हेर्ने रहर छ लोकतन्त्रलाई
  लोकतन्त्रको टाटु खोपेर
  प्रदर्शन गर
  तिम्रो छालाको फ्लेक्समा
   
 घायल आन्दोलनकारीको 
 खोल्र्याङ्खुट्टी नृत्य हेरेपछि मात्र  
 वर्ष दिनसम्म मन बहलाउन सक्छ लोकतन्त्र
  बलात्कृतको क्षतविक्षत झाँकी हेरेपछि मात्र
  वर्ष दिनसम्म निदाउन सक्छ गणतन्त्र
   
  वर्षमा एक दिन ब्यँझने लोकतन्त्रलाई
  वर्ष दिनको तम्तयारीपछि
  देखाऊ रोमहर्षक झाँकी
  पुर्खाले सँगालेको बाजा बजाउँदै
  उल्लासित बनाऊ वातावरण
   
  जोगिएका हौ तिमी
  मात्र झाँकीका लागि 
  झाँकी देखाउनु मात्र हो तिम्रो इलम
  देखाऊ रगतको झाँकी 
  देखाऊ रिक्त पेट र जीर्ण तनको झाँकी
  सङ्कष्टमो भूमरी र सहस्रधारा आँसुको झाँकी 
  देखाऊ दलनको घाँघर र मासिन्या धनुषको झाँकी
   
  लोकतन्त्र दिवसको भव्य दिन
  प्यारामिटमा विराजमान अतिथि लोकतन्त्रले 
  कालो चस्मा खोलेर 
  हेर्नेछ दुरबिनबाट
  लिनेछ भरपुर मनोरञ्जन
   
  सत्ता पनि प्रदर्शन गरिरहेछ अश्लील झाँकी
  बन्दुकको उत्तेजक कीर्तन
  नृसंश समृद्धिको जर्जर कवाली 
  असुरी अहङ्कारको डङ्कार
   
  सत्ताको निर्वस्त्र झाँकी हेरेर
  लज्जाबोधले शिर झुकाइरहेछन् समस्त लोक
   
  यही झाँकी हो 
  तिम्रो अभीष्ट र अनुष्ठान
  पुर्खाले सँगालेको बाजा बजाउँदै
  उल्लासित बनाऊ वातावरण
  दुरबिनबाट हेर्नेछ लोकतन्त्रले ।
   
 कवि सिलवालका ‘वर्जित अवशेष’ र ‘धारिला मानिसहरू’ कविता संग्रह प्रकाशित छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.