चियोचर्चोलाई चुनौती
कसैको निजी जीवनबारे अनावश्यक प्रश्न सोध्नुअघि, टिप्पणी गर्नुअघि र नमागिएको सल्लाह दिनुअघि, एक पटक ‘वान पार्ट वुमन’ पढ््नुहोला। मानव सधैं जीवन्त, सम्पूर्ण र सग्ला नै हुन्छन्— अधुरो केही छ भने तपाईंको सोच नै हुनेछ।
‘हामीले सन्तान नपाए हुँदैन ?’
‘मलाई त भए हुन्थ्यो जस्तो लाग्छ...।’
हाम्रो बिहे भइसकेको थिएन । सन्तानको बारेमा दुवैको विचार प्रस्ट हुनपर्ने जस्तो लागेर मैले सोधेकी थिएँ । हाम्रा आकांक्षाहरू बाझिएजस्ता भए । हामी भेटेदेखि पहिलोपटक सोचाइमा यस्तो ठूलो फेर परेको थियो ।
तर छिनमै कुरा सल्टियो । त्यो दिनदेखिको समझदारी यथावत् छ । महिलाका प्रजनन हकको अस्तित्वबोध समेत नगरिने यो समाजमा आफूले पाएको स्वच्छन्दता र अधिकारको महŒव बुझेकी छु । कृतज्ञ छु, सन्तुष्ट छु, खुसी
छु– छौं ।
तर अचम्मको कुरा, यहाँ जीवन साथ बिताइरहेका दुईजना खुसी भएर पुग्दैन । हाम्रो लागि चिन्ता गर्न, हाम्रो भविष्यको एकांकीपनमाथि शोक मनाउन, र हाम्रो ‘अपूरो’ जीवनको दुख बाँड््न धेरैजनाले प्रयास गर्नुहुन्छ । अर्काले नचाहिकन सल्लाह दिनैपर्ने हाम्रो अचेतन बाध्यता छँदै छ, अरूको निजी जीवनबारे बेतुके प्रश्न सोध्न पनि हामी खप्पिस छौं । कहिलेकाहीँ त लाग्छ, हो, जनता साँच्चिकै जान्न चाहन्छ । हाम्रो सोचाइको स्तर र परिधि त्यति नै हो, र हामी त्यस्तै कार्यक्रमका लायक छौं ।
नत्र किन हाम्रै वरपरका, पढेलेखेका, व्यक्तिगत स्वतन्त्रता र स्वेच्छाको वकालत गर्न खुबै रुचाउने व्यक्तिहरूलाई यस्ता टिप्पणी गर्न मन लाग्छ ?
‘बच्चा भन्ने कुरा बेलैमा पाउनु पर्छ । उमेर बढ््दै गएपछि गाह्रो हुँदै जान्छ ।’
(हो र ? अनि तपाईं चाहिँ मेरो चिकित्सक पर्नु भो ? र जहिले भए पनि मेरो गाह्रो–सजिलो सहिदिन तपाईँ आउनुहुन्छ ? )
‘अहिले पाइनौ भने पछि पछुताउँछ्यौ ।’
(फेरि पनि, पछुतो मलाई हुने हो, कष्ट मैले भोग्नुपर्छ, तपाईंलाई एक रत्ति पनि बाँड्ने छैन, वाचा भो ।)
‘गुड न्युज हो ? मोटाएको देख्छु नि !’
(हजुर, बोसो धेरै भएर रोग निम्त्याउनुलाई शुभ समाचार मान्नुहुन्छ भने पक्कै हो ! र हो नै भने सोध्नै परेन, प्रमाण आफैं देखिइहाल्छ ।)
‘एउटा बच्चा जन्माइदेऊ, यसै हुर्किहाल्छ ।’
(मेरा सहकर्मीलाई छोराछोरी एक घण्टा कसले हेरिदेला भन्ने चिन्ता भएको देखेकी छु, बोलेजस्तो सजिलो भए मलाई कसैले भन्नै पर्दैनथियो ।)
‘बूढाबूढी भएपछि कसले हेर्छ ?’
(आफ्ना सन्तानको उन्नयन र साथको सदा कामना गरियोस्, तर जन्माएकै भरमा ऋणी बनाएर बुढेसकालमा पैंचो तिर्ने आशा लिएर जीवन बिताउनु नपरोस्् ।)
‘तिमीहरूको सम्पत्ति कसका लागि त ?’
(यो भाडाको घर, एक बाकस कपडा र थोत्रो स्कुटर हस्तान्तरण गर्न पो हो सन्तान ? फेरि आफैं नरहेपछि के को सम्पत्ति, के माया–मोह ? )
र सधैं, सधैं दोहोरिरहने यही प्रश्न सबैभन्दा अरुचिकर, अशोभनीय र अभद्र भई मेरो कानमा गुञ्जिन्छः अहिलेसम्म किन बच्चा नपाएको ?
सबैभन्दा विरक्त त मलाई केही ‘नारीवादी’ चिनारुसँग लाग्छ, जो दिन–रात ‘मेरो शरीर, मेरो रोजाइ’ को प्रवक्ता बन्नुहुन्छ, र मौका पाउनेबित्तिकै सुटुक्क कुनातिर लगेर प्रवचन सुरु गरिहाल्नुहुन्छ, ‘सन्तान सुखभन्दा ठूलो सुख यो संसारमा केही छैन, आफ्नै बच्चा नभएसम्म तिमी त्यो अनुभव कल्पना पनि गर्न सक्दिनौ, आमा नबनिकन एउटी महिलाको जीवन व्यर्थ हुन्छ...।’
यस्तै प्रश्न र चेतावनी सुन्दै हुर्किएका हामी धेरैलाई यो अति सामान्य लाग्छ, सामाजिकीकरणको एउटा प्रक्रिया, अर्काको जीवनप्रति राखिने चासो र एक किसिमको अपनत्व पनि । कतिले यसलाई माया र स्नेहका रूपमा लिनुहुन्छ, आफैं सुनाउनुहुन्छ, ‘तिम्रै राम्रोको लागि भनेको...।’
तर सोचौं त, यो प्रश्नको जम्मा दुई जवाफ हुन्छ : या दम्पतीको रहरले, या बाध्यताले । उनीहरूको चाहना त्यही भए यसमा दोहोरो वार्तालाप आवश्यक नै छैन । र यदि उत्कट अभिलाषा भएरै पनि केही तगारो बनिदिएको छ – स्वास्थ्य, सम्पत्ति, समझदारी, काम, परिवार, पढाइ, जिम्मेवारी, समय– भने यो एउटा ‘निर्दोष’ प्रश्नले कसैको मस्तिष्क खल्बल्याइदिने नकारात्मक शक्ति बोकेको हुन्छ ।
यो तथ्य थाहा भइकन वा बाध्यताहरू खोतल्नै चाहेर प्रश्न सोध्ने व्यक्तिहरू मलाई परपीडक लाग्छन्। यस्ता बारम्बारको घोचपेच र प्रश्नोत्तरले व्यक्तिलाई यति शिथिल बनाइदिन्छ, ऊ आफ्नो चाहना र अरूको दबाबबीचको फरक छुट्ट्याउन छोड््छ । थाहा हुन्न, सन्तान आफ्नो आवश्यकता हो वा अर्काको खबरदारीको परिणाम । आफ्ना सन्तुष्टिका कारक अरूका वचन र मान्यतालाई बनाउन थालेपछि जस्तोसुकै दरिलो र आँटिलो मन पनि बिस्तारै सशंकित र विचलित बन्न थाल्छ ।
विवाहपछिका यिनै भोगाइले होला, यो वर्ष पढेका किताबहरूमा मलाई सबैभन्दा छोएको छ ‘एक अंश महिला’ उपन्यासले । तमिल भाषाको ‘मधोरुबगान’ बाट अंग्रेजीमा ‘वान पार्ट वुमन’ बनी आएको यो रचनाले एउटा निःसन्तान दम्पतीको मनोदशाको चित्रण गर्छ । काली र पोन्नाबीच असीमित स्नेह छ, आकर्षण र समझदारी पनि । तर दिनानुदिनको रटानले उनीहरूको सुख मेट््न थाल्छ – सन्तान, पुस्ता, वंशविस्तार ।
उपन्यासको सुरुतिर पोन्ना आफ्नो विवाहताका रोपिएको काठे पीपलको रूख हेरेर खुइय गर्दै हुन्छे । कालीले बुझ्छ, १२ वर्षमा रूख हराभरा भई सप्रिँदा पनि पोन्नाको कोखमा एउटा कीरासम्म घिस्रिएको छैन । प्रत्येक कुराले उसलाई आफ्नो अभाव सम्झाउँछ । खुरुखुरु ब्याइरहेको गाईलाई हेरेर पोन्ना रुन्छे, ‘यो मूक प्राणीले पाएको जति वरदान पनि मैले पाउन सकिनँ ।’ उसलाई त्यो गाई र त्यसका बाच्छाबाच्छीलाई मारिदिने बीभत्स विचार जाग्छ ।
यो व्यग्रता, यो उत्कण्ठा र व्याकुलता यतिकै उब्जिएको हैन । वर्षौंवर्षको प्रताडना र आलोचनाले पोन्नालाई आफ्नो ‘अपूर्ण’ शरीरको सम्झना दिलाएको मात्र हो । उसका छेउछाउ मानिस फुसफुसाइ रहन्छन्, यो भगवान् पूज, त्यो व्रत राख, तिम्रा कुकर्मको प्रतिफल भोगिरहकी छौ । अरूले प्याच्च भनिदिन्छन्, कालीले त अर्को बिहे गर्नुपर्ने । पोन्नाका लागि वास्तविकता र कल्पना एकै भइसक्छन्, उसको तिर्सना त्यही एउटा शिशुमा पुगेर अडिन्छ ।
कालीको पुरुषत्वमा पनि प्रश्न उठ््छ, उसलाई सल्लाह दिने मानिसहरूको उत्तिकै लाम लाग्छ, र सहानुभूति दिने पनि । शुभ अवसरहरूमा उनीहरूको प्रवेश वर्जित हुन्छ । काली गम्छ, ‘मानिसहरूको आफ्नो जीवनमा लाखौं कुरा खराब भए पनि उनीहरूलाई अर्काको जिन्दगीको एउटै कष्टलाई घोचिरहन बडो मजा आउँछ । अर्को व्यक्तिसँग आफूसँग भएको कुरा छैन भन्ने थाहा पाउँदा के गर्व लाग्छ होला ? के सबैसँग सबैकुरा छ ? कहीँ केही कुराको कमी सधैं
हुन्न र ?’
यो अरूले लादिदिने कथित ‘कमी’ र ‘अपूरोपन’ले केही व्यक्तिहरूमाझ उमारेको त्रासबारे सोच्ने र आत्मसात्् गर्ने फुर्सद हामीलाई छैन । उनीहरूका कुरा सुन्ने, बुझ्ने, समर्थन गर्ने मानवना छैन । मात्र छ लाञ्छना लगाउन र कमजोर भएकै अवस्थामा बारम्बार प्रहार गर्न तँछाडमँछाड । र छ एउटा भद्दा कुतूहल र आतुरी, अर्काको शयनकक्षमा चिहाएर त्यसको अपव्याख्या गर्न ।
यस्ता कटु टिप्पणीले एकपछि अर्को गर्दै पोन्ना र कालीलाई पछ्याउँछन्। एकपटक पोन्नाकी भाइबुहारीले उसलाई भन्छे, ‘पैसा बचाएर तिमीहरू के गर्ने हो र ? मीठोमसिनो खाउ, राम्रा लुगा लाउ र खुसी होऊ ।’
‘किन ? हामीलाई भोकमरी लागेको छ ?’ पोन्ना उग्र हुन्छे, ‘तिम्रो घरअघि नांगै उभिएको छौं?’
यही रिसाहा पोन्नाले अर्काका केटाकेटीलाई भने मायालु भई हेर्छे, उनीहरूको नगिच हुन खोज्छे, र धेरै छोराछोरी भएका महिलाहरूको ईष्र्या पनि गर्छे । उपन्यासको यो क्षणमा मैले आफ्नो मन छामेँ– मलाई पनि कतै आमाहरूसँग यस्तो डाहा छ कि ? मैले केही गुमाइरहेकी छु कि ? मेरा निर्णयबारे पुनर्विचार गर्नुपर्ने हो कि ? तर मलाई पक्का छ, फेसबुकमा कसैको दही चिउराको तस्बिर देख्दा, मेरा साथीका नानीलाई ललिपप लिएर भेट्न जाँदा, उनीहरूले ‘आन्टी’ भनेर मलाई अँगालो हाल्दा मेरो मनमा उमंगबाहेक केहीले छिर्ने स्थान नै पाउँदैन । एउटा खुसीको सञ्चार र एकैछिनको भए पनि उनीहरूको सुस्वास्थ्यका लागि प्रार्थनाले मुटु भरिन्छ ।
मभित्र हुन्छ ती आमाहरूका लागि खुसी, सदिच्छा, र ती अनिँदा रात र हजार पीर अहिल्यै जीवनमा भित्रिइसकेका छैनन् भनेर एउटा क्षणिक राहत पनि । भोलि भित्रिए भने जीवनका सबै आरोह–अवरोहझैं सहजै स्वीकारौंला, नत्र मेरो जीवनको पूर्णताको मापक मेरो आत्मसन्तुष्टि बाहेक अरू कोही हुनै सक्दैन । तर अफशोच, पोन्ना र कालीका लागि जीवन यति सरल हुँदैन । निर्दयी आरोपहरू सहन नसक्ने अवस्थामा पुगेपछि उनीहरूले एउटा कठिन निर्णय लिन्छन्, एउटा विशेष पर्वमा भाग लिने । जहाँ हर मानिस देउताको अवतार मानिन्छ, र उसँगको सम्भोग पाप हुँदैन । तर काली भनेपछि मरिमेट्ने पोन्नाले यो कदम चाल्न सक्ली ? उसलाई सन्तान प्यारो होला कि श्रीमान् ?
उपन्यासको अन्त्यले मलाई विचलित बनायो । भारतका केही समुदायहरूलाई त पूरै उपन्यासले यति उद्देलित तुल्यायो, पेरुमल मुरुगन विरुद्ध अदालतमा मुद्दा दायर भयो । मुरुगनले लेख्न छोड््ने प्रण गरे । भने, ‘मभित्रको लेखक मरिसक्यो ।’ तर आखिरमा अदालतले उनकै पक्षमा एक सय ५० पृष्ठको फैसला सुनाइदियो, ‘लेखकलाई सिर्जना गर्न खुला छोडिदिनुपर्छ ।’ यो फैसलाले सलमान रुस्दीको भनाइ उद्धृत गर्दै मुरुगनका विपक्षीलाई भन्यो, ‘किताबसँग अप्रसन्न नहुन साह्रै सजिलो छ । त्यसलाई बन्द गरिदिनुस् ।’
धर्मका जटिल व्याख्याहरूका कारण विवादमा परेको यो उपन्यासको आफ्नै भाषा भने सरस छ । ग्रामीण जीवनको तीतो–मीठो वर्णन छ, सम्बन्धहरूको गहिराइ र स्वार्थको समालोचना छ, मानव मनको परीक्षण र परिणाम छ । एउटा अति साधारण तर सबैले गहिरिएर सोच्नुपर्ने सामाजिक यथार्थको मिहिन
प्रस्तुति छ ।
शैलीकै कुरा गर्दा मलाई यो वर्ष पढेका किताबहरूमा अनुराधा रोयको ‘अल द लाइभ्स वी नेभर लिभ्ड’ उत्कृष्ट लाग्यो, र विषयवस्तुमा या ग्यासीको ‘होमगोइङ ।’ तर पुरुष लेखकले संवेदनशील भएर महिलाका लागि, महिलाकै बारे र उसकै पक्षमा दह्रो कथन सिर्जना गरेको ‘वन पार्ट वुमन’ को विशेष स्थान छ । गत जनवरीमा जयपुर लिटरेचर फेस्टिभलमा पेरुमल मुरुगनलाई यही सुनाउन म उनको सत्रमा पुगेँ । उनका लागि अनुवाद गरिरहेका कल्याण रमणलाई भनेँ, ‘मेरो विवाह भएको चार वर्ष भयो, सन्तान छैनन्। पोन्नालाई जस्तो अनावश्यक मानसिक तनाव भिराइदिने धेरैको सामना गर्नुपर्छ । पेरुमल मुरुगनलाई भनिदिनुहोला, उहाँको...।’
‘भनिदिन्छु, उनको मधोरुबागन तिमीलाई आफ्नो कथाजस्तो लाग्यो,’ कल्याण रमण मुस्कुराए, ‘हामी जहाँ जान्छौं, महिलाहरू उनलाई यही सुनाउन आउँछन्।’
र म भने मात्र यति सुनाउन आएकी, अर्को पटक कसैको निजी जीवनबारे अनावश्यक प्रश्न सोध्नुअघि, टिप्पणी गर्नुअघि र नमागिएको सल्लाह दिनुअघि, एक पटक ‘वन पार्ट वुमन’ पढ््नुहोला । मानव सधैं जीवन्त, सम्पूर्ण र सग्ला नै हुन्छन् — अधुरो केही छ भने तपाईंको सोच नै हुनेछ ।