सुफीहरूका बादशाह
रुमीका कविता सात सय वर्ष यता पनि उत्तिाकै सत्य, आनन्ददायी र सान्दर्भिक छन्। म्याडोना यिनैका कविता वाचन गरेको भिडियो निकाल्छिन्। दीपक चोपडा यिनैका कविता अनुवाद गरेर किताब निकाल्छन्। ओप्रा विन्फ्रीदेखि पाउलो कोएलो र ओशो अनि सद्गुरुसम्म आ–आफ्ना प्रवचन, पुस्तक आदिमा यिनैका कविता समाविष्ट गर्छन्। पृथक् सिनेमाका लागि कहलिएका निर्देशक इम्तियाज अली त झन् आफ्ना हरेक सिनेमा यिनैका कवितामा बनाउँछन्।
‘तिम्रा हजार भूल माफ...
बाटो भुलेर हिँडेका हौ ...
चाहे छाडी जान पल्केका
तिमी जो सुकै,
जस्तोसुकै भए पनि आऊ
फेरि फेरि आऊ...
आफ्ना वाचा हजार पल्ट तोडी हिँडेका भए पनि आऊ...
तिमीलाई सधैं स्वागत... ।’
बेहोसीमा, तडपमा— आनन्दको अभावमा बितिरहेको जीवन होस्् वा काव्यबिनाको निरस जीवन, जलालुद्दिन रुमीको महफिलमा सबलाई बराबर स्वागत छ । असल सद्गुरुले पात्रता हेर्दैनन्, हिसाब राख्दैनन्।
सद्गुरुले पनि हिसाब राख्न थाले भने जिजीविषाको निरस यात्राबाट थाकेका बटुवा जाऊन् कहाँ ? वृक्षले छहारी नदिने हो भने चर्को घामको रापले तप्त आत्मा जाऊन् कहाँ ? वृक्ष जसरी सदा तयार छ सबैलाई बराबर छहारी दिन, फूल जसरी सधैं तत्पर छ आफ्नो सुवास लुटाउन, सद्गुरु पनि त्यसैगरी आफ्ना द्वार खुल्ला राखी बसेका हुन्छन् सबैका लागि । सुफीहरू रुमीलाई प्रेमपूर्वक मेवलाना भन्ने गर्छन् जसको अर्थ हुन्छ, प्यारो सदगुरु ।
दुर्लभ संयोग
सन्त धेरै भए । कवि पनि थुप्रै छन्। तर यो एक अनौठो र दुर्लभ संयोग हो अस्तित्वको जब एक सन्त कवि बन्छ अथवा एक कवि सन्त बन्छ । रुमी एक त्यस्तै संयोग हुन्। यसर्थ उनका मनमोहक कविता शब्द संयोजन मात्र हैनन्। तिनमा ईश्वरीय कस्तुरीको सुगन्ध र ब्रह्मबोधको सत्य सुनमा सुगन्ध जसरी रहेका हुन्छन्।
कसैले भनेका छन्, असाधारण प्रतिभाको परीक्षण समय हो । जो समयको घर्षणमा परेर कहिल्यै खुइलिँदैन, ऊ असाधारण प्रतिभा हो । स्वर्ण हो । रुमीका कविता सात सय वर्ष यताको समयमा आज पनि उत्तिकै सत्य र आनन्ददायी र सान्दर्भिक छन्। उनका कविता वर्षौंसम्म अमेरिकामा सबैभन्दा धेरै पढिएका कवितामा परेका छन्। म्याडोना यिनैका कविता वाचन गरेको भिडियो निकाल्छिन्। दीपक चोपडा यिनैका कविता अनुवाद गरेर किताब निकाल्छन्। ओप्रा विन्फ्रीदेखि पाउलो कोएलो र ओशो अनि सद्गुरुसम्म आ–आफ्ना प्रवचन, पुस्तक आदिमा यिनैका कविता समाविष्ट गर्छन्। आफ्ना पृथक सिनेमाका लागि कहलिएका निर्देशक इम्तियाज अली त झन् आफ्ना हरेक सिनेमा यिनैका कवितामा आधारित गरेर बनाउँछन्।
सुफीहरूको मार्ग ज्ञानको मार्ग होइन । पण्डितहरूलाई यहाँ प्रवेश गर्ने अनुमति छैन । अनुमति भए पनि उनीहरूले यहाँ मार्ग देख्नेवाला छैनन्। यो मार्ग त प्रेमीहरूको हो । सुफीहरूबाहेक कसले पो हिम्मत गर्न सकेको छ, ईश्वरलाई आफ्नी प्रेमिकाका रूपमा सम्बोधन गर्न । मदिरा पिलाउने साकीका रूपमा सम्बोधन गर्न ? सुफीहरूको मार्ग उत्सवको मार्ग हो । सुफीहरू आफ्नो सबै थोक दाउमा लगाएर खोज्छन् एउटा यस्तो प्रेम, एउटा यस्तो प्रेमी जो संसारका सबै नियम कानुनभन्दा माथि र मुक्त छ ।
सुफीहरू भन्छन्, सामान्य मानिसहरूले गर्ने प्रेम ‘मोहब्बा’ आज छ, भोलि छैन । आजका प्रेमी भोलिका शत्रु । त्यस्तो प्रेममा गहिराइ हुन्न । हृदयको गहिराइबाट गरिने एउटा यस्तो प्रेमको सम्भावना छ जसलाई सुफीहरू ‘इश्क’ भन्छन्। इश्कको खोजको तडप उनीहरू आफ्ना गीत र नृत्यमार्फत व्यक्त गर्छन्। त्यसैको प्राप्तिपछि भरिएको प्याला पोखिएसरी पोखिन्छ उनीहरूको आनन्द । त्यही आनन्द फेरि गीत बनेर पोखिन्छ, कविता बनेर पोखिन्छ । रुमीले पनि तडपको दर्द र प्राप्तिको आनन्द दुवै थरीका गीत गाए । अर्को अर्थमा भन्दा सुफी मार्ग ‘इश्क’को विज्ञान हो, प्रेमको विज्ञान हो ।
सन्त हुन् वा कवि, दार्शनिक हुन् वा वैज्ञानिक, जीवनको गहिराइ बोध गरेका हरेक व्यक्तिको एकै अनुभव रहँदै आएको छ । अस्तित्वको केन्द्रमा द्वैत छैन । समस्त–सर्व एकै इकाइ हो । कृष्ण गीतामा जे भन्छन्, रुमी पनि आफ्ना कवितामा त्यही सत्य गाउँछन्।
आइन्स्टाइनले जीवनको अन्तिम क्षणहरूमा जे भने, रुमीका कवितामा पनि त्यही स्वाद पाइन्छ । प्रेमिका बिछोडिएको एक प्रेमीले आफ्नी प्रेमिकाको विरहमा जे गीत लेख्छ, प्रेमको रक्तिम लालिमा गालामा चढ्दै गरेकी एउटी प्रेमिकाले आफ्नो प्रेमीको बारेमा के सोच्छे, ती सबै उनका कवितामा पाइन्छ । रुमीका कविता जीवनको सेलिब्रेसन र सम्मानमा रचिएका कविता हुन्। अठार हजारभन्दा बढी कविता रच्ने प्रेमिल हृदय कहाँबाट पाए रुमीले ? प्रेमको कस्तो वसन्त पाएर फक्रियो उनको हृदयको कमल ?
ध्यानको स्वर्णिम शून्य कसरी चुमे उनले ?
कथा रोचक छ ।
रुमीको जन्म १२०७ मा बल्ख, हाल अफगानिस्तान, तत्कालीन पर्सियामा भयो । उनको परिवार इस्लामिक शास्त्रहरूको पुस्तैनी ज्ञाताहरूको परिवार थियो । उनका पिता, बहा’ अल–दिन वलद एक धार्मिक शिक्षकका रूपमा परिचित थिए । मध्य एसियामा मंगोलहरूको आक्रमण हुन थालेपछि, लगभग १२१५–१२२० को बीच, रुमीको परिवार आफ्नो सुविधासम्पन्न घर त्यागेर अर्कै कुनै सुरक्षित स्थानको खोजीमा हिँड््न बाध्य भयो ।
रुमीका पिता आफ्नो परिवार र केही शिष्यहरू साथै लिई बाटो लागे । निशापुर, हालको इरानमा पर्ने खोरासन आइपुग्दा बाटोमा प्रख्यात सुफी कवि ‘अत्तर’ भेटिए । अगाडि अगाडि पिता र पछाडि पछाडि छोरा रुमी आउँदै गरेको देखेर अत्तरले भने, ‘हेर, सागर महासागरलाई पछि लाएर आउँदै छन्।’ अत्तरले रुमीलाई आफ्नो प्रिय पुस्तक असरारनामा उपहारका रूपमा दिए । अठार वर्षका रुमीको मनमा यो घटनाको गहिरो प्रभाव पर्यो ।
निशापुरबाट बहा’अल’दिनको टोली बगदादतिर लाग्यो । बाटामा यिनीहरूले धेरै विद्वान्लाई भेटे, सुफी गुरुहरूसँग बसे । त्यसपछि मुसलमानहरूको तीर्थस्थल मक्काको हजयात्रा गरे ।
यसरी लामो समय लगाएर घुम्दै फिर्दै उक्त टोली कोन्या आइपुग्यो ।
हाल टर्कीमा पर्ने कोन्या भन्ने त्यस स्थानमा रुमिहरूको टोली बस्ने भयो अब । रुमीका पिता त्यहीँको धार्मिक स्कुलका प्रमुख भए । उनको मृत्युपछि २५ वर्षको उमेरमा रुमीले सोही कार्यभार सम्हाले । बहा’ अल–दिनकै एक शिष्य सइद बुर्हानुद्दिनसँग रुमिले सुफी परम्पराको तालिम लिँदै गरे । यो क्रम सइदको मृत्यु नहुन्जेल १२४० सम्म जारी रह्यो ।
कविता जस्तो बेकार चीज केही छैन
एक विद्वानका रूपमा रुमीले पनि आफ्नो पिताझैं ख्याति कमाउँदै गए । यसैबीच उनले विवाह गरे, सन्तान जन्माए । जीवन राम्रैसँग चलिरहेको थियो । कविताको बारेमा यस बेलासम्म रुमी भन्ने गर्थे, ‘मेरो नजरमा कविता जस्तो बेकार चीज अरू केही छैन ।’
तर छिट्टै नै, यो सब बदलिनेवाला थियो ।
१२४४ को नोभेम्बर २९
कालो लुगा लगाएको हेर्दा कुनै सुफी फकिरजस्तो देखिने एउटा मान्छे कोन्याको बजारमा घोडा चढेर आयो । जलालुद्दिन रुमी त्यहीँ बीच बजारमा आफ्ना शिष्यहरूमाझ गफिई बसेका थिए । आगन्तुकले घोडाबाट ओर्लेर रुमीको कठालो समात्यो र सोध्यो, ‘भन को ठूलो, पैगम्बर मोहम्मद कि सुफी गुरु बायजिद बेस्त्यामी ?’
इस्लाम धर्म मान्ने जोकोहीका लागि यो प्रश्न बिल्कुलै वाहियात हो । हजरत मोहम्मद नै सबैभन्दा माथी मानिन्छन्। नहिच्किचाई रुमीले उत्तर दिए, ‘मोहम्मद’ यो सुनेर आगन्तुक जो सम्स तबरेजका नामले प्रख्यात थिए, ले सोधे, ‘उसो भए किन मोहम्मद भन्छन् हे ईश्वर तिमीलाई जति जान्न सकिन्छ त्यही हामीले जान्न सकेका छैनौं । जब कि बायजिद भन्छन् म ईश्वरलाई उनको सम्पूर्णतामा जान्दछु ?’
प्रश्नले रुमीलाई एकै क्षणका लागि सही, मार्यो । उनको मै हुँ भन्ने अहं बाध्य भयो एकछिन् चुप लागेर सोच्न । तुरुन्तै सम्हालिएर रुमीले भने, ‘बायजिदले ईश्वरको बारेमा आफ्नो ज्ञान र अध्ययन एक स्थितिमा आएर रोके जब कि मोहम्मदले चाहिँ त्यसो गर्न कहिल्यै छाडेनन्। जति बुझ्दै गए मोहम्मदले, त्यति नयाँ आयामहरू उघ्रँदै गए ।’
रुमीका आँखामा सम्सले त्यस बेला देखे त्यो एक सम्भावना जसको खोजीमा उनी यहाँ त्यहाँ भौंतारिइरहेका थिए । रुमीले पनि देखे, आफूभित्र ईश्वर प्राप्तिको जुन चाह छ, त्यसलाई तृप्त पार्ने सामथ्र्य छ यो आगन्तुकसँग भनेर । त्यस क्षणमा दुवैले एकअर्कालाई अंकमाल गरे ।
यी दुईको पहिलो भेटको सम्बन्धमा अर्को एउटा कथा पनि प्रख्यात छ ।
एक दिन रुमी आफ्नो घरमा पुस्तकका ठेली अघि बसेर पढ््न लाग्दै थिए । त्यसै बेला कतै जाँदै गरेका सम्सको आँखा त्यहाँ पर्यो । सम्सले जाँदाजाँदै सोधे, ‘के गरेको त्यो ?’
पुस्तकबाट नजर हटाएर हेर्दा रुमीले देखे, एउटा गरिब फिरन्ते सुफी दर्वेस जो थोत्रो लुगा लगाएको छ, जसका कपाल दाह्री अस्तव्यस्त छन् उसले सोधिरहेछ प्रश्न । रुमीले उत्तर दिए, ‘म जे गर्दै छु त्यो तिमीले बुझ्दैनौ ।’ ज्ञानको घमण्ड जो थियो उनलाई । सम्स आए, रुमीका सारा पुस्तक उठाई नजिकैको इनारभित्र फालिदिए । फेरि इनारमा फालेका किताब एकएक गर्दै निकाले बाहिर । किताब जस्ताका तस्तै थिए । भिजेका सम्म पनि थिएनन्। छक्क पर्दै रुमीले सोधे, ‘यो के गरेको ?’
अब सम्सको पालो थियो भन्ने ‘म जे गर्दै छु त्यो तिमीले बुझ्दैनौ ।’
जसरी सुकै भेटिएका होऊन्। सम्ससँगको भेटले रुमीलाई पुरै रूपान्ततित गरिदियो । उनले जाने, धर्मका सुरक्षित र सुक्खा– सामाजिक रूपमा पालना गरिँदै आएका आयामभन्दा भिन्न अन्य आयामहरू पनि छन्। प्रार्थना, प्रवचन, व्रत, नियम त्यागेर रुमी अब मस्त–आनन्दित बन्न पुगे । रुमी र सम्स अब एक क्षण पनि नछुटी सँगै बस्थे । उनीहरूको बीचमा आँखाले नदेखिने, शब्दमा नसुनिने एक मौन–रहस्यपूर्ण संवाद भइरहेको हुन्थ्यो । रुमी दिव्य मस्तीमा डुबेर घरपरिवार– शिष्यहरू सबलाई बिर्सेर बस्न थाले । भनिन्छ, घुमेर गरिने ‘ह्विर्लिंग’ ध्यान सम्सले नै रुमीलाई सिकाएका थिए ।
सद्गुरुका लागि शिष्य जति तडपएको हुन्छ, गुरु पनि एक असल शिष्यको खोजमा त्यति नै तडपरहेको हुन्छ । जसरी रामकृष्ण विवेकानन्दको आगमनपूर्व बारम्बार घरबाहिर निस्की आएन अझै ऊ भन्दै हेर्दै कराउने गर्थे, सम्स पनि एक यस्तो शिष्यको बाटो हेर्ने गर्थे जो आफूले जानेको सत्यलाई त्यसको सम्पूर्णतामा ग्रहण गर्न सकोस्् । भनिन्छ, एक दिन सपनामा उनलाई एक आवाजले सोध्यो, ‘म तिमीलाई तिम्रो शिष्य दिन्छु । बदलामा मलाई के दिन्छौ ?’
सम्सले निर्धक्क भएर भने, ‘मेरो टाउको !’
आवाजले भन्यो, ‘तिमीले खोजेको जस्तो शिष्य कोन्यामा छ । त्यहाँ जाऊ ।’
सम्स रुमीकै घरमा बस्न थाले । उनकै कोठामा सुत्न थाले । बगैंचामा, बजारमा, पुस्तकालयमा पहिलाका गम्भीर स्वभावका रुमी अब सम्ससँगै हाँस्दै, नाच्दै, गाउँदै हिँड््न थाले । रुमीका लागि स्वर्ग धरतीमै ओर्लेर आएको थियो सम्स तबरेजको रूपमा । रुमीका छोरा सुल्तान वलदले लेखेका छन् कहीँ— सम्सलाई भेटेपश्चात्् मेरा पिता दिनभर नाच्न र रातभर गाउन थाल्नुभएको थियो । उहाँ पहिला विद्वान् हुनुहुन्थ्यो, पण्डित हुनुहुन्थ्यो । शास्त्रका ज्ञाता हुनुहुन्थ्यो ।
अब कवि हुनुभएको थियो । प्रेम रसले मस्त हुनुभएको थियो । यो कसरी भयो ? सब अचम्ममा थिए । इस्लामका खम्बा भनिएका, धर्मका नेता भनिएका मेरा पितामा एकाएक त्यस्तो बदलाव कसरी आयो ? शास्त्र त्यागेर आनन्दविभोर हुँदै कसैको परवाह नगरी बहुलाजस्तो बीच बजार नाच्दै, गाउँदै हिँड््ने उहाँलाई केले बनायो ? के यस्तो प्रेम सम्भव छ जसले आनन्दको यस्तो शिखर छोओस् कि त्यो बहुलठ््ठीपन जस्तो देखियोस् ?
सम्सको संगत हुनुपूर्व रुमीले ईश्वरको बारेमा पढेका बुझेका थिए शास्त्र पढेर । जानेका थिएनन्। ईश्वरको अनुभव उनलाई थिएन । सम्सका लागि भने यस्तो केही थिएन जेमा उनलाई ईश्वरको दर्शन नहोस् । जीवनका सामान्य दैनिक अनुभव र गतिविधिमा, आफ्नो सामुन्ने आउने हर कोही र हर कोहीमा उनी ईश्वर देख्ने गर्थे र आनन्दले विभोर भएर नाच्ने गर्थे । आफ्नो यही बोध, यही दृष्टि उनी रुमीलाई दिन चाहन्थे । यी दुवैले एकले अर्कालाई त्यो उचाइसम्म लिएर गए जहाँ पुगेपछि व्यक्तिको अस्तित्व समाप्त हुन्छ र ईश्वरको उदय हुन्छ ।
रुमी भन्थे, ‘म ईश्वरलाई प्रेम गर्छु । जरुर गर्छु तर मैले जानेको प्रेममा केही नियम छन्। ईश्वर हामीभन्दा माथि छन्। उनलाई हामी मान्छेले मान्छेलाई गर्ने जस्तो प्रेम गर्नुहुन्न ।’
मुसुक्क हाँस्दै सम्स सम्झाउँथे, ‘बतासले आफूलाई कहिलेबाट रोक्न थाल्यो ? प्रेमको गति त बतासभन्दा तीव्र हुन्छ । फेरि तिम्रा क्षुद्र नियमको ईश्वरलाई के परवाह ? ईश्वर मुक्त छन्। अनन्त छन्। प्यारा रुमी, तिम्रो आफ्नो छविमै ईश्वरलाई देख्न जान ।
सायद तिम्रो हृदयको ऐना अझै चम्किसकेको छैन । सायद त्यसमा अझै अलिकति धुलो बाँकी नै छ जसकारण तिमी आफूभित्र ईश्वर देख्न सकिरहेका छैनौ र उनलाई टाढाटाढा स्वर्गमा, नियमका पालनामा खोजिरहेछौ ।’
रुमी र सम्सबीचको अनौठो सम्बन्ध, प्रेमको सर्वत्र चर्चा हुन थालेको थियो । रुमीका शिष्यहरू आफ्नो गुरुमाथि अनपढ, गँवार सम्सको प्रभाव देखेर रिसाउनु रिसाएका थिए । उनीहरूको धार्मिक मान्यताको पूरै विपरीत थियो सम्सको बानीव्यवहार । रुमीजस्ता सुसंस्कृत र पठित विद्वान् कसरी सम्सको जालमा फँसे भनेर उनीहरू अचम्भित थिए ।
आफ्नो पुरानो गम्भीर गुरु उनीहरूलाई फिर्ता चाहिएको थियो । यो नयाँ रुमी जो जवान प्रेमी जस्तो हाँस्दै, नाच्दै र गुलाबका–प्रेमका कविता रच्दै हिँड््दै थियो, उनीहरूलाई स्वीकार्य थिएन । उनीहरूको बढ््दो ईष्र्या र भयले एक दिन नराम्रो रूप लियो । रुमीकै एक सहकर्मी र सम्सबीच कुनै विषयमा सुरु भएको सामान्य विवादले उग्र रूप लियो । रिसले हो वा प्रेमकै अर्को एक महत्त्वपूर्ण आयाम–बिछोड सिकाउन हो रुमीलाई, सम्स जान्छु पनि नभनी बेपत्ता भए । रुमीलाई यसरी छाडी जानुमा पनि केही आध्यात्मिक र गहिरो कारण थियो सायद । बिनादर्द–बिनापीडाको प्रेम पूरा कहाँ हुन्छ र ! कुनै कुराको महत्त्व त्यसलाई नगुमाएसम्म कहाँ जानिन्छ र । स्वर्गको कदर नर्कको पीडा नभोगेकाले कहाँ गर्न सक्छन् र ! यो एउटा पाठ बाँकी थियो रुमीले जान्न सुफीको प्रेम पाठशालामा । प्रेमलाई अब व्यक्तिबाट फुकाएर समष्टिमा केन्द्रित गर्न जान्न बाँकी थियो । असल गुरु त्यो हो जसले शिष्यलाई आफूप्रतिको मोह, आफूप्रतिको निर्भरताबाट पनि मुक्त गर्छ । सायद यसैका लागि पनि जरुरी थियो । सम्सले छाडी जान रुमीलाई ।
रुमी त मरेतुल्य नै भए । सम्सले छाडी गएपछि । आफ्नै सुरमा सुधबुध गुमाएर बजारमा बर्बराउँदै डुली हिँड््थे । न खानको पर्वाह थियो न सुत्नको । कसैसँग बोल्दैन थिए । यस्तो त कसैले चाहेको थिएन । सम्सको अनुपस्थितिमा आफ्नो पुरानै स्वरूपमा फर्केर आउलान् भनेको त यो के भयो ! सबै चिन्तित थिए । एक वर्ष बित्यो । रुमीमा केही सुधार आएन । बौलाहाजस्तै बेलाबेला आफैं रिसाउँथे । बेलाबेला रुन्थे । रुमीको यो स्थिति सबैका निम्ति असह्य भयो । यस्तैमा खबर आयो । सम्सलाई कसैले दमास्कसमा देखेको । रुमीका तिनै मित्र र शिष्यहरू जो सम्सलाई कसै गरी रुमीको संगतबाट धपाउन उद्यत थिए, तिनै अब निस्किए सम्सलाई खोजी ल्याउनलाई । सम्स दमास्कसमा भेटिए । एउटा मदिरालयमा चेस खेलिरहेका । भनिन्छ, सम्ससँग चेस खेलिरहेका व्यक्ति असिसीका सन्त फ्रान्सिस थिए जो त्यस बेला भर्खरका युवक थिए । यो पनि भनिन्छ, हामीले हाल चिनेको–जानेको सन्त फ्रान्सिसमा अध्यात्मको बीउ त्यसै बेला सम्स तबरेजले रोपेका हुन्। आफूलाई लिन भनेर कोन्याबाट आएकाहरूको सुरुमा त सम्सले वस्ती गरेनन्। उनलाई थाहा थियो, धर्मका ठेकेदारहरूले उनलाई कोन्यामा चैनले बस्न दिनेवाला छैनन्। तर उनी बिना रुमीको जे अवस्था भएको थियो, त्यसका बारेमा सुनेर सम्स राजी भए जानलाई । फर्की आएका सम्सलाई देख्नासाथ मानौं मुर्झाएको वृक्षमा कसैले पानी हालिदियो । रुमी जागे । उनको प्राणमा प्राण आयो । सम्सलाई खुसीका आँसु बहाउँदै अंकमाल पनि गरे, रिसाएर बेस्सरी हल्लाउँदै कराए पनि, ‘कहाँ भागी गएका थियौ ?’ भन्दै । थकित मुस्कानका साथ सम्सले भने, ‘मेरो स्थानमा तिमी भएका भए तिमीले पनि त्यही गर्ने थियौ जे मैले गरेँ ।’
‘मलाई छाडी किन गयौ ?’ रुमीले फेरि पनि सोधे ।
सम्सले उल्टै प्रश्न गरे यसपालि, ‘मेरो मौन पुकार सुनेरपिछ पछी किन आएनौ ?’
रुमीले अझै भन्छन्, ‘म रिसाएको छु । तिम्रो अनुपस्थितिमा मेरो के हाल भयो, कसरी बाँचेँ म, सोचेकै छौ ?’
सम्स भन्छन्, ‘प्यारा रुमी, तिमीले आफैं मागेका हौ यो बिछोड जसको बारेमा तिमी यति गुनासो गर्दै छौ ।’
चकित हुँदै, अलिकति कराउँदै, रुमी भन्छन्, ‘मैले तिमीसँग कहिल्यै केही मागेको छैन । अझ त्यसमाथि बिछोड ! त्यो कसरी माँगूला त !! असम्भव !!’
सम्स भन्छन्, ‘तिमीले हाम्रा मौन संवादहरूमा भनेको मैले सधैँ सुनेको हुँ । आफ्नो जीवनलाई एक अलग र ऊँचो दिशा दिने चाहना, आफ्नो हृदयमा प्रेमको वसन्त फुलाउने कामना तिम्रो यो बिछोडबिना पूरा हुन्नथ्यो रुमी । आँसुले धोइएर तिम्रो हृदय पवित्र भएको छ । आउ अंकमाल गरौं । अब म जान्न तिमीलाई छाडी ।’
फेरि सुरु भए पुराना दिन
एकआपसको अँगालोमा बाँधिएर उनीहरूले आफ्नो मिलनलाई नवीकरण गरे । फेरि सुरु भए आनन्दका पुराना दिन । फेरि फुट््यो रुमीको काव्यको मूल । फेरि बहन थाले प्रेमको सुगन्ध बोकेका कविता रुमीको हृदयबाट । सम्समा रुमीले साक्षात्् ईश्वर पाए यसपालि । मानव शरीरमा अवतरित ईश्वर । बिस्तारै सम्सकै सान्निध्य र सत्संगमा सारा सृष्टिमा ईश्वर देख्न थाल्दै थिए रुमी । एक रात अबेरसम्म घर भित्र बसी दुवै कुरा गर्दै थिए, कसैले ढोका ढकढक्याएको आवाज आयो । सम्सलाई खोज्दै थियो कसैले बाहिर । आवाज सुनेर सम्स बाहिर निस्केका मात्र थिए, उनको टाउकोमा एउटा भारी वस्तुले प्रहार गर्यो कसैले । एता बाहिर हेरी आउन भनी गएका सम्स निकै बेरसम्म नफर्केपछि रुमी पनि बाहिर निस्किए । सम्सको अत्तोपत्तो थिएन । सम्स बिनाका पुराना दिन सम्झिएर एउटा डर पलाउन थाल्यो रुमीको मनमा । घरबाहिर वरपर सम्सको नाम जोरजोरले पुकार्दै बोलाउँदै उनलाई खोज्न थाले रुमी । उनको हरेक पुकारको उत्तर केवल शून्यता थियो यसपालि । निकै बेरपश्चात्् डर र वेदना मिश्रित रुवाइ रुँदै रुमी त्यहीँ लडे ।
उता सम्सका आँखा जब खुले, एउटा बाँधिएको बोराभित्र उनले आफूलाई पाए । बोराको मुख जसरी तसरी खोलेर लड््खडाउँदै बाहिर निस्केर हेर्दा देखे, उनलाई मरोस् भनी बालुवाको सागरको बीचमा, मध्य मरुभूमिमा छाडिएको रहेछ । दुःख र रिस मि िश्रत आवाजमा सम्स कराए, ‘तिमीलाई जति प्रेम गर्छु, त्यति नै प्रेम अर्को एक व्यक्तिलाई गर्दा पाएको पुरस्कार यही हो ? हे ईश्वर के यही हो प्रेमको बाटो हिँड््नुको गन्तव्य ?’
दिनभरको चर्को घाममा आफ्नो उत्ति नै चर्किएको हृदय लिएर सम्स रोइकराइ गरिरहे । साँझ पर्यो । साँझको शीतलतामा उनले सम्झिए रुमी र उनीबीचको प्रेमको शीतलता । सम्झिए परम सत्यको आकाश जसलाई दिउँसो घृणा र रिसको बादलले ढाकेको थियो । बिस्तारै शान्ति र आनन्दले उज्यालो भयो उनको मुहार । रक्ताम्य अनुहारमा फक्रँदो मुस्कान लिएर आफ्ना दुवै हात फैलाउँदै आकाशतर्फ हेरेर घुम्दै झुम्दै नाच्न थाले अनि । ईश्वरसमक्ष रुमीको रूपमा आफूलाई दिइएको उपहारका लागि धन्यवाद र आफूलाई हमला गर्नेहरूप्रति करुणा व्यक्त गर्दै आफूलाई आफ्नो नृत्यमा पोख्न थालेसम्स तबरेज मरुभूमिको त्यो रातमा । ह्विर्लिंग नृत्यको त्यही स्वरूप र त्यही भाव आज पनि टर्कीमा देख्न पाइन्छ जब सुफी फकिरहरू सम्स र रुमीबीचको दिव्य प्रेमलाई सम्झँदै नाच्ने गर्छन्। थकानले लड््नै लाग्दा, आफ्नो जीवनको अन्तिम क्षणमा रुमीलाई सम्झेर सम्सले गाए, ‘मेरा प्यारा, सुन, यो यस्तो प्रेम हो जहाँ बिछोड छँदै छैन । प्रेमीहरू सधैं एकअर्काका हृदयमा बसेका हुन्छन्।’ वर्षौंअगाडि सम्सको सपनामा भएको भविष्यवाणी सत्य भयो । प्रेमको गहिराइ आफ्नो शिर दिएर उनले प्राप्त गरे ।
यता रुमीको विक्षिप्तता पुनः बौरियो । दुई वर्षसम्म दिनरात केही नभनी उनी सम्सकै खोजीमा लागिरहे । सम्स पहिलाजस्तै दमास्कस पो गएका हुन् कि भनेर उनलाई खोज्दै रुमी त्यहाँ पनि पुगे । दमास्कसका गल्लीगल्ली चाहारे, हरेक छायाँ ओल्टाई पल्टाई खोजे । तर, सम्सलाई यसपालि देख्ने कोही भेटिएन ।
एक दिन, साँझ पर्नै लाग्दै थियो जब सम्सको त्यही चिरपरिचित उन्मुक्त हाँसो रुमीका कानमा गुञ्जियो । हतारिएर त्यतै दौडँदै जाँदा बालुवामा पछारिएर उनी लडे । मुखभर बालुवा भरियो । पीडा, दुवै शारीरिक र मानसिकले व्यथित भएर उनी रुन थाले । रुँदारुँदै निकै बेरपछि मन शान्त भयो । शान्तिको एउटा क्षण डुब्नै लागेको घाम हेर्दाहेर्दै उनको हृदयमा चाहिँ सत्यको एउटा घाम उदायो । उनलाई बोध भयो, सम्स त हरक्षण उनकै हृदयमा छन्। प्रेम त सदा आफूभित्रै छ । त्यसलाई खोज्दै यताउता किन भौंतारिइरहने भनेर उनले बुझे । ईश्वर पनि सम्स जस्तै आफ्नै हृदयमा सधैं उपलब्ध छन् भनेर पनि उनले बुझे । बिस्तारै मुस्कुराउँदै अनी रुमी उठे । त्यो मुस्कुराहट हाँसोमा बदलियो । बिस्तारै बढ््दै गयो उनको हाँसो । अनि बेस्सरी हाँस्दै आफ्ना दुवै हात फैलाउँदै उनी त्यहीँ नाच्न लागे जसरी सम्स र उनी साथ हुँदा सँगै नाच्ने गर्थे । आनन्दको विस्फोट भयो । सम्सको एउटा सूर्य अस्ताएर के भयो, उनका लागि आफ्नो हृदयमा भएको प्रेममा सम्स उदाइरहने वाला थिए अब सधैं । नाच्दानाच्दा थाकेपछि मुहारमा मुस्कान लिएर आफ्नो लुगा टकटक्याए र घर फर्किए रुमी । त्यहाँ उप्रान्त बाँचुन्जेल रुमीको जीवन सम्सको प्रेमले सुवासित र ईश्वरको प्रकाशले प्रकाशित कविताहरू बनेर पोखियो । आफ्ना अठार हजारभन्दा बढी कवितामा रुमी पोखिए ।
सम्ससँगको प्रेम र उनैसँगको बिछोडको वेदना आफ्ना कविता, गीत र नृत्यमार्फत अभिव्यक्त गरे रुमीले । तर योभन्दा पनि माथिको एउटा प्रेम, ईश्वरीय प्रेमको बारेमा पनि रुमी गाउँछन् आफ्ना कविताहरूमा । उनका प्रमुख रचनाहरूमा दिवान–ए–सम्स–ए–तबरिजी, रुबाइयात र मास्नवी पर्छन्। मास्नवीलाई त सुफीहरू कुरान पछिको दोस्रो महत्त्वपूर्ण कृति मान्छन्। त्यसैले मास्नवी कुरान–ए–पारसीको नामले पनि जानिन्छ ।
सम्स तबरेजको संगतबिना रुमी कवि हुने थिएनन्। सायद त्यसैले आफ्नो प्रमुख कृतिहरूमध्ये एकलाई यिनले सम्स तबरेजकै नाम दिन चाहेका । दिवान–ए–सम्स–ए–तबरिजी रुमीको शरीरमा सम्स आफैं प्रवेश भएर लेखिएको भनेर पनि सुफीहरू भन्छन्।
सृष्टिको कारण प्रेम
रुमीका अनुसार त ईश्वरले संसारको सृष्टि गर्नुको कारण नै प्रेम हो । हामी प्रेम गर्नकै लागि बनाइएका हौं । यही प्रेमको सिलसिला कायम गर्नका लागि ईश्वरले हामीलाई प्रजननको क्षमता दिएका हुन्। हामीले एकआपसमा, व्यक्ति–व्यक्तिबीच गर्ने प्रेम बीउ हो जो ईश्वरीय प्रेमको वृक्षमा अंकुरित होस्् भनेर ईश्वरले नै रोपेका हुन्।
अन्य सुफीहरूले झैं रुमीले पनि संगीत र नृत्यलाई आफ्नो आध्यात्मिक मार्गमा प्राथमिकता दिए । संगीतले ध्यान ईश्वरमा केन्द्रित गर्न सहयोग पुर्याउने उनको विचार थियो । रुमीले सुफीहरूको एउटा सम्प्रदाय नै खडा गरेर गए जसलाई ‘मेवलवी’ मार्ग भनेर भनिन्छ । त्यस मार्गका अनुयायी दरवेशहरू नाचेर ईश्वरको पुकार गर्छन् जसलाई उनीहरू ‘शमा’ भनेर भन्छन्।
उनको चिहानमा लेखिएको छ, ‘जब हामी सुफीहरू मर्छौं, हाम्रो समाधि माटोमा हैन । हामीलाई प्रेम गर्नेहरूको हृदयमा बनाइयोस् ।’
१७ डिसेम्बर १२७३ मा कोन्यामै रुमीको मृत्यु भयो । तर भनिन्छ, प्रेम कहिल्यै मर्दैन । उनका कविता आज पनि डढेलोजसरी फैलँदो छ ।
उनको समाधिस्थल हाल सुफी सम्प्रदायमा जिज्ञासा राख्नेका लागि र उक्त मार्गका अनुयायीका लागि प्रमुख केन्द्र भएको छ । कोल्मेन बार्कसले रुमीका कविता अंग्रेजीमा अनुवाद गरेको पुस्तक दसौं लाख प्रतिभन्दा बढी बिक्री भएका छन्। तेह्रौं शताब्दीका यी कवि, सुफी हाल अमेरिकामा सर्वाधिक पढिने कवि भएका छन्।
ईश्वर प्रेम हुन्। प्रेम आगो हो । रुमीका कविताहरूले पकाउँछन्, डढाउँछन् काँचा हृदयहरूलाई । जिउँदै मरेका असंख्य हृदय बाँचेका छन्, बिउँझेका छन् रुमीका कविता पढेर ।
पोखरेलको अनुवादमा ‘रुमी : चुनिएका प्रेमिल कविता’ प्रकाशित छ ।