औंलाका टुप्पाहरू
‘सञ्जीव सरलाई सोध्न पर्यो एकफेर’ भन्थिन् समुनाजी। सञ्जीव उप्रेतीजस्तो ‘हम्बल’ मान्छेले जति ‘न्युट्रल’ भएर अरू कसले भनिदेला यस्तो कुरा !
औंलाका टुप्पाहरूमा देखिने धर्सा, चक्र, रेखाहरूको अर्थ के हुँदो रैछ भनेर ‘गुगल’मा खोज्यो भने लररर आउँछन् ‘मेडिकल कन्डिसन’ अनि ‘कजेज एन्ड सिम्पटम्स’को ‘लिस्ट’ । विचार मात्रै हैन हाम्रा शब्द, खोज, उत्सुकता सबै कुनै हिसाबले नियन्त्रित हुन्छन् । फुटबल ‘म्याच’का ‘लिंक’ मैले यति धेरै खोलेँ, फेसबुकको ‘न्युजफिड’मा ‘सजेस्टेड भिडियो’ भनेर दुनियाँभरिका फुटबल ‘लिग’का भिडियोहरू आउँछन् । रोग बिक्छ, ‘थेरापी’ शब्द बिक्छ र सबैभन्दा ठूलो कुरा डर अनि नियन्त्रण बिक्छ ।
औँलाका टुप्पाहरू चिसोले भुतुक्कै हुन्छन् । आइपुग्नुपर्ने ‘ट्रेन’ आइदिँदैन । अनि भुतुक्क भएका औँलाका टुप्पाहरू फोनमा टाँसिएर टे«न खोज्छन्, समय खोज्छन्, आफैँलाई खोज्छन् र दिनभरिको आफ्नो ‘मुड’ खोज्छन् । एकफेर सिरिर्र पारेर चिसो हावा कतै बत्तिन्छ । फोन चलाउने औँलाहरू पञ्जाले छोपिन्छन् तर पञ्जाभित्रै पनि औँलाहरू त्यसै सल्बलाई बस्छन् । फोनको ‘स्क्रिन’मा अप्ठेरोसित थिचिन्छन् । त्यो अप्ठेरो मिल्काउन फेरि पञ्जा खोल्छन् मान्छेहरू । त्यसरी खोलिने अधिकांश एकल पञ्जाहरू ठाउँठाउँमा देखेको छु मैले । जता हेर्यो टुक्लुक्क बसेको एउटा पञ्जा, एक मन त यो एक किसिमको ‘एपिडेमिक’ हो कि जस्तो पनि लाग्ने । तर कतिपय कुराहरू जे हो त्यही हुन्छन्, तिनका अरू अर्थ र सन्दर्भ नहुन सक्छन् । ती पञ्जाहरू फोन चलाउन खोलिएका हुन् र छुटेका हुन् छुट्न नचाहँदा नचाहँदै ।
(केही नयाँ कथानकहरू अनायासै...)
‘यु ह्याभ किड्स ? ’
‘नो, बट् आई एम फोन्ड अफ ।’
स्पष्टै भनिदिन्छु । भनिदिन्छु हैन, भनिदिन सक्छु... होला । ‘ग्रोसरी स्टोर’को ‘चेकआउट’ नेर, ह्या... गरेर चिर्रिँदै रुने बच्चा देखेसी झसक्क हुन्छु । कुनै कुराको प्रतिक्रियाले विचारको स्पष्टता च्वाट्टै काटिदिन्छ । ‘त्यो प्रतिक्रिया त्यो बच्चाको रुवाइसित मात्रै हो के, आई एम स्टिल फोन्ड अफ किड््स’— बुझ्ने÷बुझाउने कुरो । यस्ता कुरामा आफ्नो तगडा ‘क्यारेक्टर’ देख्छु । कोही बेला यसो आफैँलाई हेर्छु । सधैँ हैन । कोही बेला । थाहा पाउँछु, भन्ने कुराहरू ठ््याक्कै यही हो भनेर भन्न या बुझाउन सक्दिनँ । फनफनी घुमेर तीन फेर एउटै कुरो भन्दोरैछु, भन्न खोजेको कुराचाहिँ फुस्सा । सधैँ हैन । कोही बेला । अनि अझै गहिरिएर हेर्छु अनि भन्छु आफैँलाई, ‘खासमा गहिरा मान्छेहरू यस्तै हुन्छन् के । गहिराइ नदेखिने कुरा हो ।’ त्यसपछि ऐना हेर्दा आफ्नो अनुहार ‘आई मेसेज’मा हुने फ्याउरो हाँसेको आइकन’जस्तै लाग्छ । र यो आत्मरती मात्रै हो भनियो भने अन्यथा हुनेछ ।
दुनियाँमा नानाथरी गज्याङगुजुङ चलेकै छ । आफू नथाक्ने कसरी हो ! कसरी सधैँ ‘मोटिभेटेड’ भइराख्ने ! यो सधैँको जिज्ञासा आफैँसित, आफ्नासित, अरूसित ।
सँगसँगै अनेकथरी ‘फ्रस्टेसन’ पनि मिल्काउनै छ । ‘मिजोरी’मा, ‘युनिभर्सिटी’को ‘रिक्रिएसन सेन्टर’मा ‘र्याकेट बल’ खेल्न मजा आको थियो । ‘र्याकेट बल’ हरेक दिन खेल्नु एकखाले ‘कोपिङ मेकानिजम’ हुनसक्छ भन्ने कोणबाट यसो सोच्छु । रिस उठिराको हुन्छ कति कुरामा । रिसलाई बुझ्न र त्यसको सुरक्षित निकासका बारेमा सचेत हुन सिकाउने एउटा भिडियोमा ‘पन्चिङ ब्याग’को प्रयोग स्पष्ट पारिएको छ । मलाई ‘र्याकेट बल’को ‘बल’ पनि एउटा ‘मेटाफोर’जस्तो लागिदिन्छ । भित्तामा ठोक्किएर आफूतिर आइपुग्दा कहिलेकाहीँ आफैँलाई भ्वाक्क लाग्छ । दुख्छ । लडिएला पनि । उठेर फेरि भित्तातिरै ताकेर हान्ने हो बललाई । कसरी हानिन्छ, त्यसले पनि उद्देश्यहरू बताउला । कोही बेला यसै छलिएला, कोही बेला झन् धेरै बल लगाएर हानिएला । र अन्तत ः धेरै थरी उकुसमुकुस त्यसरी मिल्काउन मिल्ने ठाउँ देख्छु ।
(बिटविन द लाइन्स)
‘सञ्जीव सरलाई सोध्न पर्यो एकफेर’ भन्थिन् समुनाजीले । सञ्जीव उप्रेतीजस्तो ‘हम्बल’ मान्छेले जति ‘न्युट्रल’ भएर अरू कसले भनिदेला यस्तो कुरा ! हामी दुईतीनवटा कुरामा उत्सुक थियौँ । एउटा, उग्र रिस उठेको बेला उहाँले के गर्नुहोला ! अर्को, कसैले आफ्नो बारेमा राम्रो कुरा भनिराछ भने आनन्दले सुन्ने कसरी हो ! हामीलाई त ‘ओहो ! यस्तो बेला केही त प्रतिक्रिया दिनुपर्ने होला, कसरी दिने !
‘भन्ने कुरा खेलेर नै त्यो पलले छपक्क छोप्छ । आँखाको नानीलाई नहल्लाईकन, या अनुहारको भाव कसैगरी पनि परिवर्तन नहुने गरी पक्का श्रवण गर्ने तरिका के होला भन्ने थाहा पाइएन । नगरकोटी दाजैलाई सोध्दा पनि हुन्छ भन्ने पनि लागेको हो एकपल्ट । तर उनी अलि धेरै ‘हु केयर्स !’ गरिदिन्छन् ।
‘जीवनमा पूरा होस् भनेर चाहना गरेका या गर्न मन लागेका ५० वटा कुरा लेख’ भनेर समुनाजीले भनिन् । सजिलो रैनछ । लेख्दै गर्दा धेरै कुरा तोकेर भन्न खोजिँदो रैछ र धेरै कुराहरू आफैँ हराउँदै जाने रैछन् । घामले उज्यालो पारेको टेबलमा देब्रे कुहिनो अड्याएको थिएँ ।
हत्केलाले अनुहारको वजन धानिरहेको थियो । ‘एमयूजेआई’ ब्रान्डको जेल पेनका अक्षरहरू नोटबुकमा सर्दाखेरि घाम सँगसँगै टलक्क टल्किएका थिए । अप्ठेरो हुँदो रैछ । प्रोफेसर ‘पिटर बोज’ले ८२ वर्षको उमेरमा आफू बाँचेको जिन्दगी फरक्क फर्किएर हेर्दै छन् अचेल । म, बाँच्न बाँकी जिन्दगीको ‘रोडम्याप’ कोर्दै थिएँ । समुनाजीले त्यसै लेख्नू भनेर भनेकी हैनन् । ‘अचेल एकै हरफ लेख्दा पनि एक किसिमको डर लाग्छ’ भनेर केही दिनअघि अनुप सरलाई भन्दाखेरि मैले ढाँटेको थिइनँ । कहिलेकाहीँ, जति सचेत हुन खोज्यो त्यति अचेत भइन्छ । समुद्रलाई भन्दै थिएँ, ‘मेरो ‘बिलिफ’ के हुँदो रैछ भने नि, हरेक लेख मेरा लागि एउटा ‘फुल–फ्लेज्ड पर्फर्मेन्स’ हो । ‘म त्यसरी काम गर्दो रैछु । अनि एउटा ‘फुल–फ्लेज्ड पर्फमेन्स’ त्यस्सै हचुवामा हान्दिने कुरै भएन । दोहोर्याएर आफैँ पढ््न सकिएन भने त के मजा भो त ! यस्तै ‘सेल्फ रिफ्लेक्सन’को कुरा गरिरहँदा समुनाजीसित भनेथेँ, ‘मञ्चमा एउटा आकृति लडिरहेको छ’ पाराको नाटक लेखेर त अब उही हो ।’
प्रज्ज्वलको भतिजले ‘कस्टडी’ नाटक गर्ने बेलामा ‘सायद दाइ, मेरो बारेमा एउटा कविता लेख्दिनु त’ भन्थ्यो । त्यसो भनेको थाहा छ समुनाजीलाई । बेलाबेला त्यही पारामा ‘खै तिम्ले मेरो बारेमा कविता लेख्या !’ भन्छिन् । यो कविता तिम्रै लागि ।
एकफेर,
समयको गुलाबी आँखामा
छोडेको थिएँ एउटा हस्ताक्षर
अचेल,
म सबैतिर तिमी देख्ने भएको छु ।
‘गुगल’ले जे देखाए पनि औँलाका टुप्पाहरूले धेरै कुरा भन्छन् । अहिले यति खेर औँलाहरू आँखा भएका छन् । म आफ्ना अक्षरहरू हेरिरहेको छु । अर्थात््, अनायासै औँलाहरूले स्मृतिहरू खोतलिदिए ।
२कबबथबमबकजयप साहित्य, सिनेमा र रंगमञ्च प्रेमी–कर्मी हुन् ।