द मिसिङ नाइफ
उमेरको पनि कुरा हो। डन्ट फर्गेट, छोरी अब टिनएजर भइसकी। यो उमेरमा त्यस्तो हुन्छ नि।
बिहानको समय, संगीतालाई भ्याइनभ्याइ थियो । ब्रेकफास्ट खाइसकेपछि ऊ खाना बनाउने तरखरमा थिई । भात राइस कुकरमा पाक्दै थियो भने तरकारी पनि काटीवरी ओइरिन तयार थियो । कराईमा तेल हालेर संगीता प्याज काट्न लागी । उसलाई सजिलो लाग्ने सानो चक्कु सधैं हुने ठाउँमा थिएन । एताउता खोजी । भेटिन । उता तेल पुत्ताउन लागिसकेको थियो । अलिकति जीरा र मेथी पड््काउँदै ऊ सानो चक्कु खोज्नतिरै लागी । केही सीप नलागेपछि अलि लामो चक्कु, जुन ऊ विरलै प्रयोग गर्थी, ले नै उसले प्याज काटी ।
‘होइन, स्कुल जान ढिला हुँदैन भन्या ? कति बेर लगाइराखेको हो बाथरुममा ?’ संगीताले बाथरुमभित्र भएकी छोरीलाई भान्साबाटै आवाज दिई । ब्रेकफास्ट खाएर भित्र छिरेकी श्वेता अझै बाहिर निस्केकी थिइन । करिब एक घन्टै हुन लागिसकेको थियो ।
‘आइहालेँ, एक्कै छिन’, उसले पनि भित्रैबाट आमाले सुन्ने गरी कराई । एकछिनमा ऊ निस्किई ।
‘कति बेर लगाएको भन्या ? यो तरकारी एकछिन चलाइदेऊ त, म ट्वाइलेट गएर आइहाल्छु ।’
जाँदाजाँदै उसले सोधी, ‘त्यो तरकारी काट्ने सानो चक्कु कहाँ परेछ । तिमीले देखेकी त छैनौ नि ?’
आफूले नदेखेको कुरा जनाउँदै श्वेताले मुन्टो दायाँबायाँ हल्लाई ।
‘मम्मी म स्कुल गएँ है, ह्याब अ गुड डे !’ श्वेता घरबाट निस्किनै लाग्दा संगीता मुख धुँदै थिई । गम्छाले मुख पुछ््दै छोरीलाई एक मिनेट रुक्न भन्दै संगीता आफ्नो ब्याग लिन कोठाभित्र पसी ।
‘ह्या... मलाई ढिलो भइसक्यो भन्या । के कुरा हो, चाँडो
भन्नुस् न ।’
उसको हातमा पाँच सयको नोट राख्दै संगीताले सोधी, ‘घरको चाबी छ नि ? हामी साँझ फर्किंदा ढिलो हुन सक्ला, एक ठाउँमा पार्टी छ, दुवैलाई बोलाको छ । यो पैसाको खाजा खानु अनि घरमा राम्रोसँग ढोका लगाएर बस्नु ।’
श्वेताले मुन्टो मात्र हल्लाई, अरू केही सोधिन ।
‘डिनर हामी आउँदा लिएर आउँछम्’, संगीताले थपी ।
‘बाई’
‘बाई छोरी, ह्याब अ लब्ली डे !’
साँझ उनीहरू फर्किंदा अबेर भइसकेको थियो । करिब करिब दसको आसपास । फोनमा ‘डिनर लिएर आउँछम्, हामी नआई नसुत्नू’ भनेर दुईतीन चोटि भन्दा पनि लाग्थ्यो श्वेता सुतिसकेकी थिई । घरमा कुनै आवाज थिएन । टीभी पनि बन्द थियो । भित्र छिर्दै गर्दा संगीता र सन्दीप दुवैले छोरी सुतिसकेको अनुमान लगाए ।
‘झन् डिनर नखाई नसुत भनेको, के ताल होला यो केटीको पनि’, संगीताले ढोका लगाउँदै भनी ।
‘निद्रा लाग्यो होला, सुती । ठीकै छ नि’, सोफामा बस्दै
सन्दीपले भन्यो ।
‘बरु एउटा काम गर न’, उसले संगीतातिर हेर्यो ।
संगीताले केही अचम्म मान्दै नजर जुधाई ।
‘एक पेग बनाइदेऊ न बरु प्लिज, त्यै अस्ति खोलेको वाला । कस्तो थकाइ लागिरा’छ ।’
‘त्यत्रो खाएर पनि पुगेन भन्या ?’
‘कहाँ धेरै खान पाइयो र ! पुग्दै त सात बजेको थियो ।’
‘म चेन्ज गरेपछि ल्याइदिन्छु उसो भए ।’
हातमुख धोएर संगीता बैठक कोठामा आई । एक हातमा स्कचको पेग अनि अर्को हातमा वाइनको ग्लास थियो ।
‘आफूलाई पनि खानुपर्ने त रैछ नि !’ पेग लिँदै सन्दीप जिस्कियो ।
‘नकराऊ तिमी ।’
‘यानिवे, चियर्स !’
‘चियर्स !’
आफ्नो कोठाको ढोका लगाएको भए पनि श्वेता सुतेकी भने थिइन । सिरकले मुख छोपेर खाटमा ढल्केको निकै बेर भइसके पनि उसका आँखा भने खुल्लै थिए । यस्तो लाग्थ्यो, मानौं ऊ केही सोचिरहेकी छ । या यस्तो पनि लाग्थ्यो, मानौं ऊ केही पनि नसोच्ने कोसिसमा छे । मध्यरातपछि मात्र उसका आँखा लाग्छन् ।
‘हिजो किन डिनर नगरी सुतेकी त छोरी ? हामी आउँदा
आउँदै ढिलो भयो के’, अर्को दिन बिहान ब्रेकफास्ट टेबलमा
संगीताले सोधी ।
‘हिजो मलाई चाँडै निद्रा लाग्लाजस्तो भयो, एउटा वाइवाई खाएर सुतेँ । इट्स ओके मम’, श्वेताले सहज रूपमा उत्तर दिई । आफू मध्यरातसम्म सुत्न नसकेको कुरा भने उसले गरिन ।
संगीतालाई भने लाग्यो, ‘छोरी अब ठूली हुँदै छे, कुरा बुझ्दै छे ।’ ऊ छोरीतिर हेरेर मुसुक्क हाँसी । श्वेताले हाँसो फर्काउन त खोजी तर बढो मुस्किलले मात्र निस्कियो । अलि बनावटीजस्तो पनि देखियो । छोरीको बनावटी हाँसो आमाको नजरसम्म भने पुगेन ।
छोरी स्कुल अनि लोग्ने काममा गइसकेपछि संगीता दिउँसो फुर्सदको समयमा घर सफा गर्नतिर लागी । बैठककोठा र आफूहरूको बेडरुम सफा गरिसकेपछि अन्तिममा ऊ छोरीको कोठामा छिरी । छोरीको कोठाको हालत देखेर संगीतालाई गहिरो थकान महसुस भयो । सिरक एकातिर गुटमुटिएको थियो भने ओछ््यानभरि कपडा र किताब असरल्ल छरिएका थिए, बिस्कुन सुकाएजस्तो ।
‘पहिले पहिले त कोठा कस्तो सफा राख्थी, के भाको होला यो केटीलाई आजकल ! ठूली भएपछि सजिलो होला भनेको झन्...’, संगीता आफैंसँग बरबराई । किताब समेलेर टेबलमा राखुन्जेल अनि छोरीका कपडा पट्याउन्जेल उसको बर्बराहट रोकिएन । अन्तिममा सिरक पट्याएर कुनामा राख्दा सिरानी भएतिर केही खसेजस्तो आवाज आयो । थकाइ लाग्दै पनि आएकाले उसले खास वास्ता भने गरिन । उसलाई लाग्यो, काइँयो साइँयो केही खस्यो होला । ढोका बन्द गर्नै लाग्दा भने उसले याद गरी, अघि आएको आवाज अलि तिखो थियो । काइँयो खस्दा आउने आवाजभन्दा केही फरक । चम्चा या काँटा खस्दा आउने आवाजजस्तो । त्यत्तिकैमा उसको फोन बज्यो । ढोका लगाउँदै गर्दा आवाज सुनियो...
‘हेलो ? हेलो ? अहिले सुनियो ? कस्तो नेटवर्क नै राम्रो छैन के यता... अँ भन...’ भान्सा कोठामा राम्रो नेटवर्क आउने भएकाले ऊ त्यहीँ उभिएर कुरा गर्न थाली । अघिको काइँयो, चम्चा वा काँटावाला कुरा उसले भुसुक्कै बिर्सी ।
राति सुत्ने बेला संगीताले लोग्नेसामु कुरा झिकी ।
‘छोरी अलि परिवर्तन भएजस्तो लाग्दैन तिमीलाई ?’
‘भन्नाले ?’
‘खोइ, कोठामै बस्छे धेरैजसो । पहिलेजस्तो बोल्दा पनि बोल्दिन । पढाइमा पनि पहिलेजस्तो रुचि देखिँदैन ।’
‘त्यस्तो केही होइन होला । उमेरको पनि कुरा हो । डन्ट फर्गेट, छोरी अब टिनएजर भइसकी । यो उमेरमा त्यस्तो हुन्छ नि ।’
‘हुन त हो । आमाको मन के के सोचिहाल्छ ।’
‘मतलब ?’
‘केही होइन । म यसै धेरै सोच्छु कहिलेकाहीँ ।’
‘उसको प्राइभेसीको पनि कुरा होला । त्यो पनि हामीले बुझ्नुपर्छ । दे निड सम स्पेस याट दिस एज ।’
लोग्नेको कुरामा सहमत नहुने कुरा पनि थिएन । कुरा गरिसकेपछि संगीता अलि ढुक्क भई ।
दुई दिनपछि भन्सामा खाना पकाउँदै गर्दा संगीताले उसको मनपसन्द सानो चक्कु साविक ठाउँमै देखी । एकछिन अचम्म पनि मानी । अस्ति त्यत्रो खोज्दा नभेटिएको, आज जहाँ हुनुपर्ने त्यहीँ थियो । कतै आफ्नो आँखा कमजोर हुँदै गइरहेको त होइन भनेर लख काट्न पनि भ्याई उसले ।
‘छोरी, भोलिको प्लान के छ ? शनिबार पनि हो । तिम्रा साथीहरूलाई बोलाऊ न दिउँसो । स्लिप ओभरलाई बोलाए पनि हुन्छ नि, तिम्रा साथीहरू घर नआएको निकै समय भयो नि साँच्ची’, डिनर गर्दा संगीताले छोरीलाई सोधी ।
आमाको कुरामा श्वेताले कुनै रुचि देखाइन । सुने नसुनेझैं गरी । कुनै जवाफ नआएपछि संगीताले फेरि सोधी ।
‘मम, आई जस्ट वान्ट टु रेस्ट टुमरो, प्लिज !’
छोरीको झर्को मिश्रित जवाफले संगीता केही अचम्मित भई । आफूले गलत कुरा गरेजस्तो संगीतालाई लागेको थिएन । फेरि किन यस्तो रूखो जवाफ ? उसले सोच्न सकिन ।
‘आर यु ओके ? मैले त तिम्रै लागि भनेको थिएँ, साथीहरू घरमा आएर रमाइलो हुन्छ कि भनेर । स्कुलमा साथीहरूसँग सबै ठीक त छ नि ?’
‘ओ माई गड, गिभ मी अ ब्रेक !’
खाँदै गरेको प्लेट छोडेर श्वेता जुरुक्क उठी अनि आफ्नो कोठातिर लागी । एकछिनपछि ढोका लगाएको ठूलो आवाज आयो । संगीता निकै बेरसम्म त्यहीँ टोलाएर बसिरही । भर्खरै जे भयो, उसलाई धेरै बेरसम्म सपनाजस्तो लागिरह्यो । सपनाजस्तो लागे पनि, वास्तविकताले चिमोट्न भने थालिसकेको थियो ।
साँझमा भएको घटनाको विवरण सुनेर सन्दीप पनि चकित पर्यो । छोरीले त्यस किसिमको व्यवहार गरी होला भनेर उसले पनि पत्याउन सकेन । र पनि उसले संगीतालाई सोध्यो, ‘उसको मुड अफ पो थियो कि ?’
‘जतिसुकै मुड अफ भए पनि त्यस किसिमको व्यवहार ? त्यो पनि जाबो एउटा प्रश्न गर्दा ?’ संगीताले उल्टै प्रश्न गरी ।
सन्दीप निकै बेरसम्म चुप रह्यो । छोरी हुर्किंदै गर्दा ऊसँग खेलेको, राति निद्राबाट उठ्दा उसलाई गीत गुनगुनाएर सुताएको, उसले खान नमान्दा फकाई फकाई अनेक तरिका गरेर उसलाई खुवाएको, छोरी रिसाउँदा उसको मन पर्ने चकलेट किनिदिएर उसलाई फकाएको— सन्दीपको मानसपटलमा यी घटनाक्रम अनि सम्झना पालैपालो आए, कुनै चलचित्रको फ्ल्यासब्याक जस्तो । उसले यो पनि सम्झियो— त्यस बखत ऊसँग घरपरिवारका लागि अलि ज्यादा समय पनि थियो । एमबीबीएस अध्ययन पूरा गरेको दोस्रो वर्ष छोरी जन्मिएको उसलाई प्रस्टै याद थियो । अध्ययन पूरा गरेकै अस्पतालमा ऊ काम गथ्र्याे त्यस बखत । व्यस्त त ऊ त्यो बेला पनि थियो तर पनि परिवारका लागि समय भने हुन्थ्यो । निकाल्थ्यो । हिजोआज भने स्थिति केही फरक थियो । एमडी सकाएको केही वर्षमै उसको व्यस्तता ह्वात्तै बढेको थियो । अस्पतालमा आफ्नो नियमित ड््युटीका साथसाथै केही लेक्चरको जिम्मा पनि थपिएको थियो । त्यसका साथै उसको आफ्नो प्राइभेट क्लिनिक त छँदै थियो । पछिल्ला केही वर्ष यी सबै व्यस्तताबीच बितेको थियो । उसको आँखैअगाडि छोरी परिवर्तन भएको कुरा ऊ अहिले आएर बुझ्दै थियो । हेर्दाहेर्दै चिया उम्लिएर पोखिएजस्तो, निमेषभरमै नीलो आकाश कालो बादलले ढाकिएर पानीका थोपा झर्न थालेजस्तो ।
‘तिमी धेरै टेन्सन नलेऊ, छोरीसँग म भोलि कुरा गर्छु’, सन्दीपले लामो मौनता तोड्दै भन्यो ।
अर्को बिहान शनिबार भएकाले सबैजना ढिला उठे । सन्दीपको त्यस दिन ड््युटी थिएन । संगीता चिया बनाउँदै थिई भने सन्दीप टोस्टमा जाम लगाउँदै थियो । छोरी श्वेता पनि आँखा मिच्दै त्यहीँ आएर एउटा कुर्सीमा बसी ।
‘गुड मर्निङ’, दुवैतिर हेर्दै उसले भनी ।
‘गुड मर्निङ छोरी, हिजो राम्रोसँग सुत्यौ नि ?’ सन्दीपले सोध्यो । संगीता अझै मौन थिई ।
‘हजुर, सुतेँ ।’
‘गुड ।’
आमा केही नबोलेकाले श्वेतालाई अलि अप्ठ्यारो भइरहेको थियो । असहजता चिर्दै अन्ततः उसले मुख खोली ।
‘मम्मी, हिजोको लागि आई एम सरी ।’
छोरीको अगाडि उसले चियाको कप ल्याएर राखिदिई तर कुनै प्रतिक्रिया भने जनाइन ।
‘छोरीले माफी मागी हाली त, भइहाल्यो नि अब । किन ठुस्स परिराको ?’ संगीताको मुख अझै पनि ठुस्स देखेर सन्दीपले भन्यो ।
‘नबोल्दैमा ठुस्स परेको हुन्छ ?’
सन्दीप हाँस्यो । श्वेता पनि हाँसी । एकछिनपछि संगीताको मुखबाट पनि रोक्दारोक्दैको हाँसो पोखियो ।
श्वेताले आमालाई गएर अँगालो हाली अनि एकचोटि फेरि क्षमायाचना गरी । यसपल्ट भने संगीता बोली ।
‘इट्स ओके छोरी । आई अन्डरस्ट्यान्ड । तर, बोल्नुअघि आफू के बोल्दै छु भन्ने कुराको एकदम ख्याल गर्नुपर्छ ।’
श्वेताले कुरा बुझेको जनाउँदै टाउको हल्लाई ।
छोरीकै आग्रहमा तीनैजना त्यस दिउँसो चोभार घुम्न निस्के ।‘चोभार त तिमी धेरै चोटि साथीहरूसँग गएकी छौ नि होइन ? फेरि आज किन त्यहीँ जान मन लाग्यो छोरी ?’ ड्राइभ गर्दै उसले श्वेतालाई सोध्यो ।
‘परिवारको रूपमा जान मन लागेको थियो । हामी तीनैजना सँगै कतै नगएको कति भइसकेको थियो । सम टाइम्स आई मिस अस डुइङ थिंग्स ऐयाज अ फ्यामली’, पछाडिको सिटबाट बाहिर हेर्दै श्वेताले भनी ।
संगीता र सन्दीप छोरीले नदेख्ने गरी एकअर्कालाई हेरे । छोरीको कुराले दुवैलाई केही अप्ठ्यारो पनि बनायो । तर यो सत्य थियो, पछिल्ला दुईतीन वर्षमा उनीहरू कति व्यस्त भए भने परिवारका रूपमा तीनैजना कतै गएका थिएनन् । चोभार पुगुन्जेल कोही पनि अरू एक शब्द बोलेनन् ।
संगीतालाई फोटोग्राफीमा रुचि भएकाले पुगेको केही बेरमै ऊ क्यामेरा लिएर निस्की । बाबुछोरी भने चिया अर्डर गरेर नजिकैको पसलमै बसे ।
‘ड्याडी, म ठूलो भएपछि के बने हुन्थ्यो जस्तो लाग्छ हजुरहरूलाई ?’
छोरीको प्रश्न सुनेर सन्दीप केही अचम्मित भयो । जहाँसम्म उसलाई लाग्थ्यो, उनीहरू दुवैजनाले छोरीलाई कहिल्यै पनि कुनै किसिमको दबाब दिएका थिएनन् । पढाइको मामलामा त झनै थिएनन् ।
‘तिमीलाई जे बन्न मन लाग्छ, त्यही बन्नू । त्यस्तो यही उही भन्ने छैन नि’, सन्दीपले सहज रूपमा उत्तर दियो । श्वेताले बाबुको मुखमा हेरी मात्र, केही बोलिन ।
‘किन सोधेकी छोरी ? तिमीलाई हामीबाट कहिले कुनै किसिमको प्रेसर महसुस भएको छ र ?’ सन्दीपले सोध्यो ।
‘नाइँ, छैन ।’
‘अनि किन त ?’
‘खोइ, कहिलेकाहीँ यस्तो लाग्छ— मैले तपाईंहरूको आशा पूरा गर्न सक्दिनँ । समाजमा तपाईंहरूको जुन इज्जत छ, त्यसैले थिचेजस्तो हुन्छ कहिले । मेरो कारणले तपाईंहरू निराश हुनुपर्ला कि भन्ने कुराको डर पनि लाग्छ ।’
छोरीको कुरा सुनेर सन्दीपको मुखबाट कुनै शब्द निस्केन । छोरीका टिलपिल आँखामा आँखा जुधाउन पनि हम्मे पर्यो उसलाई । बढो साहसका साथ छोरीतिर हेरेर उसलाई जोडसँग अँगालो हाल्यो । रोक्न खोज्दाखोज्दै उसका पनि आँखा रसाए । केही भन्न भनेर मुख खोले पनि उसको मुखबाट फेरि पनि शब्द निस्किएनन् । केही बेरपछि ‘रेस्ट रुम’ गएर आउँछु भन्दै श्वेता शौचालयतिर लागी । सन्दीपले गोजीबाट मोबाइल निकालेर छोरीसँग भएको कुराबारे संगीतालाई टेक्स्ट पठायो । टेक्स्ट पढेर संगीता पनि निःशब्द भई । केही मिनेटमा संगीता पनि त्यहीँ आइपुगी । छोरी शौचालयबाट आइसकेपछि घर फर्किने कुरामा तीनैजना राजी भए ।
कारमा चढ्ने बेलामा आफूलाई टाउको दुखेको र पछाडि ढल्केर बस्न मन लागेको कुरा संगीताले गरी । छोरीले पनि आमाको कुरा सहज रूपमा लिई र आगाडिको सिटमा गएर बसी । सधैं पछाडिको सिटमा बस्ने श्वेता आज अगाडि बस्दा केही खुसी पनि देखिई । कारको ऐनामा लोग्ने स्वास्नीको आँखा जुध्दा संगीताले टाउको दुखेको बहाना गरेको कुरा बुझ्न सन्दीपलाई धेरै बेर लागेन ।
टाउको दुखेको बहाना गरेकी संगीताको दिमागमा भने अस्ति केही दिनअघि तरकारी काट्ने सानो चक्कु कतै फेला नपरेको, अर्को दिन छोरीको कोठा सफा गर्दा केही फलामको चिज खसेको जस्तो आवाज आएको र दुई दिनपछि त्यो चक्कु फेरि आफ्नो यथावत् स्थानमा भेटिएको कुरा झल्झली आइरह्यो । अब भने उसको टाउको साँच्चिकै दुख्न थाल्यो ।
साहित्य र सिनेमामा रुचि राख्ने कुमार शर्मा विगत पत्रकारिता हो । उनी अहिले अस्ट्रेलियामा स्वास्थ्य क्षेत्रमा कार्यरत छन् ।