कारागारमा पुस्तकालय स्थापना
रुकुम पश्चिम : रुकुम पश्चिमको जिल्ला कारागारभित्र पुस्तकालय स्थापना भएको छ । प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले शनिबार पुस्तकालय उद्घाटन गरेका हुन् ।
समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तरगत कर्णाली प्रदेश प्रहरी कार्यालयको अगुवाइमा कर्णालीका १० जिल्लामा रहेका सबै कारागारमा पुस्तकालय स्थापना गर्ने लक्ष्य रहेको बताइएको थियो ।
कारागारलाई सुधारगृहका रुपमा विकास गरी पठन संस्कृतिको विकास गर्न यस्तो अभियान सुरु गरिएको रुकुम पश्चिम प्रहरी प्रमुख डिएसपी सुमित खड्काले बताए ।
खड्काका अनुसार जिल्ला कारगारमा स्थापना गरिएको पुस्तकालयमा आठ सयवटा पुस्तक छन् । ती पुस्तक जिल्लाका विभिन्न स्थानीय तह, प्रदेश प्रहरी कार्यालय तथा अन्य सहयोगीहरुबाट उपलब्ध भएको बताइएको छ । पुस्तकालय उद्घाटन कार्यक्रममा लेखक राजेन्द्र पराजुली र निबन्धकार कुमारी लामाको पनि उपस्थिति थियो ।