बाह्य लगानी किन आवश्यक ?

बाह्य लगानी किन आवश्यक ?

सन् २०१७ विश्वमा २३ प्रतिशत घटेको विदेशी लगानी विकसित देशमा ३७ प्रतिशतले घटेको थियो। सन् २०१८ विश्वको विदेशी लगानी १९ र विकसित अर्थतन्त्रमा ४० प्रतिशत घटेको छ। गत वर्ष ४२ प्रतिशत घटेको लगानी युरोपमा सबैभन्दा बढी ७३ प्रतिशतले घटेको छ।

स्थिर रहेको विकासशील देशहरूको लगानी २०१८ मा ३ प्रतिशतले बढेको छ। विश्वको कुल लगानीमा विकासशील देशको अंश ५८ प्रतिशत पुगेको छ। गत वर्ष चीन, ब्राजिल, फ्रान्स, जर्मनीले लगानी बढाएका थिए। यस वर्ष लगानी घटेका देशहरू हङकङ, अस्ट्रेलिया, सिंगापुर, भारतजस्ता मुलुकले बढाएका छन्।

अन्य क्षेत्रमा विदेशी लगानी घटे पनि एसियाका विकासशील देशमा स्थिर रहेको तथा न्यून आय भएका भूपरिवेष्ठित राष्ट्रहरूमा विदेशी लगानी बढेको तथ्यांक अनटार्डले २०१९ मा प्रकाशित गरेको छ। विश्वको सबैभन्दा बढी विदेशी लगानी भएको मुलुक अमेरिकामा १८ प्रतिशतले घटेको छ भने चीन र भारतमा बढेको छ।

सबैभन्दा बढी विदेशी लगानी हुने १० मुलुकमध्ये ५ मुलुकहरू विकासशील राष्ट्र छन्। तर वैदेशिक लगानीमध्ये प्रत्यक्ष (ग्रिन फिल) विश्वमा २९ प्रतिशत, विकासशील राष्ट्रहरूमा ४७ प्रतिशत, विकासशील एसियाका मुलुकहरूमा ८५ प्रतिशत र संक्रमणकालीन अर्थतन्त्रमा ५५ प्रतिशतले बढेको छ। यस तथ्यांकले के देखाएको छ भने वैदेशिक लगानी विकासशील राष्ट्रहरू खासगरी एसियामा बढी केन्द्रित भएको छ।

विश्वका संक्रमणकालीन मुलुकहरूमा लगानी बढ्नुले बढी जोखिमयुक्त क्षेत्रमा लगानीकर्ताको आकर्षण देखिएको छ। यसको मुख्य कारण अर्थशास्त्रीहरूले विकसित देशमा लगानीको प्रतिफल दर घट्न गएको कारण बताएका छन्। साधारणतः मर्जर र व्यवसाय खरिद गरी विदेशी लगानी गर्ने लगानीकर्ताहरू प्रत्यक्ष लगानीमा बढी केन्द्रित छन्।

के विकासशील मुलुकले बाह्य लगानी प्रोत्साहन गरेका छन् ?

बजार विस्तार गर्ने तथा आन्तरिक उद्योगहरूको क्षमता बढाउने मुख्य औजारका रूपमा बाह्य लगानीलाई लिइएको छ। बाह्य लगानीमा विकसित देशहरूको ठूलो हिस्सा रहे पनि विकासशील देशहरू खासगरी ब्रिक्स राष्ट्रहरूले आक्रामक रूपले विस्तार गरेका छन्।

प्रतिबन्ध गरेका मुलुकहरूले बाह्य लगानी खुला गर्दै लगेका छन्। तर पनि अधिकांश न्यून आय भएका मुलुकको लगानी हिस्सा कम नै देखिन्छ। विश्वमा बाह्य लगानीको अंश कुल गार्हस्थ उत्पादनको २.३ प्रतिशत क्षेत्रगत रूपमा युरोपियन युनियनको ४.४५ रहेको छ। विकासशील देश खासगरी पूर्वीएसिया, सार्क तथा युरोपियन मुलुकहरूको अधिकांश लगानी विकसित देशमा केन्द्रित छ।

मध्य एसिया, अमेरिकी तथा अफ्रिकी मुलुकहरूको अधिकांश लगानी विकासशील देशमा रहेको छ। समष्टिगत बाह्य लगानीमा पहिलो अमेरिका र दोस्रो मुलुक चीन हो। विकासशील राष्ट्रहरूमध्ये ब्रिक्स राष्ट्रहरूको बाह्य लगानीको अंश ६२ रहेको छ। यसमध्ये चीनको ३६, रसियाको ९, भारत, मेक्सिको र ब्राजिलको झन्डै ५/५ प्रतिशत रहेको छ। विकासशील मुलुकहरू खासगरी चीनले बाह्य लगानीलाई रणनीतिक क्षेत्रकोे पहिचान गरी विशेष सहुलियत तथा सुविधा नै दिएर प्रवद्र्धन गरिरहेका छन्।

हाल विकासशील देशहरूको बाह्य लगानीको दुईतिहाइ हिस्सा विकसित मुलुकमा छ। यसको मुख्य उद्देश्य, निर्यात प्रवद्र्धन, नवीनतम् प्रविधिको हस्तान्तरणमार्फत स्रोत मुलुकको क्षमतामा अभिवृद्धि नै हो। हाल विदेशी लगानीमा चीनको रणनीति अग्रणी र आक्रामक देखिएको छ। सन् १९९० को दशकमा प्राथमिक वस्तुहरूमा लगानी गर्ने चीनले हाल सेवा क्षेत्र तथा उपभोग्य वस्तुहरूमा लगानी बढाएको छ। प्राकृतिक स्रोत–साधन उपयोगलाई मुख्य प्राथमिकता दिएको चीनले बजार विस्तार, न्यून लागत तथा रणनीतिक फाइदाका लागि लगानी बढाएकोे छ।

चीनमा अपनाइएको यी रणनीतिको कारण स्वदेशी उद्योगहरूको क्षमताको पूर्ण उपभोग, बजार विस्तार भएको तथा न्यून लागतमा उद्योगहरूको दक्षता अभिवृद्धि भएको देखाएको छ। बाह्य लगानीको थप बजार, ग्राहक र लगानीको वातावरणको गहन अध्ययन हुन सक्ने देखिएको छ। यसले अन्य स्वदेशी लगानीकर्तालाई अन्तर्राष्ट्रिय बजारमा प्रवेश गर्न प्रोत्साहन गर्ने, निर्यात प्रवद्र्धन, क्षमता अभिवृद्धि हुने वातावरण बन्न सक्छ। नवीनतम् प्रविधिको हस्तान्तरण स्रोत मुलुकमा भएका कारण पनि कम विकसित मुलुकहरूले बाह्य लगानीलाई प्रोत्साहन गरेका छन्।

बाह्य लगानीलाई अंकुश लगाएका मुलुकहरूले यसको सकारात्मक पक्षको विश्लेषण नै नगरी प्रतिबन्धित गरेको विश्लेषण विश्व बैंकको प्रतिवेदनले जनाएको छ। बाह्य लगानी प्रतिबन्ध गर्दा क्षमतावान् लगानीकर्तालाई अन्तर्राष्ट्रिय रूपमा प्रतिस्पर्धा गर्न निरुत्साहित हुन्छ।

स्वदेशी उद्योगको क्षमताको संकुचन र लगानीकर्ताकोे क्षमताको उच्चतम परिचालनबाट वञ्चित गर्नु सरकारको कुनै पनि हिसाबले विवेकपूर्ण निर्णय होइन। यसले अर्थतन्त्रको विस्तारमा रोकावट गरेको छ। यो व्यवस्था कुनै पनि कारणबाट तर्कपूर्ण हुन सक्दैन तथा लगानीकर्तालाई न्यायपूर्ण हुन सक्दैन।

के विकासशील देशलाई बाह्य लगानी फाइदा छ ?

बाह्य लगानीको स्रोत मुलुकमा पर्ने सकारात्मक असरलाई दुई तहमा हेरिएको छ, पहिलो– लगानीकर्ताले बाह्य लगानीबाट अन्तर्राष्ट्रिय ज्ञान, प्रविधि र बजारबाट सिक्ने अवसर भएकाले लगानीकर्ताको व्यवहारमा सुधार हुन्छ। दोस्रो– कम्पनी वा व्यवसायीले पाएको ज्ञान, अन्य सम्बन्धित तथा नजिकका कम्पनीहरूमा हस्तान्तरण हुन्छ। यसले अन्य लगानीकर्ताको प्रतिस्पर्धी क्षमता वृद्धि हुन जान्छ।

यसले दीर्घकालमा नवीनतम् ज्ञान, क्षमता तथा व्यवहार मुलुकभर विस्तार हुन्छ। विश्व बैंकको प्रतिवेदनले बाह्य लगानीका फाइदालाई तीन किसिममा विश्लेषण गरेको छ, पहिलो– कम्पनीको उत्पादनमा नयाँ प्रविधिको उपभोग, बजार विस्तार तथा व्यवस्थापकीय क्षमतामार्फत उत्पादन बढाउने भएकाले उत्पादन तथा सञ्चालन खर्च घट्छ। दोस्रो– अन्तर्राष्ट्रिय बजारमा लगानी गर्दा लगानीकर्ताहरूले दक्षता वृद्धि तथा उत्पादनमा लागत घटाउनुपर्ने भएकाले प्रतिस्पर्धी क्षमता बढाउन सक्छन्।

लगानीकर्ताले अन्तर्राष्ट्रिय लगानीकर्ताको साझेदारीमार्फत व्यवसायमा नवीनतम् ज्ञान, सीप, प्रविधि तथा अवधारणा पहिले लगानी भएको मुलुक र पछि स्रोत मुलुकमा समेत सकारात्मक असर हुन सक्छ।

तेस्रो– लगानीकर्ताले अन्तर्राष्ट्रिय लगानीकर्ताको साझेदारीमार्फत व्यवसायमा नवीनतम् ज्ञान, सीप, प्रविधि तथा अवधारणा पहिले लगानी भएको मुलुक र पछि स्रोत मुलुकमा समेत सकारात्मक असर हुन सक्छ। लगानीकर्ताले आफ्नो बजार विस्तारका खोज–अनुसन्धान गर्ने भएकाले नवीनतम् अनुसन्धान हुने देखिन्छ। व्यवसाय नाफाका लागि गरिने भएकाले विदेशमा भएको नाफा मुलुकभित्र आउने देखिन्छ। जसकारण बाह्य लगानी खोलेका विकासशील मुलुकहरूको विकास लक्ष्यका लागि महŒवपूर्ण भूमिका खेलेको देखिन्छ।

के नेपालले बाह्य लगानी खोल्नुपर्छ ?

भारतका नीतिनिर्माता बाह्य लगानीमा पुरातन सोचाइका मानिन्छन्। भारतले नीतिगत रूपमा खुला गरेको खासगरी सन् २००० पछि नै हो। सुरुमा संस्थागत लगानीकर्तालाई मात्र लगानी निश्चित क्षेत्रमा लागि खुला गरेको थियो। तर, सन् २००८ पछि खुला नीति अवलम्बन गरेको हो। जसकारण उसले विश्व अर्थतन्त्रबाट अपेक्षित लाभ लिन नसकेको महसुस भइरहेको छ।

नेपालबाट विदेशमा लगानी गर्न पाउने व्यवस्था छैन। तर विभिन्न समयमा नेपाली लगानीकर्ताले विदेशी लगानी गरेको समाचार आउने गरेका छन्। हालको कानुनबमोजिम स्वदेशी लगानीकर्ताले विदेशमा लगानी गर्ने व्यवस्था गैरकानुनी हुन्छ तर अपराध भने होइन। अधिकांश मुलुकहरूले बाह्य लगानी खुला गरेको सन्दर्भमा हामीले मात्र रोक लगाउनु औचित्यपूर्ण हुन सक्दैन। लगानीकर्ताको दक्षता पनि वृद्धि भएको छैन।

उद्योगहरूको उच्च लागतका कारण उपभोक्ताले बढी मूल्य तिर्नुपरेको छ। यस व्यवस्थाले नेपाली लगानीकर्ताले अन्तर्राष्ट्रिय बजार खोज्नुपर्ने आवश्यकता नै ठानेका छैनन्। न बजार खोज्ने आवश्यकता नै भएको छ। यसले लगानीकर्तालाई नेपाल स्रोत मुलुक बनाई व्यवसाय संस्थापन गर्न निरुत्साहित भएको छ। न विदेशमा लगानी गर्न चाहने व्यक्तिलाई यो व्यवस्थाले प्रभावकारी ढंगले रोक्न नै सकेको छ।

नीतिनियममा पुनरावलोकन नभएकाले व्यवसायीहरूले बाध्य भएर गैरकानुनी बाटोबाट विदेशमा लगानी त गरेकै देखिन्छ। यस व्यवस्थाले विदेशमा भएको नाफा नेपालमा ल्याउन खोज्ने व्यवसायीहरूलाई रोकावट गरेको छ। यसको ठूलो नोक्सान मुलुकले व्यहोरेकोे छ।

पंक्तिकारले विकसित तथा विकासोन्मुख मुलुकमा दर्जनौं नेपाली व्यक्तिहरू सफल व्यवसायीका रूपमा देखेको छ। उपेन्द्र महतो, जीवा लामिछाने, बद्री केसी उदाउँदो आर्थिक राष्ट्र रसियाका सफल व्यवसायी हुन्। भवन भट्ट तथा देवमान हिराचनले जापानमा सानो व्यवसायबाट दर्जनौं व्यवसाय विस्तार गरेका छन्। शेष घले अस्ट्रेलियाका अग्रपंक्तिका व्यवसायी मानिन्छन्।

विकसित मुलुक जर्मनीलगायत युरोपमा कुमार पन्तले प्रतिस्पर्धा गरी नाफा कमाएका छन्। सयौं व्यक्तिले हङकङ, सिंगापुर, अस्ट्रेलिया, जापान, युरोप, अमेरिका, अरब राष्ट्रमा सफल व्यवसाय गरेका छन्। यी अधिकांश व्यक्तिहरू नेपालबाट अध्ययनका लागि गएका र विगतमा सामान्य आर्थिक हैसियत भएका व्यक्तिहरू हुन्। यी अधिकांश व्यक्तिहरूले नेपालबाट पैसा पठाएर लगानी गरेको पनि देखिन्न।

व्यवसाय भनेको पैसाले मात्र हुने होइन। उक्त व्यक्तिको सोच, नवीनतम् प्रवृत्ति, ज्ञान, सीप र व्यवस्थापकीय क्षमताजस्ता पक्षमा निर्भर हुने माथिका उदारहण हुन्। यी व्यक्तिले गरेका कामबाट के सिक्नुपर्छ भने नेपालमा संसारमा प्रतिस्पर्धा गर्नलायक व्यक्तिहरू अरू पनि छन्। यिनीहरूलाई प्रोत्साहन गरी बजार विस्तार र निर्यात प्रवद्र्धन गर्न सकिन्छ।

संसारका विकसित देशमा प्रतिस्पर्धा गरी व्यवसाय सफल बनाउन सक्ने धेरै नेपालीमा क्षमता छ, यसको प्रवद्र्धन गरौं। तर, नेपालमा बसी व्यवसाय गरेका व्यवसायीले विदेशमा लगानी गर्दा डुब्ने भन्ने अन्तरकुण्ठा नपालौं। विदेशमा लगानी गर्न पाउने व्यवस्था तत्कालै गरौं। यसले स्वदेशी उद्योगको क्षमता विस्तार हुन्छ। बाह्य लगानी हुन सक्ने क्षेत्र पहिचान गर्न सकिन्छ। यसले स्वदेशी उद्योगको नयाँ प्रविधिमा पहुँच र प्रयोग हुन्छ।

कस्ता लगानीलाई प्राथमिकता ?

हामीले प्राथमिकतासाथ प्रवद्र्धन गर्नुपर्ने क्षेत्र खासगरी नेपालमा प्राकृतिक स्रोत भएका वा स्रोत मुलुक नेपाल हुने क्षेत्र नै हो। पर्यटन, जलविद्युत्, सेवा क्षेत्र वित्तीय, शिक्षा हुन्। कृषि तथा उत्पादनमूलक क्षेत्र प्रविधि हस्तान्तरणका लागि सम्भावित क्षेत्र हुन्। यी क्षेत्रका व्यवसायी बाह्य लगानी गर्न सक्ने र बाह्य लगानी गर्दा फाइदा हुने देखिन्छ। यी व्यवसायीले विदेशमा लगानी गर्नुको कारण नेपालमा व्यवसाय विस्तार पनि हो।

विदेशमा व्यवसाय गर्न खुला भएमा सम्बन्धित क्षेत्रको आवश्यकता पहिचान गरी नेपालमा उत्पादन बढाउने र निर्यातसमेत वृद्धि हुन जान्छ। यसले प्रत्येक वर्ष बढ्दै गइरहेको व्यापार घाटा कम गर्ने अपेक्षा गर्न सकिन्छ। साथै विदेशी लगानी भिœयाउन यी लगानीकर्ताहरू लगानी दूत हुन सक्छन्।

नेपालबाट हुने बाह्य लगानीलाई ५५ वर्ष पुरानो कानुनले रोकेको छ। साधारणतः कानुन पाँच वर्षमा पुनरावलोकन गर्नुपर्छ। तर उक्त कानुन आइसकेपछि पाँचवटा संविधान आए, पटकपटक राजनीतिक परिवर्तन भए। साथै विश्व व्यापार संगठनलगायतका दर्जनौं बहुपक्षीय तथा दुईपक्षीय सन्धि–सम्झौता गरिसक्यौं। तर, यो व्यवस्थामा परिवर्तन हुन सकेको छैन। अन्यथा नेपालका नीतिनिर्माता, सरकार, संसद् तथा सरकारी निकायहरू भविष्यमा अकर्मण्य देखिने छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.