अतिरिक्त खेलाडीको अनुभव

अतिरिक्त खेलाडीको अनुभव

अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा जति धेरै सन्दीपले खेल्न पाउँछन् त्यति निखारिने छन्।


विक्रम संवत् ४० को दशकमा अमृत साइन्स क्याम्पसमा पढ्दा मैले क्रिकेट ब्याट समातेको थिएँ। क्याम्पसको वार्षिकोत्सवका अवसरमा बीएस्सी र आईएस्सीका गरी दुई टिमबीच प्रतिस्पर्धा भएको थियो। सेना मुख्यालय भद्रकालीअगाडिको चौरमा भएको त्यो खेलमा म बीएस्सी टिमको अतिरिक्त अर्थात् ११ जनापछिको ब्याटिङ गर्न नपाउने खेलाडी थिएँ।

आईएस्सी टिम कूल २६ रनमा आउट भयो। हाम्रो टिम १३ रनमा सबै आउट भई पराजित भयो। अतिरिक्त खेलाडी भए पनि मैदानमा रन बनाउन कति गाह्रो हुँदो रहेछ भन्ने मलाई पहिलोपटक थाहा भयो। कुनै बेला भारत खेलेको हरेक क्रिकेट खेल म टेलिभिजनमा हेर्ने गर्थें। यसै क्रममा क्रिकेटबारे लेख्ने रहर पलायो। सन् १९९६ मा एक दिवसीय विश्वकप क्रिकेटका दौरान मैले नेपालको चर्चित राष्ट्रिय दैनिकमा कृपा दाहालका नामबाट पटकपटक टिप्पणी लेखें। त्यसबेला पनि क्रिकेटका कतिपय प्राविधिक शब्दावलीहरूप्रति म अनभिज्ञ थिएँ।

क्रिकेट भद्रहरूको खेल हो तर कहिलेकाहीं यो खेलमा पनि अभद्र आचरण प्रदर्शन हुने गर्छ। कुनै बेला नोबेल साहित्य पुरस्कार विजेता जर्ज बर्नाड शाले भनेका थिए, ‘क्रिकेट ११ जना मूर्खहरूले खेल्ने र ११ हजार मूर्खहरूले हेर्ने खेल हो।’ बर्नाडले जे भने पनि क्रिकेट कलात्मक खेल हो। शिल्पीहरूको खेल हो।

‘क्रिकेट कीर्तिमान’ को खेल हो। कीर्तिमान हुन्छ तोड्नका लागि। क्रिकेटमा हरेक खेलमा कीर्तिमान बनिरहेकै हुन्छ। कीर्तिमान टुटिरहेको हुन्छ। पाँच दिवसीय क्रिकेट प्रतिस्पर्धालाई टेस्ट क्रिकेट भनिन्छ जुन दुई पारीमा खेलिन्छ। सन् १८७७ मा इङल्यान्ड र अस्ट्रेलियाबीच पहिलो आधिकारिक टेस्ट खेलिएको थियो। टेस्ट क्रिकेटको एउटा पारीमा कुनै पनि देशले आजसम्म एक हजार रन बनाएको छैन तर कुनै दिन बन्न सक्छ। अहिलेसम्मको एक पारीमा सर्वाधिक रनको कीर्तिमान श्रीलंकाले भारतविरुद्ध बनाएको ९५२ रन रहेको छ।

टेस्टमा कुनै पनि खेलाडीले एक पारीमा ५ सय रन बनाएका छैनन्। कुनै दिन बन्न सक्छ। अहिले यो कीर्तिमान वेस्ट इन्डिजका ब्रायन लाराको नाममा छ–इङल्यान्डविरुद्ध चार सय रन।

पचास/पचास ओभरको क्रिकेट प्रतिस्पर्धालाई एक दिवसीय भनिन्छ। यसमा एक देशले बनाएको सर्वाधिक रन संख्या इङल्यान्डले अस्ट्रेलियाविरुद्ध ४८१ को छ। कुनै दिन यो कीर्तिमान भंग भएर ५ सय रनको उचाइ छुन पनि सक्छ। एक दिवसीय खेलमा कुनै पनि खेलाडीले एक खेलमा बनाएको सर्वाधिक रनको कीर्तिमान भारतका रोहित शर्माको नाममा छ, जसले श्रीलंकाविरुद्ध २६४ रन बनाएका थिए।

कुनै दिन यो कीर्तिमान भंग भएर ३ सय रन पनि बन्न सक्छ। सन् १९७५ मा भएको पहिलो एक दिवसीय विश्वकप ६०÷६० ओभरको थियो, जुन अहिले ५० ओभरमा सीमित छ। पहिलो एक दिवसीय विश्वकपको ३२ वर्षपछि सन् २००७ मा २०/२० ओभरको टी ट्वान्टी विश्वकप प्रारम्भ भयो। अहिले १० ओभरमा सीमित क्रिकेटको समेत परीक्षण हुन थालेको छ। ठट्टा गर्नेहरू भन्छन्– विस्तारै क्रिकेट खुम्चिएर टसबाट जित–हारको निर्णय हुनेछ। अर्थात् विनाप्रतिस्पर्धा जसले टस जित्यो त्यही विजेता।

ठट्टा जे गरे पनि २० ओभरको टी ट्वान्टी खेल रोचक हुने गरेको छ। पट्यारलाग्दो टेस्ट क्रिकेटमा दर्शक घट्दै छन्, टी ट्वान्टीमा दर्शक बढ्दै छन्। टी ट्वान्टी अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा हालसम्म एक देशले बनाएको सर्वाधिक रन भनेको अफगानिस्तानले आयरल्यान्डविरुद्ध बनाएको २७८ रन हो। कुनै दिन टी ट्वान्टीमा तीन सय रन पनि बन्न सक्छ। यो स्वरूपमा अस्ट्रेलियाका एरोन फिन्चले बनाएको १७२ उच्चतम् रन हो।

टेस्ट क्रिकेटमा अहिलेसम्म एक ओभर अर्थात् ६ बलमा कुनै पनि खेलाडीले ६ छक्का हिर्काउन सकेका छैनन् जबकि एक दिवसीयमा यो कीर्तिमान दक्षिण अफ्रिकाका हर्सल गिब्सको नाममा (नेदरल्यान्डविरुद्ध) छ भने टी ट्वान्टीमा भारतको युवराज सिंहको नाम छ (इङल्यान्डविरुद्ध)।

क्रिकेटमा रन बनाउन र विकेट लिन क्षमता, कला र चतुर्‍याइँ चाहिन्छ। अथक् अभ्यासपछि स्टारका रूपमा तिनै शिल्पीहरू चम्किन्छन् र चिनिन्छन्। क्रिकेट एकाग्रताको खेल हो तर यो खेल जोखिममुक्त छैन। सन् २०१४ मा अस्ट्रेलियाका होनाहार ब्याट्सम्यान फिलिप ह्युज घरेलु खेलमा घाँटीमा बाउन्सर बल लागेर घाइते भएको दुई दिनपछि मृत्युवरण गर्न पुगे। क्रिकेट दबाबको खेल हो। क्रिकेट तनावको खेल पनि हो। जब खेल अन्त्यतिर पुग्छ, खेलाडी मात्र होइन दर्शकमाझ पनि तनाव बढ्न थाल्छ।

समग्रमा भन्नुपर्दा क्रिकेट रोमाञ्चक खेल हो। क्रिकेटमा बलरले सोचे र ताकेजसरी सबै बल फ्याँक्न सक्दैन। यसैगरी ब्याट्सम्यानले सोचेजसरी सबै बल खेल्न र रन बनाउन सक्दैन। कुनै पिच ब्याटिङमैत्री हुन्छ त कुनै बलिङमैत्री। त्यसमाथि पनि हावाको बहाब र मौसमको प्रभाव, पिच ओसिलो छ वा सुक्खा, घाँस कति छ, पिच चिरा परेको छ वन छैन ? धेरै कुराले अर्थ राख्छ। कतिपयले क्रिकेट ब्याट्सम्यानको खेल हो भन्छन् तर कतिपय बलरले यो धारणालाई गलत सावित गरिदिएका छन्।

क्रिकेटमा रन बनाउन र विकेट लिन क्षमता, कला र चतु¥याइँ चाहिन्छ। अथक् अभ्यासपछि स्टारका रूपमा तिनै शिल्पीहरू चम्किन्छन् र चिनिन्छन्। क्रिकेट एकाग्रताको खेल हो तर यो खेल जोखिममुक्त छैन।

क्रिकेटमा धेरै रन बनाएका र विकेट लिएका विख्यात खेलाडीहरू पनि आफ्नो कुनैकुनै प्रदर्शन बिर्सन चाहन्छन्। टेस्ट क्रिकेटबाट अवकाश लिँदा सर्वाधिक रनको कीर्तिमान बनाएका सुनिल गावस्करले सन् १९७५ मा सम्पन्न एक दिवसीय विश्वकपमा इङल्यान्डविरुद्ध १७४ बल अर्थात् पूरा २९ ओभर खेल्दै मात्र ३६ रन बनाएका थिए। यसैगरी टेस्ट क्रिकेटमा सर्वाधिक ८ सय विकेट लिएका कीर्तिमानधारी श्रीलंकाका बलर मुथैया मुरलीथरनले सन् २००६ मा अस्ट्रेलियासँग भएको एक दिवसीय खेलमा १० ओभरमा विनाविकेट ९९ रन खर्चेका थिए, जुन ५० ओभरको एक दिवसीय बलिङमा त्यो बेला सबैभन्दा महँगो कीर्तिमान थियो।

सन् १९८६ मा सारजहामा भारत र पाकिस्तानबीच अस्ट्रेलेसिया कपको फाइनल खेलमा पाकिस्तानलाई जितका लागि अन्तिम बलमा ४ रन चाहिएको थियो। क्रिजमा ब्याट्सम्यान थिए जावेद मियादाद, बल फ्याँक्दै थिए चेतन शर्मा। शर्माले योर्करका रूपमा बलिङ गर्न खोजे। त्यसमा पनि स्विङ योर्कर जसमा रन बनाउन गाह्रो हुन्छ तर त्यो भइदियो रसिलो फुल टस जसमा मियादादले छक्का प्रहार गर्दै हिरो भए त चेतन शर्मा जिरो। तर यिनै चेतन शर्माले त्यसको एक वर्षपछि सन् १९८७ मा भएको एक दिवसीय विश्वकपमा न्युजिल्यान्डविरुद्ध तीन बलमा तीन विकेट लिँदै विश्वकपमा ह्याट्रिकको पहिलो कीर्तिमान कायम गरेका थिए।

कुनै बेला भारतीय टेस्ट क्रिकेटका कप्तान थिए स्पिनर विसनसिंह वेदी। पाकिस्तानसँग सन् १९७८ मा पाकिस्तानमा भएको एक दिवसीय शृखंलामा वेदीको सनककै कारण भारतले शृंखला गुमाएको थियो। भारत र पाकिस्तान दुवैले एकएक खेल जितेको अवस्थामा तेस्रो खेल जित्न भारतलाई ४० ओभरमा २०६ रन बनाउनु आवश्यक थियो। ३७ ओभरमा दुई विकेटको क्षतिमा १८३ रन बनाउँदै भारत लगभग जितको नजिक थियो।

अन्तिम तीन ओभरमा भारतको जितका लागि २३ रन आवश्यक थियो। त्यसमध्ये दुई ओभर सरफराज नवाजले र एक ओभर इमरान खान (पाकिस्तानका वर्तमान प्रधानमन्त्री) ले गर्ने तय थियो। सरफराजले उल्टो अर्थात् रिभर्स स्विङ गराउने कला विकास गरेका थिए र बल पुरानो भएपछि हावामा ‘मुभ’ गराउन सक्थे तर ३८ औं ओभरको पहिलो चार बल उनले बाउन्सर फाले जुन वाइड बल थियो र ब्याट्सम्यानको पहुँचभन्दा टाढा थियो त्यसैले कुनै रन बनेन तर अम्पायरले वाइड बल घोषित गरेनन्।

निरीह ब्याट्सम्यानले पेभेलियनतिर हेरे। अम्पायरको आचरणविरुद्ध कप्तान वेदीले आफ्ना खेलाडीलाई फिर्ता बोलाएर खेल परित्याग गरे। त्यसकारण पाकिस्तानलाई सो खेलको विजेता घोषित गरियो र शृंखला पनि पाकिस्तानले जित्यो जबकि सो खेलमा कपिलदेवजस्ता आक्रामक ब्याट्सम्यानको पालो बाँकी नै थियो र १४ बलमा २३ रन बन्ने सम्भावना थियो।

खेलाडीलाई आउट नगरी खेल जितिँदैन। खेलाडीलाई आउट गर्ने हो भने रन रोकेर वा स्टम्प बाहिर फालेर पुग्दैन, खेलाडीलाई खेलाइरहनुपर्छ। त्यसका लागि विविधतासहित चतु¥याइँपूर्वक बल फ्याँक्नुपर्छ। बलिङका दर्जनौं विधामा निरन्तरको अभ्यास, दक्षता र विशेषज्ञतापछि बलरको धाक स्थापित हुन्छ। पछिल्लो चरणमा क्रिकेटमा नयाँ शब्दावलीहरू पनि अस्तित्वमा आएका छन्।

तीव्र गतिका बलरहरूले रन रोक्ने र विकेट लिने गरी मन्द गतिमा फिनिनी फ्याँक्ने बललाई ‘नक्केल बल’ भन्न थालिएको छ। यस्तो बल तीव्र गतिका बलरले पूरा एक्सनसहित दुई औंलाले च्यापेर यसरी फाल्छन् कि ब्याट्सम्यानलाई बल तीव्र गतिमा आएको भान हुन्छ तर बलको गति मन्द हुन्छ। यस्तो बल पढ्न झुक्किँदा ब्याट्सम्यान अक्सर आउट हुन्छन्।

पछिल्लो चरणमा खेलको मागअनुसार रन बनाउने शैली पनि बदलिएको छ। त्यस्तो शैली क्रिकेटको प्रशिक्षण निर्देशिकामा पाइँदैन। त्यस्तै एउटै शैलीलाई स्कुप भनिन्छ। श्रीलंकामा तिलकरत्ने दिलसानले निरन्तरको अभ्यासपछि अवलम्बन गरेको त्यो शैलीलाई कतिपय दिलस्कुप पनि भन्ने गर्छन्। यस्तो सटमा एउटा घुँडा टेकेर ब्याटलाई आकाशतिर फर्काउँदै बलमा छुवाइन्छ र बल विकेट किपरको शिरमाथि हुँदै सीमापारि जान्छ र चौका/छक्का बन्छ।

पहिले रन संख्या लेख्ने क्रममा स्कोर बुकमा रन नबनेको बलमा डट लेखिन्थ्यो। त्यसैले अहिले रन नबनेको बललाई डट बल भन्न थालिएको छ। अहिले भारतमा चलिरहेको आईपीएलको बाह्रौं शृंखलामा नेपालका सन्दीप लामिछानेले दोस्रोपटक अवसर पाएका छन्। सन्दीपको बलिङमा विविधता छ त्यसैले विकेट लिने बलरका रूपमा सन्दीप स्थापित हुँदैछन्। स्पिनरहरूको बाहुल्य रहेको भारतमा सन्दीप प्रारम्भिक दुई खेलमा धाक जमाउन सफल भएका छन्। अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा जति धेरै सन्दीपले खेल्न पाउँछन् त्यति निखारिने छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.