दुहबी गोल्डकपको उपाधि दाउफिन्सलाई
इटहरी : सुनसरीको दुहबीमा सम्पन्न तेस्रो मनमोहन दुहबी गोल्डकपको उपाधि क्यामरुनको दाउफिन्स क्लबले जितेको छ। शनिबार भएको फाइनलमा त्रिभुवन आर्मी क्लबलाई टाइब्रेकरमा ८–७ गोलले पराजित गर्दै दाउफिन्सले उपाधि जितेको हो।
निकै प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले खेलको निर्धारित र थपिएको समयमा पनि गोल गर्न सकेनन्। प्रतियोगिताभर एक गोल पनि नखाएको आर्मीका गोलकिपरले उत्कृष्ठ बचाउ गरे पनि टाइब्रेकरमा भने उनले दाउफिन्सलाई रोक्न सकेनन्। टाइब्रेकरमा दाउफिन्सका ओगोने जे आरले प्रहार गरेको बल गोलमा परिणत हुन सकेन। यस्तै आर्मीका कप्तान भरत खवास र विकेश खवासको बल बाहिरिएको थियो।
जितसँगै दाउफिन्सले नगद ६ लाख रुपैयाँ प्राप्त गर्यो। यस्तै उपविजेता आर्मीले तीन लाखमा चित्त बुझायो। यो वर्ष दाउफिन्सले जितेको यो पाँचौं उपाधि हो। यसअघि बुढासुब्बा, माइ भ्याली, मनकामना केबलकार र तिलोत्तमा गोल्डकपको उपाधि जितिसकेको छ।
आर्मीले यो वर्ष इटहरी गोल्डकप, झापा गोल्डकप र आहा रारा गोल्डकपसँगै आठ गोल्डकपको उपाधि चुमिसकेको छ। फाइनल खेलका म्यान अफ दी म्याच आर्मीका सुमन अर्याल घोषित भए। प्रतियोगिताको उत्कृष्ट खेलाडी आर्मीका सन्तोष तामाङ भए। यसैगरी फरवर्ड आर्मीका भरत खवास, डिफेन्स आर्मीकै विकास खवास, मिडफिल्ड दाउफिन्सका ओगोने जेआर, प्रशिक्षक दाउफिन्सका वाम्बा र राइजिङ प्लेयर आयोजक एलेभेन एरोज क्लबका शंकर चौधरी घोषित भए। प्रतियोगिताअवधिभर सर्वाधिक गोलकर्ताको उपाधि आर्मीका टेकबहादुर बुढाथोकीले जिते। उनले चार गोल गरे।
एलेभन एरोज क्लब र मनमोहन स्मृति प्रतिष्ठानद्वारा आयोजित गोल्डकपमा दुई विदेशीसहित आठ टोलीले प्रतिस्पर्धा गरेका थिए।