लोक स्टारको काठमाडाैं अडिसन : थरीथरीका प्रतिस्पर्धी
काठमाडौं : सिमसिम पानी परिरहेको थियो। त्यसमाथि चिसिएको मौसम। तर पनि नेपाल लोक स्टारको काठमाडौं अडिसनमा सहभागीको उत्साह हेर्नलायक थियो। ईपीएस स्कुलको प्रागंणमा भएको अडिसनमा कोही मादल बजाउँदै थिए त कोही लोक भाका गुनगुनाउँदै थिए।
यसैबीच हूलबाट एक दमदार आवाज गुञ्जियो। त्यो आवाज प्रतिमा अर्यालको थियो। उनी अडिसनमा सहभागीमध्ये एक थिइन्। लामो पर्खाइको कुनै परवाह नगरी उनी लगातार गाउँदै थिइन्। उनलाई बाँकी अन्य सहभागीले मादल बजाएर स्वरमा स्वर मिलाउँदै र नाच्दै साथ दिइरहेका थिए।
पहेँलो सारी र कालो स्वेटरमा आएकी प्रतिमा अडिसनकै लागि मकवानपुर हेटौंडाबाट आएकी थिइन्। उनले भनिन्, ‘अहिले दिदीको घरमा बसिरहेकी छु।’ कहिलेकाहीँ दोहोरी गाउने उनले छोरा र पतिको साथमा आएको बताइन्।
अडिसनमा शारीरिक रूपमा अशक्तको पनि सहभागिता बाक्लै थियो। निर्मला खाँण (२६) पनि तीमध्ये एक हुन्। हिँडडुल गर्न नसक्ने निर्मला ह्विल चियरमा थिइन्। स्याङ्जा निवासी उनले साथीको सहयोगमा अडिसन दिन आएको बताइन्। ६ वर्षअगाडि भएको एक दुर्घटनामा उनका दुवै खुट्टा फ्याक्चर भएका रहेछन्। तर गीत गाउने रहरले आफूलाई लोक स्टारको आँगनसम्म ल्याइपुर्याएको उनले बताइन्। भनिन्, ‘लोक स्टार बन्ने सपना छ।’ यस्तो प्रतियोगितामा पहिलो पटक सहभागी भएकाले उनी थोरै हडबडाएकी थिइन्। यद्यपि निर्णायकको अगाडि उनले ‘मनको बह’ र ‘लालुमाई’ बोलका दुई गीत मज्जाले गाइन्।
अडिसनमा १० वर्षका शुभदीप पाण्डे पनि थिए। उनी हातमा मादल समातेर बसेका थिए। तबला, पियानो, हार्मोनियम बजाउन मन पराउने उनी मादल पनि मज्जाले बजाउँदा रहेछन्। उनको लोक गीत प्रतिको मोह देखेर निर्णायक जयनन्द लामा निकै प्रभावित भए। लामाले उनलाई झ्याउरे र मादलको भाषासमेत सिकाइदिए। उनी भन्दै थिए, ‘नयाँ पुस्ताले पुराना बाजा र गोक गीतप्रति देखाएको मायाले नै हाम्रो संस्कृति जोगिने हो।’
शुभदीपजस्तै सानै उमेरकी सहभागी हुन्, श्रेया विमली। उनी नेपाली पोसाकमा सजिएकी थिइन्। आमाबुवासँगै आएकी श्रेया हरेक किसिमको गीत गाउनसक्ने बताउँछिन्। केही सहभागी अडिसनकै लागि भनेर आफ्नो मातृ पोसाकमा सजिएर आएका थिए। दीपिका बयम्बु मगर पनि तीमध्ये एक हुन्। उनी मगर पोसाकमा थिइन्। निकै मीठो गाउने दीपिका नवलपरासीकी बासिन्दा हुन्।
अर्कोतिर गुल्मीका अर्जुन बीसी (२९) लोक स्टारमा भाग लिनकै लागि नाम लेखाउँदै थिए। लोक गीत निकै रुचाउने अर्जुनले भने, ‘गाउनका लागि मनैदेखि उत्साहित छु।’ गहना बनाउने काम गर्दै आएका उनलाई पश्चिमी भाका मन पर्दो रहेछ। उनले आफूलाई मन पर्ने गीत यसरी सुनाए, ‘कामलाई घृणा गर्ने सधैं पछि पर्छन्, राम्रो सोचाइ हुनेहरू राम्रै काम गर्छन्।’
हुम्लाबाट आएका वीरेन्द्र बोहरा पनि भोकप्यास नभनी पालो कुर्दै थिए। उनले भने, ‘बिहान ५ बजे आएको हुँ।’ हाल गोदावरीमा बस्दै आएका उनले सानैदेखि गीत गाउँदै आएको बताए। ‘गाउँघरतिर रेडियोमा गीत बज्दा पनि मेरो ध्यान त्यतै मोडिन्छ’, उनले भने।
उनीजस्तै कृष्ण तामाङ पनि बिहानैदेखि पालो कुर्दै थिए। लमजुङ घर भएका कृष्णले चितवनबाट अडिसनकै लागि नाइट बसमा काठमाडौं आएको बताए। उनले भने, ‘राति २ बजे काठमाडौं आएपछि बिहान ६ बजे अडिसनमा आएको हुँ।’ ६ बजेदेखि आएका उनको दिउँसो १ बजेपछि पनि पालो आएको थिएन। गायन क्षेत्रमै काम गर्दै आएका उनले भविष्यमा अगाडि बढ्न लोक स्टारबाट धेरै आशा गरेको बताए।
आफ्नो पालो आउने पर्खाइमा थिइन्, मधु केसी। ग्वार्को ललितपुरमा बस्ने उनले क्लासिकल म्युजिक सिक्दै गरेको बताइन्। निर्णायकको अगाडि पुग्दा उनी केही डराएकी उनले आफ्नो प्रतिभा देखाइन्। सानैदेखि गीत गाउँदै आएकी उनले नारायण रायमाझी र बीनाकुमारी दुराका गीतबाट प्रभावित भएको बताइन्।
लोक स्टारको निर्णायकमध्येकी एक सुनिता दुलाल काठमाडौंबाट राम्रो प्रतिभा पाउनेमा ढुक्क थिइन्। शनिबार उनले कुनै पनि प्रतिस्पर्धीको गायकी सुन्नुपर्ने थिएन। पहिलो चरणको अडिसनमा अन्य निर्णायकबाट नै प्रतिभा छानिन्छ।
तर पनि सहभागीको प्रतिभालाई नजिकबाट नियाल्न उनी अडिसनसम्म पुगेकी थिइन्। उनले भनिन्, ‘बिहान मौसमले साथ नदेलाजस्तो भएको थियो तर दिउँसोसम्म देउडादेखि लोक गीत, आधुनिक, र्यापलगायत हरेक खालका गीत गाउन सक्ने प्रतिस्पर्धीको सहभागिता देख्दा खुसी छु।’ यस प्रतियोगितामा उनले गृहिणीको उच्च सहभागिता पाएको बताइन्। सहभागी सबै एकसेएक भएकाले निकै कडा प्रतिस्पर्धा हुने उनले बताइन्।
यसअघि सुदूरपश्चिम प्रदेशको धनगढी, कर्णालीको सुर्खेत, प्रदेश ५ को बुटवल र पोखरामा नेपाल लोक स्टारको अडिसन भइसकेको छ।
काठमाडौं अडिसनसम्म आइपुग्दा सहभागीको उत्साह बढेको नेपाल लोक स्टारका निर्देशकमध्ये एक एलिन श्रेष्ठले बताए। ‘शनिबार लगातार पानी परे पनि सहभागीमा कुनै कमी आएको छैन’, उनले भने। उनका अनुसार शनिबारको अडिसन ‘ओपन अडिसन’ भएको र सहभागीले फेरि मुख्य निर्णायकसमक्ष गीत सुनाउनु पर्छ। ओपन अडिसनमा छानिएका प्रतिस्पर्धीले मात्र मुख्य निर्णायकसमक्ष प्रतिभा देखाउन पाउने उनले बताए। भर्सटायल गायकलाई बढी प्राथमिकता दिइने पनि उनले बताए।