चतरामा एकमहिने अर्धकुम्भ मेला सुरु
इटहरी : सुनसरीको चतरामा एकमहिने पिण्डेश्वर अर्धकुम्भ मेला सुरू भएको छ। प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले मेलाको उद्घाटन गरेका हुन्। मेलाको उद्घाटन शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम थियो। तर खराब मौसमका कारण ओली नआएपछि मुख्यमन्त्री राईले उद्घाटन गरेका हुन्।
मुख्यमन्त्री राईले धार्मिक पर्यटनका रूपमा कुम्भ मेलालाई प्रदेश १ ले लिएको बताए। उनले आर्थिक समृद्धिका लागि धार्मिक मेलाहरू पनि उपयोगी हुने भएकाले प्रदेश सरकारले खुलेर सहयोग गरेको बताए। प्रदेश १ को विजयपुर, बुढासुब्बा, पिण्डेश्वर, बराहक्षेत्र र चतरालगायत क्षेत्र समेटेर विशेष धार्मिक सर्किट बनाउनेसमेत उनले बताए।
निरन्तर वर्षाबीच पनि शनिबार हजारौं भक्तजन चतरा पुगेका थिए। अर्धकुम्भ मेलाका लागि चैत २७, वैशाख ६, २१ र २४ गते विशेष स्नान कार्यक्रम राखिएकाले ती दिन विशेष चहलपहल हुने मेलाका महासचिव प्रल्हाद भट्टराईले बताए। शुक्रबार धरानको पिण्डेश्वर मन्दिरबाट कलशयात्रा गरिएको थियो। मेलाका संयोजकसमेत रहेका प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीका अनुसार मेला व्यवस्थापनको जिम्मा प्रदेश सरकारले लिएको छ। मेलामा नेपाल, भारत तथा विश्वभरिबाट लाखौं भक्तजन आउने अनुमान गरिएको छ।
कुम्भयात्रीको सहजताका लागि मेलास्थलमा हेल्प डेस्क स्थापना गरिएको छ भने नेपाल र भारतका डेबिट÷क्रेडिट कार्ड चल्ने मोबाइल एटीएमको व्यवस्था गरिएको मन्त्री कार्कीले बताए। अत्यधिक भीडका कारण नेटवर्क समस्या हुने हुँदा नेपाल टेलिकमले अस्थायी टावर र सुबिसु कम्पनीले निःशुल्क इन्टरनेटको व्यवस्था गरेका छन्। मेलामा २ सयभन्दा बढि विभिन्न स्टल राखिएका छन्।
२०७६ वैशाख २४ सम्म लाग्ने अर्धकुम्भ मेलाभरि चतरामा मदिरा र मासुजन्य वस्तुहरुको बिक्री वितरणमा रोक लगाइएको छ।
प्रदेश १ को विजयपुर, बुढासुब्बा, पिण्डेश्वर, बराहक्षेत्र र चतरालगायत क्षेत्र समेटेर विशेष धार्मिक सर्किट बनाइने।
पहिला जगतगुरु बालसन्त मोहनशरण देवाचार्यको सक्रियतामा नेपालमै पहिलो पटक चतरामा २०५९ सालमा पहिलो पिण्डेश्वर कुम्भमेला आयोजना भएको थियो। त्यसपछि २०६३ मा अर्धकुम्भ र २०७० मा दोस्रो पूर्णकुम्भ मेला आयोजना गरिएको थियो।
कुम्भले अन्तर्राष्ट्रीय पहिचान बनाएको बालसन्त देवाचार्यले बताए। उनका अनुसार चतरा तथा पिण्डेश्वर क्षेत्र देवता र दानव मिलेर समुद्र मन्थन गर्दा निस्किएको अमृत भएको ठाउँ भएकाले यो क्षेत्रमा हुने कुम्भलाई संसारभरिका विद्वत् वर्गलेसमेत आस्थापूर्वक हेर्छन्। कुम्भका बेला कोसीमा स्नान गरेर बराह र पिण्डेश्वरको दर्शन गरे पुण्य प्राप्त हुने विश्वास छ।