भेरी–बबई आयोजनाको सुरुङ सकियो
सुर्खेत : राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सन बहुउदेश्यीय आयोजनाको सुरुङ खन्ने काम सकिएको छ। तोकिएको मितिभन्दा एकवर्ष अगाडि नै सुरुङ खन्ने काम सकिएको हो। विशेष प्रविधियुक्त टनेल बोरिङ मेसिन (टीबीएम) मार्फत यो आयोजनाको सुरुङ निर्माण गरिएको हो।
सुरुङ खन्ने काम सकिएसँगै अब भेरी नदीको पानीलाई सुर्खेत र बर्दियाको सीमामा रहेको बबई नदीमा खसालेर विद्युत् उत्पादन र सिँचाइमा प्रयोग गर्ने काम थालिनेछ। चीनको चाइना ओभरसिज इन्जिनियरिङ ग्रुप कम्पनीले सिँचाइ विभागसँगको सम्झौता अवधि भन्दा एकवर्ष अगाडि नै सुरुङ निर्माण गरेको हो। सम्झौताअनुसार आउँदो वर्षको (२०७६) चैत १५ गतेसम्ममा सुरुङ निर्माणको काम सम्पन्न गर्नुपर्ने थियो।
आउँदो वैशाख ३ प्रधानमन्त्री केपी ओलीले सुर्खेतको भेरीगंगा नगरपालिकास्थित बाँध निर्माणस्थल चिप्लेमा सुरुङ खन्ने काम सम्पन्न भएको औपचारिक घोषणा गर्नेछन्। आयोजनाको बाँकी काम पनि समयमै सकिने अपेक्षा गरिएको छ। सुरुङ निर्माणको काम सकिएसँगै भेरीमा बाँध बाँध्ने र बबईमा विद्युत् उत्पादनका लागि आवश्यक प्रक्रिया सुरु गरिने आयोजनाले जनाएको छ।
चुरे क्षेत्रको पहाडमा १२ दशमलव २ किलोमिटर लामो सुरुङ खनिएको हो। अघिल्लो वर्ष (२०७४) कात्तिक २० बाट सुरुङ खन्ने काम सुरु गरिएको थियो। सुरुङ तयार भएसँगै अब बाँकी कामले पनि गति लिने आयोजनाका निर्देशक सञ्जिव बरालले बताए।
चुनौतिपूर्ण मानिएको सुरुङ निर्माणको काम सफल भएसँगै अब आयोजना समयमै बन्ने निश्चित भएको उनको दाबी छ। चिप्लेमा बाँध बनाएर सुरुङमार्फत प्रति सेकेण्ड ४० घनमिटर भेरीको पानी बबईमा खसाल्ने आयोजनाको लक्ष्य छ। बबईमा खसालिएको पानीबाट ४६ दशमलब आठ मेगावाट विद्युत् उत्पादन गरी राष्ट्रिय प्रशारण लाइनमा जोडिनेछ। यस्तै बबई नदीमा खसालिएको पानीबाट बाँके र बर्दियाको ५१ हजार हेक्टर खेतीयोग्य जग्गामा सिँचाइ सुविधा उपलब्ध गराउने लक्ष्यसमेत आयोजनाले लिएको छ। ‘सुरुङ निर्माणको काम सफल हुने–नहुने भन्ने आशंका थियो, त्यहीकारण पनि पहिलो चरणमा सुरुङ खन्ने काम सुरु गरेका थियौं’, आयोजनाका प्रशासन प्रमुख नृपजंग शाहीले भने, ‘जोखिम मानिएको काम सफल भयो, अब आयोजनाका अन्य काम पनि धमाधम अगाडि बढ्छन्।
बबईमा पावर हाउस र भेरी नदीको चिप्लेस्थित बाँध निर्माणको काममा लागि टेण्डरसमेत भइसकेको छ। पहिलो चरणमा सुरुङ निर्माण सम्पन्न भएपछि अब दोस्रो चरणमा विद्युत् उत्पादन गरेर राष्ट्रिय प्रशारणमा जोड्ने र तेस्रो चरणमा भेरीको पानीलाई सिँचाइमा प्रयोग गर्ने योजनासहित काम अगाडि बढिरहेको आयोजनाले जानकारी दिएको छ।
सिँचाइ विभाग र चीनको चाइना ओभरसिज इन्जिनियरिङ गु्रप कम्पनी (कोभेक) बीच सुरुङ निर्माणका लागि २०७१ माघ १५ गते ठेक्का सम्झौता भएको थियो। स्वदेशी लगानीमा नै निर्माण हुन लागेको यो आयोजनाको काम २०७१ बाट सुरु भएको हो। २०७१ चैत १९ गते तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले यो आयोजनाको शिलान्यास गरेका थिए।