आचरण बदल्न कारागारमा पुस्तकालय
सुर्खेत : कर्णालीका कारागारमा पुस्तकालय स्थापना गरिएको छ। कारगारबाटै कैदीलाई सुधार गर्न प्रदेशका सबै कागारमा पुस्तकालय स्थापना गरिएको हो। प्रहरी प्रमुख डीआईजी महेशविक्रम शाहको पहलमा सजायगृहका रूपमा नभई कारागारलाई सुधारगृहका रूपमा परिणत गराउन पुस्तकालय अभियान थालिएको हो।
प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले शनिबार सुर्खेत कारागारमा पुस्तकालय उद्घाटन गरेका हुन्। चार महिनादेखि प्रहरीले विभिन्न माध्यमबाट कैदीका लागि आवश्यक पुस्तक संकलन गर्दै आएको थियो।
करिब २१ लाख बराबरका ८ हजार तीन सयभन्दा बढी पुस्तक संकलन भएपछि सबै कारागारमा पुस्तकालय स्थापना गरिएको प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ। मुख्यमन्त्री शाहीले प्रहरीको यो अभियान समग्र देशकै लागि नमुना भएको बताए। ‘अपराधीलाई सजाय दिएर मात्रै सुधार गर्न सकिन्छ भन्ने हाम्रो मानसिकता छ, पहिलो पटक प्रदेश प्रहरीले यो मान्यतालाई तोड्न शिक्षाको बाटो अपनाएको छ’, शाहीले भने, ‘यो पक्कै पनि सजिलो काम होइन तर शिक्षाले नै जीवनको अन्धकार मेटाउने भएकाले कारागारबाट बाहिर निस्कँदा एक असल नागरिक बनाउन यो अभियानले महत्वपूर्ण योगदान दिनेछ।’ कर्णालीमा सफल भएमा अन्यत्र पनि यो अभियानलाई विस्तार गर्नुपर्ने र त्यसका लागि प्रदेश सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए।
वरिष्ठ साहित्यकारसमेत रहेका डीआईजी शाहले कैदीको जीवन सुधारका लागि मंसिरदेखि नै कारागारलाई किताब अभियान सुरु गरेका थिए। ‘मंसिरदेखि नै समिति बनाएर पुस्तकालय स्थापनाका लागि पुस्तक संकलन सुरु गरेका थियौं’, उनले भने, ‘अभियानका क्रममा ८ हजार तीन सय ८८ पुस्तक संकलन भए, तत्काललाई यतिबाटै पुस्तकालय सञ्चालनमा ल्याएका छौं। तर, अभियान भने निरन्तर रहनेछ।’
संकलित पुस्तकमध्ये प्रदेश प्रहरीको संलग्नतामा चार हजार दुई सय ८८ र जिल्लागत समितिबाट चार हजार एक सय ६ छन्। मंसिरदेखि सुरु भएको कारागारलाई किताब अभियानमा नौ लाख ६८ हजार ट सय ७५ रुपैयाँ बराबरको प्रदेश पुस्तकालयका लागि तथा जिल्ला कारागारका लागि ११ लाख ४० हजार एक सय ९७ रुपैयाँ बराबरका पुस्तक खरिद गरेको उनले बताए।
प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले कारागारलाई पुस्तक अभियानमा पुस्तक खरिदका लागि ५ लाख बराबरको आर्थिक सहयोगसमेत गरेको छ। पुस्तकालय स्थापना गरेर मात्रै केदीमा पुस्तक अध्ययनको संस्कृति स्थापित नहुने भन्दै प्रहरीले हरेक कारागारमा बुक क्लब गठन गरेको छ। डीआईजी शाहले भने, ‘गठन भएका ती क्लबमा हरेक शनिबार पुस्तक अध्ययन प्रतियोगिता र समीक्षा हुनेछ, साताभरि अध्ययन गरेका पुस्तकमाथि विचार विमर्श हुनेछ। त्यसमध्ये उत्कृष्ट अध्ययनकर्तालाई क्लबभित्रबाटै हाम्रो सहयोगमा पुरस्कृत गर्ने कार्यक्रम पनि समावेश गरेका छौं।’ कर्णालीमा प्रभावकारी भएसँगै यो अभियान अन्यत्र पनि विस्तार गरिनेछ।
कैदीसँग साहित्यकार
प्रहरीको पहलमा प्रदेशका सबै कारागारमा एकै पटक पुस्तकालय स्थापनासँगै कैदीसँग साहित्यकार अभियान पनि सुरु भएको छ। देशका विभिन्न चर्चित साहित्यकारले कर्णालीका कारागारमा रहेका कैदीसँग साक्षातकार अभियान पनि शनिबारदेखि नै थालनी गरिएको छ। साहित्यमार्फत कैदी जीवन भोगिरहेकाहरूलाई उज्यालो मार्गमा जीवन जिउने कला सिकाउन कैदीसँग साहित्यकार अभियान थालिएको प्रहरीले जनाएको छ।
केही जिल्लामा एउटा र केही जिल्लामा तीनवटा साहित्यकार तथा लेकखले कैदीसँग अन्तरक्रिया गर्नेछन्। पुस्तकालय स्थापनापछि कालिकोटमा पुगेका लेखक युग पाठकले ज्ञानले नै मानिसलाई शान्ति दिने बताए। उर्गेनको घोडा उपन्यास र माङगेना नेपाल मन्थन पुस्तकका लेखकसमेत रहेका पाठकले भने, ‘ज्ञानले मान्छेलाई विशिष्ट बनाउँछ, मानिस सेचत प्राणी भएकै ज्ञानले हो, तपाईंहरूलाइ पनि आफ्नो जीवन सुधार गर्ने मौका आएको छ। यसलाई सदुपयोग गरी आउने दिनमा एक उज्वल भविष्य निर्माण गर्नुहोस्।
यस क्रममा वरिष्ठ साहित्यकार सनत रेग्मी, वरिष्ठ उपन्यासकार एवं कथाकार नैनराज पाण्डे, कवि नवराज पराजुली शनिबार सुर्खेतको कारागारमा रहेका कैदीसँग छन्। निबन्धकार शेखर खरेल र उपन्यासकार तथा कथाकार कुमार नगरकोटी दैलेख कारागारमा रहेका कैदीसँग छन्। यस्तै, सल्यानमा उपन्यासकार उमा सुवेदी र रामलाल जोशी, रुकुम (पश्चिम)मा कथाकार राजेन्द्र पराजुली र निबन्धकार कुमारी लामा, जाजरकोटमा उपन्यासकार अर्चना थापा र सुविन भट्टराई, जुम्लामा उपन्यासकार सिवानीसिंह थारू र डोल्पामा उपन्यासकार तथा कथाकार अमर न्यौपाने कैदीसमक्ष छन्।