बेवारिस महिलाको उपचार सुरु

बेवारिस महिलाको उपचार सुरु

राजविराज : हात्तीको आक्रमणबाट घाइते भई जीवनमरणको संघारमा पुगेकी बेवारिस महिलाको उपचार सुरु भएको छ। ‘घाइते महिला अस्पतालमा बेवारिसे’ शीर्षका अन्नपूर्ण पोस्ट्मा समाचार प्रकाशन भएपछि उनको सघन उपचार सुरु भएको हो। हात र कम्मरमुनिको हड्डी भाँचिएर उपचार अभावमा छटपटाइरहेकी महिलाको हातमा स्टिल लगाइएको अस्पतालले जनाएको छ।

अर्थोपेडिक डा. ज्ञानेन्द्रकुमार झाको टोलीले राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा उनको दाहिने हातको सफल शल्यक्रिया गरी स्टिल लगाएको हो। उपचार टोलीमा मेडिकल अधिकृत डा. उदीत चौधरी, एनेस्थेसियाका डा. पारस साहलगायत संलग्न थिए। शल्यक्रिया र स्टिल जडान गर्न डिभिजन वन कार्यालय सप्तरीले १० हजार रुपैयाँ सहयोग गरेको डा. झाले बताए। हात्तीको आक्रमणमा परी घाइते महिलालाई सप्तरीको अग्निसाइर कृष्ण सवरन गाउँपालिका–१ बाट बेवारिसे अवस्थामा फेला पारी प्रहरीले फागुन ९ गते अस्पताल भर्ना गराएको थियो।

‘वन ऐन तथा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९’ अनुसार वन्यजन्तुको आक्रमणमा परी धनजनको क्षति भए क्षतिबापत तोकिएबमोजिम राहत दिनुपर्ने र उपचार गर्नुपर्नेमा वन कार्यालय, आरक्ष र जिल्ला प्रशासन कार्यालय बेखबर रहेको समाचार प्रकाशन भएपछि तत्कालै डिभिजन वन कार्यालयका प्रमुख धीरेन्द्रप्रसाद सिंहले १० हजार उपलब्ध गराएका हुन्। रकम अन्नपूर्ण पोस्ट्का प्रतिनिधिकै रोहवरमा रेन्जर लक्ष्मण साफीले अस्पताललाई हस्तान्तरण गरेका हुन्।

अन्नपूर्ण प्रतिनिधिको रोहवरमा डिभिजन वन कार्यालयले सहयोग रकम बुझाएको पत्र। 

अस्पतालले बेवारिस महिलाको मेरुदण्ड र कम्मरको एक्सरे निःशुल्क गरेको छ। उपचार तथा पुनःस्थापना केन्द्रले समेत उनको उपचार र उद्धारमा चासो देखाएका छन्। सरसफाइ र उचित स्याहारका लागि उनलाई आकस्मिक भवनबाट सर्जिकल वार्डमा सारिएको छ। नर्स र कर्मचारीले उनलाई नुहाइदिने, सफा लुगा लगाइदिने, कपाल कोर्ने, नङ काटिदिने गर्न थालेका छन्। पोषणयुक्त आहाराको कमीले कमजोर बन्दै गएकी महिलालाई अस्पतालले अन्डा, दूध तथा फलफूल उपलब्ध गराएको छ।

नाम, ठेगाना नखुलेकी महिला ठीक नभएसम्म उपचारसँगै मनोपरामर्श र पुनःस्थापना आवश्यक परेको अस्पतालमा आधारित एकद्वार संकट व्यवस्थापन केन्द्रले जनाएको छ। आफन्त कोही नभएकाले सम्बन्धित क्षेत्रमा कार्यरत संस्थाले स्याहारको जिम्मा लिएमा यातायातलगायत आवश्यक सहयोग गर्ने केन्द्रकी फोकल पर्सन मनीषा सिम्खडाले बताइन्। मानसिक अवस्था सामान्य नरहेकी र बोलेको पनि प्रस्ट नबुझिने महिलाको अभिभावकत्वको जिम्मेवारी कुनै स्थानीय निकाय वा अन्य संस्थाले लिए पुनःस्थापना केन्द्रमा पठाउन सकिने उनले बताइन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.