निर्माण व्यवसायीको चुनावमा प्रदेशसभा सदस्य, मेयरदेखि वडा अध्यक्षसम्म मतदाता !
सिरहा : जनप्रतिनिधिको काम के ? ‘जनताको सेवा कि ठेक्कापट्टा ?’ सिरहामा शनिबार देखिएको दृश्यले यो प्रश्नको जवाफ खोजेको छ। निर्माण व्यवसायी संघको चुनावमा प्रदेशसभा सदस्यदेखि वडाध्यक्षसम्म मतदाता बनेपछि जनप्रतिनिधिमााथि प्रश्न उठेको हो।
शनिबार भएको निर्माण व्यवसायीको चुनावमा नेकपाका प्रदेशसभा सदस्य अशोक यादव, प्रमोद यादव, गोलबजार नगरपालिकाका मेयर देवनाथ साह, सखुवानन्कारकट्टी गाउँपालिका अध्यक्ष केदार यादवले मतदान गरेका छन्।
प्रदेशसभा सदस्य, मेयर, गाउँपालिका अध्यक्ष मात्र होइन वडाध्यक्षसमेत निर्माण व्यवसायिको चुनावमा मतदान गर्न लाइनमै बसे। सत्तारुढ नेकपाबाट निर्वाचित लहान नगरपालिकाका ९ का वडाध्यक्ष प्रदीपकुमार चौधरी, वडा नम्बर १० वडाध्यक्ष मन्टीकुमार मण्डल, वडा नम्बर २० का वडाध्यक्ष गणेश चौधरीले निर्माण व्यवसायीको चुनावमा मतदान गरेका छन्।
सत्ता पक्षीय मात्र होइन प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसबाट निर्वाचित वडा नम्बर ६ का वडाध्यक्ष अरुण केसी, वडा नम्बर १९ का कन्हैया गुप्ताले समेत निर्माण व्यवसायीको चुनावमा मतदान गरे।
आफ्नो पार्टी निकटका व्यवसायीलाई जिताउन फोरमबाट निर्वाचित वडा नम्बर ७ का वडाध्यक्ष राकेश कुमार गुप्ताले पनि मतदान गरेका छन्। यो दृश्यले जनप्रतिनिधिका कार्यक्षेत्रमाथि नै प्रश्न उठाएको छ।
राय अध्यक्षमा निर्वाचित
यसरी जनप्रतिनिधिले मतदान गरेको निर्माण व्यवसायी संघ लहान सिरहाको अध्यक्षमा रासलाल राय निर्वाचित भएका छन्। उनी इस्लाम अलीलाई ४९ मतले पराजित गर्दै विजयी भएका हुन्। रायले १८१ र अलीले १३२ मत प्राप्त गरेका छन्।
उपाध्यक्षमा गोपाल राय, महासचिवमा नन्दकिशोर साह(मन्टुन), कोषाध्यक्षमा श्याम कुमार महतो र सदस्य दिपेनकुमार यादव राय प्यानलबाटै निर्वाचित भएका छन्।
अलीको प्यानलबाट सचिवमा विमल अधिकारी, सदस्य अशोक कुमार यादव, जितेन्द्र कुमार यादव, कृष्णप्रताप सिंह,रामेश्वर साह, वीरेन्द्रकुमार यादव निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत प्रशुराम निरौलाले जानकारी गराए।
अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष र ६ जना सदस्य गरी ११ पदाधिकारीका लागि निर्वाचन भएको थियो। ३३१ मतदाता रहेको निर्माण संघमा ३१५ मत खसेको थियो।