अनाथ बालबालिकाको आवास र शिक्षाका लागि जल्सा
स्याङ्जा : अनाथ र वेसाहारा मुस्लिम बालबालिकालाई गाँस, बास र शिक्षाको व्यवस्था गर्ने उदेश्यले स्याङ्जा सदरमुकाममा जल्सा (धार्मिक प्रवचन) गरिएको छ। शनिबार दिनभर र रातभर मुस्लिम समाजले पुतलीबजार नगरपालिका पहिलो पटक जल्साको आयोजना गरेका हुन्।
पुतलीबजार नगरपालिका- ३ स्थित बाडखोलामा आयोजित जल्सामा युके, भारत र नेपालका मौलाना (इस्लामी धर्मगुरु) ले प्रवचन दिएका छन्। 'एशियाकै प्रशिद्ध वाचक नुरानी मिया, भारतका अबुल हक्कानी, नेपालका शेरे नेपाल, जैसे मोहम्मद सिद्धिकी सिइकीजस्ता धर्म गुरुहरुले इस्लामी धर्म, सस्कृति र कर्मका बारेमा साक्षात्कार गराउनुका साथै आर्थिक संकलन गरिएको छ।
स्याङ्जा मुस्लिम समाजले जल्साबाट ५० लाख आम्दानी गर्ने २५ लाख खर्च गर्दै २५ लाख बचत गर्ने जनाएको छ।बचत रकमले विद्यालय (मदरसा) र छात्रावास निर्माण गरी झण्डै ३ सय बालबालिकालाई शिक्षा र आवासको बन्दोबस्त गरिने समाजले जनाएको छ।
हाल सो मदरसा ६५ विद्यार्थी क्षमताको छ। सुविधा सम्पन्न छात्रवाससहितको मदरसा निर्माणपछि स्थानीय स्तरमै गुरुहरु (आलिमहरु) उत्पादन गरिने समाजका अध्यक्ष शेर अलीले जानकारी दिए।
मुस्लिम बालबालिकालाई आफ्नो धर्म, संस्कार, संस्कृतीका बारेमा जानकारी गराउने र आलिम उत्पादन गर्ने उदेश्यले जल्साको आयोजना गरिएको हो।मदरसामा आलिम अझैं पनि बाहिरबाट ल्याउनुपर्ने वाध्यता रहेको समाजका सचिव शाह मोहम्मदले बताए।नगरपालिकामा पहिलो पटक आयोजना गरिएको जल्साबाट प्रभावित हुँदै हजारौं मुसलमानले स्वस्तफूर्तरुपमा नगद सहयोग गरेका छन्।
लक्ष्यभन्दा बढी आर्थिक संकलन भएको उपाध्यक्ष अलि मोहम्मदले जानकारी दिए। साँझ ६ बजेदेखि सुरु भएको सो धार्मिक प्रवचन बिहान ६ बजेसम्म निरन्तररुपमा चलिरहेको छ। झण्डै ८ हजार भन्दाबढी मुस्लिम समुदायका पुरुष, महिला, वृद्ध, जेष्ठ नागरिक तथा बालबालिकाले धार्मिक गुरुहरुको प्रवचन सुनेर रात कटाए।
स्याङ्जामा जल्सा आयोजना स्थल पुतलीबजार नगरपालिका- ३ स्थित बाडखोलालगायत सहिद चोक, गहते, राङ्खोला, फेदिखोला, सेतीदोभान, करुङ, भिरकोट, बयरघारी, जिङ्दी, वालिङ, गल्याङ, बिरुवा, बायाटारी, अर्जुनचौपारीलगायत गाउँ गाउँमा समेत मुस्लिम समुदायको वस्ती छ।