जनआन्दोलनका घाइतेलाई सिंहदरबारमा निषेध !
त्यो क्षण नन्दप्रसाद रुपाखेती नराम्ररी रन्थनिए ! जतिबेला सिंहदरबारका सुरक्षाकर्मीले भने,'तपाइँहरूलाई यहाँ प्रवेश अनुमती छैन'। १३ वर्षअघि गोंगबु चोकमा प्रहरीको लाठी नन्दप्रसादको टाउकोमा बजारिएको थियो। त्यतिबेलाको लाठीभन्दा यतिबेलाको वचनले उनलाई धेरै चोट पुर्यायो।
२०६३ वैशाख ७ गतेको कुरा हो। राजधानी चकमन्न थियो। सरकारले जारी गरेको कर्फ्युमा मानव अधिकारवादीको पनि बाहिर निस्कने हिम्मत थिएन। तर, नन्दप्रसाद टोली सडकमा निस्कियो। सडकमा खतरा थियो कि सिधै गोली हान्ने आदेश सुरक्षा निकायलाई दिइएको थियो। यस्तो अवस्थामा पनि नन्दप्रसादलाई ज्यानको डर थिएन। किनकी, उनी जनताको तर्फबाट जनआन्दोलनमा सहभागी थिए।
चर्चित गायक बद्री पङ्गेनीले जनवादी गीत गाइरहेका थिए। बद्रीपछि गाउँने पालो थियो, नन्दप्रसादको। उनले आफ्नो पालो कुरिरहेका थिए। एक्कासी प्रहरीले सभामा उपस्थित सबैलाई लाठी चार्ज गर्यो। सबै तितरवितर भए। आफ्नो टाउकोमा कतिपटक लाठी चार्ज भयो नन्दप्रसादलाई याद छैन। किनकी, टाउकोमा चार-पाँच लाठी बज्रिएपछि उनी बेहोस भइसकेका थिए।
अस्पताल कसले लग्यो नन्दप्रसादलाई थाहा छैन। होसमा आउँदा उनले आफूलाई विनायक अस्पतालमा पाए। त्यो बेला उनको उपचार महिनौंसम्म चल्यो। र, अहिले पनि चलिरहेको छ। आफ्नो ज्यानकै वास्ता नगरेर सत्तामा पुर्याएका नेताहरूले नै अहिले वास्ता नगरेपछि नन्दप्रसादलाई अत्याधिक पीडा बोध हुन्छ।
'हामीले आफ्नै ज्यानको माया मारेर सडकमा उत्रियौं र अंगभङ्ग भयौं, हामीले जनआन्दोलन नगरेकोभए अहिले यी नेताहरू कसरी सत्तामा पुग्थे?' नन्दप्रसाद प्रश्न गर्छन्,'अहिले म जस्ता जनआन्दोलनमा घाइतेलाई सिंहदरबारमा नै पस्न दिइँदैन, निशुल्क उपचारको त के कुरा गर्नु।'
जनआन्दोलनका बेला सुरक्षाकर्मीको लाठी प्रहारबाट नन्दप्रसादको टाउकोमा गम्भीर चोट लाग्यो। त्यतिबेला आफ्नो टाउकोमा २४ टाँका लगाउनु परेको उनी बताउँछन्। नन्दप्रसादले त्यो चोटको पीडा अहिले पनि बेहोरिरहेका छन्। नियमित औषधि खानुपर्ने एकातिर छ भने अर्कोतिर उत्तानो परेर सुत्न सक्दैनन्।
'डाक्टरले नसा च्यापिएको छ र त्यसको जतिसक्दो चाँडो अप्रेसन गर्नुपर्छ भनेका छन्। तर, मलाई आर्थिक अभावले गाँजेको छ। कसरी टाउकाको अप्रेसन गराउँनु?' नन्दप्रसाद भन्छन्,'दुखाइ कम गर्न औषधि खाइरहनु पर्छ। बरु त्यतिबेलै मरेको भए आनन्द हुन्थ्यो, बाँचेर पछुतो भएको छ।'
मेघराजको पीडा
जनआन्दोलनको सुरुवाती समय थियो । राजा विरोधी नाराले देशभरि फैलिसकेका थिए। यसबाट पोखरा अछुतो थिएन। ०६२ चैत्र २७ गते बिहानैबाट पोखराको लेखनाथमा आन्दोलनकारीको भिड जम्मा हुन थल्यो। दिउँसोतिर त्यो भिड मासमा परिणत भयो। त्यो मासको अघिल्तिर थिए, मेघराज आचार्य (५५)।
उहिलेको सन्दर्भमा खेतीपाती भएकै परिवारमा जन्मिएका मेघराज प्रहरी र आन्दोलनकारीबीच समन्वयनको भूमिकामा थिए। त्यो दिन पनि उनले प्रहरीसमक्ष गएर आन्दोलनकरीलाई कार्यक्रम गर्न दिनुपर्छ माग राख्दै आएका थिए। तर, अरुदिन झैं त्यो दिन सुखद् रहेन।
आन्दोलनकरीको भिड अनियन्त्रित हुने अवस्था आएपछि प्रहरीले गोली बल प्रयोग गर्न थाल्यो। अश्रुग्यासको पीडाले रन्थनिएका मेघराजको छातिमा गोली लाग्यो। केही समय उनलाई गोली लागेको थाहै भएन। तर, एकैछिनमा मेघराजले आफूलाई रगतले लत्पत्तिकएको पाए। उनलाई बेहोस हुनु अघिसम्मको पीडा याद छ।
मेघराजले पछि मात्र थाहा पाए। बेहोस भएपछि पनि उनीमाथि सुरक्षा निकायले लाठी प्रहार गरेछ, उनको शरीरमाथि मानिस दौडिएछन्। करिब ७ घण्टा उनी पाखामै बेवारिसे अवस्थामा सुतिरहेछन्। मानवअघिकारकार्मीले उनलाई त्यहाँबाट उठाएर अस्पताल पुर्या्एका रहेछन्।
'त्यो बेला सुरक्षाकर्मीको लाठी बजारिदा र आन्दोलनकारीले कुल्चिदा मेरो मेरुदण्ड नै भाँचियो, छातिमा लागेको गोलीले मुटुमा समस्या निम्याएको छ', मेघराज भन्छन्, 'तीन वर्षअघि नै डाक्टरले जतिखेर पनि ज्यान जान खक्छ भनिसका छन्।'
घटनापछि मेघराज ४ वर्ष अस्पतालमा बसे। तर, उनको ज्यान अझै पनि ठिक छैन। छातिको अप्रेसनको लागि डाक्टरले उनलाई भारतमा रिफर गरिसकेका छन्। आर्थिक संकटले मेघराजको अप्रेसन हुन सकेको छैन। यसअघि आफ्नो उपचारमा ६० लाख भन्दा खर्च भइसकेको उनको दाबी छ।
'नेपालमा मेरो छातिको अप्रेसन हुन सक्दो रहेनछ, भारतमा अप्रेसन गर्दा करिब २० लाख खर्च लाग्छ' विभिन्न सरकारका पालामा उपचार खर्च सहयोगको माग गरेको हुँ, झुलाउने काम मात्र भयो सहयोग पाइएन' मेघराज भन्छन्,'भएको अलिकति पुख्यौली सम्पती पनि गइसकेको छ, राज्यले निराशा बाहेक केही दिएन।'
रमेशको आँखा गुम्यो
रमेश राईको नजरमा कालो पर्दा छाएको छ! जनआन्दोलनपछिका दृष्य उनका आँखाले देख्न पाएनन्। अश्रुग्यासले ज्योती गुमाएका कारण। देशको लोकतन्त्र बचाउन रमेश आन्दोलनमा उत्रिए। तर, उनले आफ्नै आँखा बनाउन सकेनन्। जसको कारण उनको जीवनमा अनेक कठिनाइ देखा परे।
०६३ वैशाख ७ गतेको कुरा हो, रमेश गोगंबुस्थित जनसभामा सहभागी थिए। र्याली अगाडि बढिरहेको थियो। एक्कासी ढुङ्गामुडा हुनथाल्यो। प्रहरीले पनि त्यही अनुरुप अश्रुग्यास प्रहार गर्यो। अश्रुग्यासको गोली रमेशको आँखामै लाग्यो। र, उनी बेहोर भए। बेहोसीबाट उठ्न उनी विनायक अस्पतालमा थिए। आँखामा थियो धमिलो पर्दा। त्यो घटनाको सम्झना गर्दा रमेशको शरीर अहिलेपनि झस्किन्छ। जो घटनाले उनका आँखा सँधैका लागि बन्द गरायो।
घटनाअघि उनी ड्रइभर पेसामा थिए। ट्रिपर चालकको रुपमा। घटनापछि उनी केहीपनि काम गर्न नसक्ने अवस्थामा पुगेका छन्। कुनै काम नगर्दा उनको आर्थिक अवस्था पनि कमजोर भएको छ।
‘सरकारले दिएको जीवननिर्वाह भत्ताले कति पुग्नु?, आँखाको उपचार गहिरहनु पर्छ, औषधि नखाए सुन्निन थाल्छ। दुख्न पनि थाल्छ’ रमेश भन्छन्,‘व्यवस्था परिवर्तनका लागि आँखा नै गुमाइयो, अहिले आएर राज्यले तल्लो तहको कर्मचारीको जति पनि भत्ता दिँदैन।’
राज्यले आफू जस्ता जनआन्दोलनका घाइतेलाई सम्मान गरेर राख्नुपर्ने ठाउँमा अपमान गरेको रमेशको गुनासो छ। उनी भन्छन्,‘सरकारको इमान छ भने हामीलाई बाँच्न सक्ने अवस्था सिर्जना गर्नुपर्छ। इमान छैन भने के गर्नु हामीले पहिले पनि आफ्नो ज्यान जोखिममा राखेर लडेकै हौं अब पनि भोकै मर्न सक्छौं’
त्यो घाउ अहिलेपनि दुख्छ
जनआन्दोलनका अर्का घाइते हुन् आशीष नेपाल। २०६२ चैत्र २९ गेत सुरक्षाकर्मीले चलाएको गोली उनको पेटमा लागेको थियो। त्यसको पीडा आशिषले अहिलेसम्म खेपीरहेका छन्। त्यतिमात्र होइन, त्यतिबेलाको अश्रुग्यासले उनका आँखामा अहिले असर गरेको छ। उनी पूर्णरुपमा लेख्न सक्दैनन्।
'त्यो बेला गोलीले लगाएको घाउ अहिलेपनि दुख्छ, आम्दानीको गतिलो स्रोत छैन त्यसैले उपचार गर्न पनि सकिएको छैन' आशिष भन्छन्,'सत्तामा रहेका नेताहरूले हामीसँग भेट्न नै मान्दैनन्।'
आषिशलाई लागेको गोली र गोलीको घाउ
जनआन्दोलन कै बेला लागेको चोटका कारण आशीषको दायाँ हात राम्ररी चल्दैन। सुरुवाती समयमा विनायक अस्पतालमा उपचार गराएका उनलाई पछिल्लो समय सरकारले बेवास्ता गर्दै आएको छ। उनी लगायत जनआन्दोलतमा घाइते भएका पीडितले ०६५ सालमा अनसन बसेर परिचयपत्र प्रप्त गरेका थिए। जनआन्दोलनपछि १२ वटा प्रधानमन्त्री परिवर्त भएपछि आफूहरूलाई कसैले भेट नदिएको आशिषको गुनासो छ।
जनआन्दोलमा घाइते भएकाहरू एकजुट भएर 'ऐतिहासिक जनआन्दोलन घाइते पीडित समाज' गठनसमेत गरेका छन्। ०६६ सलमा दर्ता भएको यस संस्थाले घाइते पीडितको हक अधिकारका लागि आवाज उठाइरहेको अध्यक्ष खगेन्द्र ढकाल बताउँछन्। 'हामी पनि घाइते छौं। तर, हामीभन्दा गम्भीर रुपमा धेरै मानिस घाइते भएका छन्। उनीहरूको लागि राज्यले कुनैपनि काम गर्न सकेको छैन' उनी भन्छन्।