गोर्खाली ‘मिस्टर मध्यपुर’
भक्तपुर : द पावर एरोबिक्स एन्ड फिजिकल फिटनेसका गंगाराम गोर्खाली प्रथम मिस्टर मध्यपुर बनेका छन्। मध्यपुर शारीरिक सुगठन तथा फिटनेस समितिद्वारा आयोजित प्रतियोगिताको ६५ केजीभन्दा माथिको तौलसमूहका स्वर्ण पदक विजेता गोर्खालीले अन्य तीन तौलसमूहका स्वर्ण पदकधारीलाई पछि पारेका थिए। उपाधिसँगै उनले २५ हजार रुपैयाँ पुरस्कार हात पारे।
अल्टिमेट फिजिकल फिटनेसका नितेश श्रेष्ठ उपविजेता बन्दै २० हजार रुपैयाँ पुरस्कार पाए। उनी ६० केजी तौलसमूहको स्पर्धामा पहिलो भई ग्रान्ड फिनाले पुगेका थिए। उनले बेस्ट पोजरको उपाधि पनि जिते। ५५ केजी तौलसमूहका विजेता सुरेश श्रेष्ठ तेस्रो र ६५ केजी तौलसमूहका स्वर्ण पदकधारी योङजोर कार्की चौथो भए। मध्यपुर भीआर फिटनेसका श्रेष्ठ र अल्टिमेटका कार्कीले क्रमशः १५ हजार र १० हजार रुपैयाँ पुरस्कार पाए।
प्रतियोगिताका विजेतालगायतलाई मध्यपुर थिमी नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले पदक, सिल्ड र नगद पुरस्कार वितरण गरेका थिए। प्रतियोगितामा २३ जना शारीरिक सुगठनका खेलाडीहरूको सहभागिता रहेको आयोजक समितिका अध्यक्ष अशोक घजूले जानकारी दिए।