तीन दिनदेखि अवरुद्ध कर्णाली राजमार्ग खुल्यो
कालिकोट : शुक्रबार दिउसो आएको असिनासहित भारी वर्षाका कारण गगने खोलामा पहिरो जाँदा अवरुद्ध कर्णाली राजमार्ग सोमबार बिहानदेखि सञ्चालनमा आएको छ।
कर्णाली राजमार्गको जुम्ला सुर्खेत सडक खण्ड अन्तर्गत कालिकोट जिल्लाको शुभकालिका गाउँपालिकास्थित गगने खोलामा भारी वर्षाका कारण ठूलो पहिरो खस्दा शुक्रबार बेलुकादेखि अवरुद्ध कर्णाली राजमार्ग आइतबार रातभर तीन वटा डोजर लगाएर पहिरो पन्छाएपछि सोमबार बिहानदेखी सञ्चालनमा आएको हो।
गगने खोलाको भिरमा गएको पहिरो पन्छाउन नसकिँदा राजमार्ग तीन दिनसम्म अवरुद्ध बनेको थियो। गगने खोलामा वर्षेनी वर्षायाममा पहिरो खस्दा राजमार्ग अवरुद्ध हुँदै आएको छ। तर यो वर्ष भने चैतमै असिना पानीले गगनेको भीरमा पहिरो जाँदा सडक अबरुद्ध भएको छ। ठूलो चट्टानबाट फुट्ने पहिरोले राजमार्ग पूरै भत्काइदिएको छ। सडकको स्वरुप नै बिगारीदिएको छ।
सामान्य पानी पर्दा पनि पहिरो खस्ने गगने खोलामा पहिरोको स्थायी व्यवस्थापनका लागि सडक विभागले ध्यान नदिँदा कर्णाली राजमार्गमा संचालन हुने सवारी साधन तथा यात्रा गर्ने यात्रुहरूले सास्ती खेप्नु परेको छ।
गगने खोला आसपासको सडकदेखि दहिखोला बजार, कालेखोला बजार, जिते बजार र हुल्म बजारमा गाडीहरुको भीड लागेको थियो। सयौँ यात्रुहरूलाई तीन दिनसम्म सडकमा बस्नुपरेको थियो। लामो समयसम्म राजमार्ग खुल्न नसकेपछि कर्णाली राजमार्गमा सञ्चालन हुने सवारी साधनहरू, स्थानीय यात्रुहरू तथा कर्णाली प्रदेशकै चर्चित पर्यटकीय क्षेत्र रारा ताल जाने आन्तरिक पर्यटकहरू बीच बाटोमै अलपत्र परेका थिए। उनीहरूले स्थानीय जनप्रतिनिधिदेखि कर्णाली प्रदेशका मुख्यमन्त्रीसम्मको आलोचना गरेका थिए। कर्णालीको गेड वेय कालिकाट र त्यसमा पनि मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको गृह जिल्लामा सडकमा पहिरो खस्दा तीन दिनसम्म बन्नद हुनु दुर्भाग्य भएको यात्रुहरूको भनाइ थियो।
जिल्ला प्रहरी प्रमुख डीएसपी विनोद शर्माले आइतबार रातभर स्थानीय नागरिकका निजी तीन वटा डोजर लगाएर पहिरो पन्छाएपछि सोमबार बिहान ४ बजेदेखि कर्णाली राजमार्ग नियमित सञ्चालन भएको बताए।