मधेस किन डुब्छ ? किन उड्छ ?
कर्णालीको उराठभन्दा मधेसको ऊर्वर भूमि धेरै गतिलो हो। तर, किन मधेस पछि पर्यो, राज्यले केलाउनैपर्छ।
हरेक बर्खा मधेस डुब्छ। कहिले पूर्व मधेस। कहिले मध्य मधेस। कहिले पश्चिम मधेस। कहिले पूरै मधेस। गरिबका झुपडीका झिक्रे भित्ता पानीमा तैरिन्छन्। छ्वालीका छाना बगाएर नदीमा मिसिन्छन्। वर्षौंवर्ष थेग्दा–थेग्दा क्षमतावान् भए पनि कतिपय व्यक्ति जिउने संघर्षमा बाढीसँग पराजित हुन्छन्। बालबालिका, कमजोर महिला, बिरामी र वृद्धवृद्धा बेलामा भाग्न सक्दैनन्। तिनका मृत शरीर हिलोभित्र भेटिन्छन्।
नेपथ्यमा उद्धारकर्ताभन्दा पहिला कथित ‘दाता’ सल्बलाउँछन्। ठेक्कै आफूले लिएजस्तो दुनियाँसँग सहयोगको भीख माग्छन्। त्यसको केही अंशले बिस्कुटका पुरिया, चाउचाउका प्याकेट, मानो–मुठी चिउरा–मुराई बोकेर घटनास्थल पुग्छन्। पीडितसँग नारिएर फोटो खिच्छन्। अझ वीभत्स पीडालाई पृष्ठभूमि बनाएर सेल्फी लिन्छन्। र, सामाजिक सञ्जालमा पोस्टिन्छन्। त्यसैको लाइक–कमेन्टका भरमा धन्धा चलाउँछन्। फेरि कमाउन अर्को विपत्ति कुर्छन्।
सिंहदरबार हरेक वर्ष त्यसको रमिता हेर्छ। डुबानमा परेकालाई केही राहत दिन्छ। समाचार लेखाउँछ। प्रचार गराउँछ। बस, पुग्यो। हो, मधेस गहिरो भाग छ, डुब्छ। तर, के यसलाई जोगाउन सकिँदैन ? हरेक वर्ष डुबाउने, रुने, कराउने, हिउँद आउँछ बिर्सने गर्दैमा सकिन्छ त ? प्रश्न यो हो, जसको उत्तर कहिल्यै मिल्दैन। किनकि, वर्षौं पहिला डुबानमा परेका परिवार विस्थापित भई बिचल्लीको जिन्दगी जिइरहेका घटना धेरै जिल्लामा पाइन्छ।
यसपालि भने बर्खाको पूर्वाद्र्धमै मधेसले फरक एवं अकल्पनीय विपत्ति सामना गरेको छ। बारा–पर्साका करिब ८ गाउँमा अचम्मको उद्दण्ड हुरी आएको छ। हुरी हो भन्दा उडाएको मात्र छैन, उदिनेको पनि छ। भत्काएको छ। भाँचेको छ। हुरी, बाढी र भुइँचालो तीनोटैको स्वभाव एउटैमा देखिएको छ। ठूला–ठूला रूख उखेलिएका छन्। बाँसका घारी जरासहित पल्टिएका छन्। घरघरका इँटाका गारा भूकम्पले झैं लडेका छन्। कतिपय पक्की घरसमेत गल्र्यामगुर्लुम भएका छन्। बाराको पुरेनियामा एउटा पक्की घरको छत उडेर सडकपारि खेतमा पुगेको छ। १६ चक्के भारी गाडीसमेत उत्तानो परेका छन्। बिजुलीका खम्बा ढलेका छन्।
पीडितलाई वृत्तान्त खास थाहा छैन। ठूलो वर्षात्को साथमा गड्याङगुडुङपछि एकाएक के भयो, पत्तै भएन। एक मिनेटमा सर्वस्व भइसकेको थियो। अनुमानका आधारमा ‘टोर्नाडो’ (भुमरीयुक्त हुरी) भनिएको छ। नाम जे दिए पनि वा नदिए पनि क्षति वीभत्स छ। २८ जनाको मृत्यु, करिब ४ सय घाइते, ४ हजार घर ध्वस्त। यसले मधेस विपत्तिको फरक जोखिम बढेको भने पक्कै देखाएको छ।
अर्थात्, मधेस पहिला डुब्थ्यो, अब उड्न पनि थालेको छ। किन ? कसरी ? यस्ता प्रश्नको उत्तर धेरै भेटिएलान्। तैपनि मधेस जोखिममा पर्दै जानुको एउटा मुख्य कारण चुरे विनाश हो। चुरे देशको चुरो हो। मधेस र पहाडको संगम हो। पहाडलाई थेग्ने र मधेसलाई उचाइ दिने यही हो। यसमा भएको घना जंगल पानीको स्रोत बन्नुका साथै यसले वातावरण सन्तुलन गराइरहेको थियो। जब यसमा तीव्र अतिक्रमण भयो, प्राकृतिक विपत्ति बढ्दै गए। मधेस क्रमशः मरुभूमीकरण हुँदै गयो।
मधेस र उपल्ला पहाडलाई काठमाडौंसँगसँगै अघि लैजानुपर्छ। तब मात्र चेतनाको स्तर बढ्छ। दर्बिला संरचना बनाउने औकात हुन्छ। र, विपत्तिसँग मधेसले भिड्न सक्छ।
पूर्वराष्ट्रपति रामवरण यादवको चिन्ता यसैमा छ। केही महिनापहिला भेटमा उनले भने थे, ‘चुरेको व्यापक विनासले भविष्यमा ठूलो संकट निम्त्याउनेछ। पहाड बगाउनेछ र मधेसलाई पुर्नेछ।’ असामान्य, अस्वाभाविक एवं असोचनीय जलवायुको चरित्र मानवीय कारणको उपज हो। हाम्रो खाल्डो हामी आफैं खनिरहेका छौं। मधेस, पहाड र हिमालको पिरामिड शैलीय भौगोलिक बनावट नेपालको भाग्य हो। त्यही कारण यहाँ हिमालसमेत दर्बिला छन्। प्रकृतिले दिएको त्यस बलविरुद्ध शक्तिशाली हामी मानव जबदेखि पौंठेजोरी खेल्न थाल्यौं, आफ्नै लागि धराप थाप्न थाल्यौं।
चुरे त्यसकै गतिलो उदाहरण हो। यो कमलो माटो र नरम पत्रे चट्टानले बनेको छ। यसले इलामदेखि कञ्चनपुरसम्म ३३ जिल्लालाई छोएको छ। ६ राष्ट्रिय निकुञ्ज र आरक्षको भाग पनि चुरेमा पर्छन्। त्यति मात्र होइन, यसमा १३२ नदी र जलाधार क्षेत्र छन्। यो देशको ‘ग्रिन बेल्ट’ हो। पहाडबाट बगेर गएका खोला–नदी त्यही चुरेमा थेग्रिँदै–थेग्रिँदै मधेस पुग्थे। वन विनाससँग तिनले ढुंगा–माटो सोहोर्न थालेका छन्। फलतः मधेस पुरिने र डुबान हुने क्रम बढेको छ।
देशले यो किन देखेको छैन ?
भारतले विभिन्न नदीमा बाँधेका तटबन्धको मार पनि मधेसले नै खेप्नुपर्छ। हिउँदमा बाली सुकेर जान्छन्। बर्खामा घर–खेतमा बाढी पस्छ। चाहिँदा पाइँदैन, नचाहिँदा बिगार गर्ने गरी आइलाग्छ। गर्मी भूभाग भनिन्छ, तर शीतलहर सहन्छ मधेसले। आगलागीको जोखिम उत्तिकै छ। खासगरी आदिवासी समुदायका साना झुपडीमा आगो लागे गाउँ नै सखाप हुन्छन्। यो गरिबीले सिर्जना गरेको एउटा समस्या हो। त्यसको विकल्प भनेकै जीवनस्तरको सुधार हो।
तर, त्यो त्यति सजिलो छैन। आर्थिक अवस्था र मानव विकासमा पनि मधेस पछाडि छ। मूल मधेस प्रदेश २ हो। पछिल्लो सरकारी तथ्यांकअनुसार यस प्रदेशको औसत मानव विकास सूचकांक ०.४२० मात्र छ। जब कि काठमाडौंको ०.६३२, ललितपुरको ०.६०१ र भक्तपुरको ०.५७३ छ। प्रदेश २ मा अझै करिब २८ प्रतिशत जनसंख्या गरिबीको रेखामुनि छन्। वयस्क साक्षरता दर ४१ प्रतिशत मात्र छ।
मधेसले गरिबीसँगै अशिक्षाको भारी बोकिरहेको छ। शिक्षाका अवसरबाट यहाँका धेरै बालबालिका अझै वञ्चित छन्। भाषागत कठिनाइले पनि राज्यको मूलधारमा आउन तिनलाई हम्मे परिरहेको छ। भोजपुरी, मैथिली, अवधि आदि भाषा बोल्ने समथरका वासिन्दालाई संविधानमा के लेखिएको छ, कानुनमा के हुन्छ केही थाहा छैन। स्कुलमा पढाएको विद्यार्थीले बुझ्दैनन्। किनकि, पाठ्यपुस्तक कि नेपालीमा, कि अंग्रेजीमा हुन्छन्। मातृभाषाको पढाइ प्रभावकारी कार्यान्वयन हुन सकेको छैन।
अमेरिकाका मेरिल्यान्ड, भर्जिनिया, न्युयोर्कजस्ता राज्यमा नेपाली भाषाबाट सवारी चलाउने लाइसेन्सको परीक्षा दिन पाइन्छ। नेपालमा आफ्नै भूमिका आदिवासीहरू मूल भाषा बोल्न नसकेर पछाडि परिरहेका छन्। अस्पतालका डाक्टर तिनका भाषा बुझ्दैनन्। स्कुलमा विद्यार्थीले देशभरका नेपालीभाषीसँग प्रतिस्पर्धा गर्न सक्दैनन्। र, ‘कमजोर योग्यता’ को ट्याग पाउँछन्।
त्यही समस्या हटाउन संघीयता आयो। तर, यहाँका वासिन्दाले त्यसको अनुभूति गर्न पाएका छैनन्। बाराको ‘टोर्नाडो’ पीडितले हामीलाई आफ्ना कुरा राम्ररी सुनाउन सकेनन्। कारण– भाषा। भाषागत विविधता राष्ट्रको सुन्दरता हो। जहाँ जुन भाषीको बाहुल्य छ, त्यही भाषालाई कामकाजी बनाउन हिच्किचाउनु हुँदैन। चाहे त्यो स्कुलमा होस् वा अड्डामा। अनि मात्र मधेसले मूलधारमा प्रतिस्पर्धा गर्न सक्छ।
मधेस राजनीतिमा भने कमजोर छैन। नेता छन्। तर, अवसरमा सधैं तिनै छन्। मधेसका नामका आरक्षणमा तागतिला र शक्तिशालीकै लुछाचुँडी छ। गरिब मधेसी अधिकार माग्नै जान्दैनन्। राज्यसँग माग्न जाने ठाउँ चिन्दैनन्। तिनलाई डोर्याएर लैजाँदा आफ्नै भाग हरिन्छ भनेर अग्रगामी सहधर्मीहरू सकेसम्म एक्लै हिँड्छन्। कर्णालीको उराठभन्दा मधेसको ऊर्वर भूमि धेरै गतिलो हो। तर, किन मधेस पछि पर्यो, राज्यले केलाउनैपर्छ।
यसको सामाजिक, आर्थिक एवं राजनीतिक पाटो नियाल्नुपर्छ। मधेस र उपल्ला पहाडलाई काठमाडौंसँगसँगै अघि लैजानुपर्छ। तब मात्र चेतनाको स्तर बढ्छ। दर्बिला संरचना बनाउने औकात हुन्छ। र, विपत्तिसँग मधेसले भिड्न सक्छ।