मध्यपहाडी लोकमार्ग निर्माणमा ढिलासुस्ती
शेराफांट, नुवाकोट : मध्यपहाडी लोकमार्गको निर्माणमा ढिलाइ हुँदा सर्वसाधारण आक्रोशित भएका छन्।सडकमार्ग अन्र्तगत गंगटे-ढिकुरे सडकखण्ड समयमै निर्माण नहुँदा यात्रु सास्ती भोग्न विवश छन्।
यस सडक नेपालको पूर्वमा ताप्लेजुङदेखि पश्चिममा बैतडीको झुलाघाटसम्म १ हजार ७ सय ८६ किलोमिटरमध्ये नुवाकोटमा ६६ किलोमिटर पर्दछ। सडक निर्माण हुन थालेको दुई वर्ष भइसक्यो। तर, सडकमार्गमा पानी पर्दा हिलो र घाम लाग्दा धुलोले हिँडिनसक्नु भएको यात्रु रामधन ढकालले गुनासो गरे।
समयमै निर्माण नहुँदा पानी परेका बेला गंगटे-ढिकुरे सडकखण्डमा हिलोले गाडी तथा मोटरसाइकलको आवागमन ठप्प हुँदा यात्रीले निकै सास्ती पाउने गरेका छन्।गाडी तथा मोटरसाइकल घण्टौंसम्म जाममा फस्ने गरेको अर्का यात्रु लक्ष्मण लामिछानेले गुनासो गरे।
सिन्धुपाल्चोकबाट नुवाकोट प्रवेश गर्दा नुवाकोटका १३ गाउँलाई यस मार्गले छुन्छ। जिल्लामा तलाखु, लिखु, महाकाली, भद्रुटार, सुनखानी, थानापति, थानसिङ, सूर्यमति, खानीगाउँ, चारघरे, विदुर नगरपालिका, कल्याणपुर र सामरी हुँदै सडक निर्माण भइरहेको छ।
विदुर नपाको शेराफाँट, सामरी, थानसिङ, महाकाली, सूर्यमति र कल्याणपुर गाउंका केही स्थानमा सडक विस्तारको काम भइरहेको छ। तर, समयमै सडकको निर्माण नहुँदा गंगटे-ढिकुरे सडकखण्डमा यात्रुहरु जोखिमपूर्ण यात्रा गर्न वाध्य भएका छन्।
सडकको तत्काल जोखिम हटाउन वडा कार्यालय, नगरपालिका, निर्माण कम्पनी तथा सांसदसँग जानकारी गराउँदासमेत समाधान हुन सकेको छैन्। मध्यपहाडी लोकमार्ग आयोजना प्रभावित क्षेत्रका स्थानीयले गठन गरेको गंगटे ढिकुरे सडक संघर्ष समितिका नारायणप्रसाद अधिकारीले मध्यपहाडी लोकमार्गले जिल्लामा चहलपहल ल्याएको बताए।
फराकिला सडक निर्माण थालिएको देखेपछि साँघुरा सडकमा दैनिकी चलाई रहेका जिल्लावासीमा अब चाहि केही होला भन्ने आशा भने पलाएको छ। मध्यपहाडी लोकमार्गले आफ्नो सडक सीमा सडकको केन्द्रदेखि दायाँ २५ मिटर बायाँ २५ मिटर कायम गर्ने जनाइएको छ। तर, सडक १० मिटर चौडा मात्र निर्माण गरिने मध्यपहाडी लोकमार्ग आयोजनाले जनाएको छ ।
कार्यालयका अनुसार सरकारले यो लोकमार्गको सडक सीमा भविष्यमा राष्ट्रिय राजमार्गको अवधारणा अनुसार नै लैजान सक्छ । राष्ट्रिय राजमार्गको प्रावधान अनुसार सडकको केन्द्रबाट दायाँ बायाँ २५÷२५ मिटर छाडेर थप ६ मिटरमा पनि पक्की संरचना बनाउन पाइँदैन।
सडक विस्तारको क्रममा घर परेमा र पुल निर्माण हुने ठाउँमा भने क्षतिपूर्ति दिइन्छ। कतिपय ठाउँमा नयाँ ट्याक नै खोल्नु पर्ने भएको स्थानीय जमिन धेरै जानसक्ने आयोजनाको भनाई छ। स्थानीय विकास विरोधी नभए पनि सरकारले समयमै सडकको मुआब्जा दिएर जनताको सम्पत्तिमाथिको अधिकारको सम्मान गर्नुपर्ने स्थानीयको भनाई छ।
विदुर नपा-२ का वडाध्यक्ष वीरेन्द्रकुमार शाहीले मध्यपहाडी लोकमार्ग समयमा निर्माण सम्पन्न गराउन आफूले सम्बन्धित निर्माण कम्पनी तथा त्यसका इन्जिनियरलाई निर्देशन दिइसकेको बताए। उनीहरुले असार अगावै सो सडकमा ग्राभेल गरिसक्ने आश्वासन दिएको उनको भनाई छ।