रसुवागढी र सान्जेनको सेयर किन्न सबै मन्त्रीलाई आग्रह
काठमाडौं : जनताको जलविद्युत् कार्यक्रमा परेको रसुवागढी र सान्जेन जलविद्युत् कम्पनीमा लगानी गर्न ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री वर्षामान पुनले आग्रह गरेका छन्। ऊर्जा मन्त्रालयमा मंगलबार पत्रकार सम्मेलन गरेरै मन्त्री पुनले सबै मन्त्रीले कम्तिमा एक सय कित्ता (१० हजार रुपैयाँ) वा सो भन्दा बढीको शेयर खरिद गर्न आग्रह गरेका हुन्।
बैशाख ६ गतेबाट प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्ने यी दुई कम्पनी आकर्षक र जनताको लगानीमा परेको आयोजना भएकोले सबै मन्त्रीलाई सेयर लगानी गर्न मन्त्री पुनले आग्रह गरेका छन्। मन्त्री पुनले भने,‘यो आयोजनामा म आफैं भने एक हजार कित्ताको लागि आवेदन दिनेछु।’
दुबै कम्पनीले एक करोड ५७ लाख ३८ हजार १५० कित्ता अर्थात एक अर्ब ५७ करोड ३८ लाख १५ हजार रुपैयाँको आईपीओ एकैपटक निष्कासन गर्ने भएका छन्। दुबै जलविद्युत् आयोजनाले यही बैशाख ६ गतेबाट आईपीओ निष्कासन हुनेछ।
दुबै आयोजनाले एकैपटक सार्वजनिक सूचना जारी गरेर सर्वसाधारणबाट सेयर आवेदन माग गरेका हुन्। सान्जेन जलविद्युतमा माथिल्लो सान्जेन १४.८ मेगावाट र सान्जेन जलविद्युत् आयोजना ४२.५ मेगावाट रहेको छ। यो जलविद्युत् आयोजनाले न्युनतम ५० कित्ता र अधिकतम २ हजार कित्ताको लागि आवेदन माग गरेको छ। दरखास्तका साथ प्रति शेयर एक सय रुपैयाँका दरले पैसा बुझाउनुपर्ने छ।
यो आयोजनाले तीन अर्ब ६५ करोड रुपैयाँको चुक्ता पुँजीको १५ प्रतिशत मात्रै शेयर वापत संकलन गर्न लागेको हो। यो आयोजनाले ५४ लाख ७५ हजार कित्ता शेयर मध्ये पाँच प्रतिशत सामूहिक लगानी कोषका लागि र चार प्रतिशत कर्मचारीलाई छुट्याएर बाँकी ४९ लाख ८२ हजार २५० कित्ता शेयरको आईपीओ जारी गरेको हो।
यस्तै रसुवागढी पनि एक सय रुपैयाँकै शेयरलाई न्युनतम ५० देखि अधिकतम पाँच हजार कित्तासम्मको निम्ति आवेदन मागेको छ। यो जलविद्युत् आयोजनको ६ अर्ब ८४ करोड पुँजीमध्ये १५ प्रतिशतको दरले एक करोड दुई लाख ६३ हजार एकस ५० कित्ताको शेयर निष्कासन गरेको हो। यसले पनि चार प्रतिशत कर्मचारीलाई र पाँच प्रतिशत सामूहिक लगानी कोषका लागि छुट्टाएर बाँकी ९३ लाख ३९ हजार ४६७ कित्ता शेयरको आईपीओ निष्कासन गरेको हो। यो आयोजनाले एक सय ११ मेगावाटको जलविद्युत् आयोजना बनाइरहेको छ।