सिपी गजुरेल जनगणतान्त्रिक मोर्चाको अध्यक्ष चयन
काठमाडौं : देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालको प्रथम राष्ट्रिय सम्मेलनले सिपी गजुरेलको नेतृत्वमा ९५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ।
नेकपा (क्रान्तिकारी माओवादी)को वैधानिक मोर्चाको मंगलबार सम्पन्न सम्मेलनले गजुरेललाई फेरि अध्यक्ष चयन गरेको हो। मोर्चाको महासचिव परी थापा बनेका छन्। उपाध्यक्ष, सचिवलगायत अन्य पाँच पदाधिकारी भने नवनिर्वाचित केन्द्रीय समिति बैठकले टुंगो लगाउने छ।
२०७३ सालमा चुनाव उपयोग गर्ने नीति अनुरुप मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)ले यो मोर्चा बनाएको थियो। यही मोर्चाको नाममा वैद्य माओवादीले स्थानीय, प्रदेश र प्रतिनिधिसभाको चुनावमा सहभागीता जनाएको थियो। आइतबार वैद्यले उद्घाटन गरेको सम्मेलन मंगलबार सम्पन्न भएको हो।