असिनाले ४ करोडको इँटा नष्ट
मलंगवा : असिनापानीले सर्लाहीमा करिब साढे ४ करोड इँटा क्षति भएको छ। इँटा पानीले गलेर नष्ट भएको छ। सोमबार अबेर रातिदेखि मंगलबार बिहानसम्म परेको असिना र पानीले इँटा नष्ट भएको सर्लाही इँटा उद्योग व्यवसायी संघले जनाएको छ।
पकाउनका लागि तयारी अवस्थामा राखिएको इँटा गल्दा उद्योगीको बिचल्ली भएको संघका अध्यक्ष मेथुर चौधरीले बताएका छन्। जिल्लामा करिब ८० वटाभन्दा बढी इँटाभट्टा छन्। सबैको करिब करिब बराबरमै क्षति भएको छ। आफ्नो किसन इँटा उद्योग र शक्ति इँटा उद्योगमा १३ लाखभन्दा बढीको क्षति भएको छ। पकाउनका लागि सुकाएर राखिएको इँटा नष्ट भएको छ। ‘एउटा इँटा बनाउनदेखि लिएर सुकाउनसम्म दुई रुपैयाँ खर्च हुन्छ’, चौधरीले भने, ‘आफ्नो दुईवटा उद्योग मिलाएर १३ लाख इँटा नष्ट भएको छ। १३ लाख इँटा नष्ट हुदाँ करिब २६ लाखको क्षति भएको उनले बताएका छन्। ठूलो मात्रामा क्षति हुदाँ उद्योगीको बिचल्ली भएको छ। एक दुई हप्ता मात्र समय भएको भए सबै इँटा पाक्थ्यो। तर, प्रकृतिलाई कसले रोक्न सक्छ भन्दै उनले दुखेसो पोखे।
पकाउन तयारी अवस्थामा राखेको इँटा रातको समयमा असिना पर्दा सबै नष्ट भएको चन्दन इँटा उद्योगका सञ्चालक लाल बिहारी रायले बताए। करिब ५५ हजार इँटा गलेर नष्ट भएको छ। पानी पर्दा इँटा भट्टामा पकाउन बालिएको आगो निभ्दा आगो छेक्न बनाइएको छेकन समेत भत्केको छ। आगो निभ्दा अहिले भट्टा बन्द भएको छ। आगो निभ्दा भट्टाभित्र पकाउनका लागि राखिएको इँटासमेत अब राम्रोसँग पाक्दैन।
असिनासँगै लामो समय सम्म हुरीबतास र पानी परेपछि बढी क्षति भएको विकास इँटा उद्योगका सञ्चालक पप्पु यादवले बताए। दुईवटा उद्योग मिलाएर आफ्नो करिब ८ लाखभन्दा बढी इँटा गलेर नष्ट भएको छ। ‘काँचो इँटाको बिमा पनि गर्न मिल्दैन्’, यादवले भने, ‘इँटा गल्दा धेरै उद्योगीको उठिबास नै भएको छ।’ पाकेको भए लगानी उठ्थ्यो। तर, काँचोमा गल्दा मजदुर खर्च, जग्गा भाडा खर्च खेर गयो। बैंकसँग ऋण लिएर व्यवसाय गर्ने उद्योगीलार्ई यसवर्ष उपाय छैन। काम गरेपछि मजदुरलाई पैसा तिर्नैपर्छ। जग्गा भडा तिर्नैपर्छ।