व्यावसायिक बन्दै मौरीपालक कृषक
भोजपुर : पूर्वी पौवादुङ्मा गाउँपालिका–६, ठूलोदुम्माका भद्रसिंह राईको घरमा मौरीका ६ वटा घार छन्। रुखको डुँढ खोपी परम्परागत घार बनाएर मौरी पाल्न सुरु गरेको ७ वर्ष पुग्न लाग्यो। चिउरी प्रशस्त पाइने भएकाले पनि यहाँ मौरीपालन राम्रो हुन्छ। यहीँ चिउरीको फूलबाट भद्रसिंहले प्रतिघार चारदेखि पाँच केजी मह उत्पादन गर्छन्।
एकपटकमा २९ केजीसम्म मह काढ्ने राईले स्थानीय बजारमा प्रतिकेजी आठ सय रुपैयाँ र भोजपुर सदरमुकाम, तिवारीभञ्ज्याङ, लेगुवासम्म पु¥याउँदा प्रतिकेजी १२ सय रुपैयाँसम्म लिने गर्छन्। जाडोयामबाहेक अन्य मौसममा राईले डेढदेखि दुई महिनाको अन्तरालमा मह काढ्ने गर्छन्। एकपटकमा २५ हजार रुपैयाँसम्मको मह बेच्ने गरेको उनी सुनाउँछन्। ‘सिजनका बेला मौरीले मह राम्रै बनाउने हुँदा कमाई पनि राम्रै हुन्छ’, उनी भन्छन्, ‘विशेष गरी चैत वैशाखतिर चिउरी प्रशस्त फुल्ने भएकाले मौरीले मह पनि राम्रै बनाउँछ।’
गाउँमा चिउरी प्रशस्त फुल्ने भएपछि ठूलोदुम्माका अधिकांश घरधुरीले मौरी पालेका छन्। ठूलोदुम्माका प्रमुख आयस्रोत नै मौरीपालन हो। यहाँको मौरीको मह मिठो र माग पनि उच्च रहेको अर्का स्थानीय मौरीपालक रमेश राई सुनाउँछन्। उनी भन्छन्, ‘अन्य ठाउँभन्दा यहाँको मह प्रख्यात छ। मह बिक्रीबाट हुने आम्दानी गाउँलेको एकमात्र आयस्रोत हो। धेरैजसोले मह बेचेरै नुनभुटन धानेका छन्।’ ठूलोदुम्माका करिब तीन सय घरधुरीले मौरीपालन गरेका छन्।
मौरीपालनका लागि आधुनिक प्रविधिको ज्ञान, सीप र तालिम दिनसके किसानलाई मौरीपालनबाटै आत्मनिर्भर बनाउन सकिने च्याङ्ग्रेका अर्का मौरीपालक कृषक निरबहादुर फुँयाल जोड दिन्छन्। उनले भने, ‘हामी मौरीपालक किसानलाई व्यावसायिक ढंगबाट प्रोत्साहन गर्न गाउँपालिका, घरेलु तथा साना उद्योगलगायत सरोकारवाला निकायबाट अनुदानका साथै तालिम, प्रविधिको सुलभता दिनसके रोजगारी सिर्जना पनि हुनसक्थो। किसानले अन्य पेसा धानिरहनुपर्ने थिएन।’
गाउँपालिकाका च्याङ्ग्रे, वास्तिम, सानोदुम्मा र ठूलोदुम्माका ५० घरधुरीले मात्र व्यावसायिक मौरीपालन गर्दै आएका छन्। मौरीपालनलाई व्यावसायिक रूपमा विस्तार गर्न सके सिंगो गाउँपालिकालाई आर्थिकोपार्जनमा अब्बल बनाउन सकिने गाउँपालिका अध्यक्ष किरण राई सुनाउँछन्। ‘जनतालाई मौरीपालनमा व्यावसायिक बनाएर सिंगो गाउँपालिकालाई नै आयमूलक क्षेत्रबाट समृद्ध बनाउने हाम्रो लक्ष्य छ’, उनले भने।
मौरीपालनलाई व्यावसायिक बनाउने उद्देश्यले गाउँपालिकाले यही वर्ष ७५ प्रतिशत अनुदानमा गाउँपालिकाका वडा नं ३, ४, ५ र ६ बाट सिफारिसमा परेका ५० घरधुरीलाई प्रतिघरधुरी पाँचवटा घारका दरले दुई सय ५० वटा मौरीका घार अनुदानमा दिएको थियो। गाउँपालिकाका जनतालाई आयमूलक ढंगबाट मौरीपालनमा प्रोत्साहन गर्न गाउँपालिकाले घार उपलब्ध गराएको गाउँपालिकाका कृषि शाखा प्रमुख सरोज राईले बताए।
गाउँपालिकाले आफ्नो नीति तथा कार्यक्रमअन्तर्गत सात लाख ५० हजार र मौरीपालक किसानको २५ प्रतिशत लगानी गरी कुल १० लाख लगानीले गाउँपालिकाको ठूलोदुम्मामा एक सय दुई, सानोदुम्मामा २०, वास्तिममा ७५ र च्याङ्ग्रेमा ५३ गरी दुई सय ५० वटा मौरीका घार खरिद गरिएको जनाएको छ।