सचिव विहीन वडा कार्यालय, गाउँपालिकाको कामकाज प्रभावित

सचिव विहीन वडा कार्यालय, गाउँपालिकाको कामकाज प्रभावित

धादिङवेशी : कर्मचारी अभावका कारण उत्तरी धादिङको रुवीभ्याली गाउँपालिकाको कामकाज प्रभावित भएको छ। स्थानीय तहको निर्वाचन पछि एकजना वडा सचिवले ६ वटा वडाको काम गरिरहेको भएपनि कर्मचारी समायोजनमा बहालवाला सचिव समेत अन्तै सरुवा गएपछि रुवीभ्याली गाउँपालिकाका ६ वटै वडा सचिवविहीन भएका हुन्।

सचिव नहुँदा दैनिक काम काज संचालनमा समेत समस्या भएको छ भने वडाअध्यक्ष समेत सदरमुकाममा बसेर काम गर्न बाध्य भएका छन्। उत्तरी धादिङको सबैभन्दा विकट गाउँपालिका हो रुवीभ्याली गाउँपालिका। साविकको ३ वटा गाविस लापा, सेर्तुङ र तिप्लिङका लागि एउटै सचिवले मात्रै काम गरिरहेको अवस्थामा नयाँ संविधानले व्यवस्था गरेअनुसार लापा सेर्तुङ र तिप्लिङलाई समेटेर गाउँपालिका बनाइयो।

तत्कालिन तीन गाविसका एउटै मात्रै सचिव इन्द्रप्रसाद काफ्लेलाइ निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएर गाउँपालिकाको काम सुरु गरेपनि हालसम्म इन्द्रप्रसाद काफ्ले बाहेक अरु सचिव गाउँपालिकामा पुगेनन्।

बीचमा प्रशासकीय अधिृकतको रुपमा प्रेमप्रसाद पोखरेल र खेम खत्रीले काम गरेपनि उनीहरु छोटो समय काम गर्दै सरुवा हुँदै गए। ६ वटा वडाको लागि काफ्लेले मात्रै सचिवको जिम्मेवारी सम्हालिरहे पनि कर्मचारी समायोजनपश्चात काफ्ले पनि घरपायक गाउँपालिका रोजेर सरुवा भएपछि रुवीभ्याली गाउँपालिकाका सबै वडा कार्यालय सचिवविहीन बनेका हुन्।

गाउँगाउँमा सिंहदरवारको नारा दिएर भएको स्थानीय तहको निर्वाचन पछि पनि रुवीभ्याली गाउँपालिकाले सचिव पाएको छैन।६ वटा वडाका लागि एकजनामात्रै सचिव भएपछि गाउँपालिकाका सम्पर्क कार्यालय सदरमुकामबाट संचालन गर्न बाध्य भयो । अहिले पनि गाउँपालिका र वडा कार्यालयको काम सबै जिल्ला सदरमुकाम धादिङवेशीबाटै हुने गरेको छ। गाउँबाटै सेवा दिने भनेर स्थानीय तहको चुनाव गरिएपनि केही सेवा नपाएकोमा स्थानीय आक्रोशित भएका छन्।

५ नम्बर वडाका स्थानीय भीम तामाङले भने,'तेत्रो तामझाम गरेर चुनाव गरेको यही दुःख पाउनको लागि हो त? खै गाउँमा कर्मचारी? खै स्थानीयलाई सुविधा?'२५ जनाको दरबन्दी रहेको सिङगो गाउँपालिका २ जना लेखा शाखाका कर्मचारीहरु बाबुलाल नेगी र यादव निरौलाको भरमा संचालन भइरहेको छ। कर्मचारी समायोजन पछि प्रशासकीय अधिकृतको जिम्मेवारी तोकिएका धनेश्वर पौडेल पनि तालिममै रहेकाले बैशाख दोस्रो साताबाट मात्रै कार्यलय आउने छन्।

गाउँपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृत र वडा सचिवको जिम्मेवारी लेखापाल बाबुलाल नेगीलाई तोकिएको छ। निमित्त प्रमुख प्रशासकीय अधिकृत नेगीले भने, 'अरु कर्मचारी त परको कुरा भयो, ६ वटा वडाकf लागि एकजना पनि सचिव नहुँदा जनप्रतिनिधिलाई त समस्या परेको छ भने स्थानीय सेवाग्राहीले कत्ति समस्या भएको होला? भएको एकजना सचिव पनि कर्मचारी समायोजनमा अन्तै गएपछि गाउँपालिकाको बेहाल भएको छ।'

जन्मदर्ता, मृत्युदर्ता जस्ता पञ्जिकरणका कामहरु स्वास्थ चौकीका इन्चार्ज र लेखापालले गर्नुपरेको छ।गाउँपालिका अध्यक्ष र उपाध्यक्ष गाउँपालिकाको केन्द्र सेर्तुङमा नै बस्छन्। गाउँसभा, कार्यपालिका बैठक जस्ता नीतिगत काम मात्रै गाउँपालिकाको केन्द्रबाट हुने गरेको छ।

६ वटै वडाको दैनिक सेवाप्रवाहका र प्रशासनिक कामहरु जिल्ला सदरमुकामको सम्पर्क कार्यलयबाट मात्रै हुने गरेको छ। बडा अध्यक्ष पनि सचिव नपाएपछि सबैजसो सदरमुकाममै रहने गरेका छन्।गाउँपालिका अध्यक्ष चेरोङ तामाङले भने, 'कर्मचारी कै अभाव भएकाले गाउँगाउँको वडा कार्यालयबाट सेवा दिन सकेका छैनौँ। आएका कर्मचारी पनि छोटो समयमै जान्छन्, सरकारले नयाँ कर्मचारी पठाउन आलटाल गर्छ।'

कर्मचारी नहुँदा वडाअध्यक्षले वडा कार्यलयलाई झोलामै बोकेर संचालन गर्नु परेको छ। ५ नम्बर वडाका अध्यक्ष धिराज तामाङले भने, 'गाउँमा कार्यालय छ तर हामीले झोलामा बोकेर हिड्नुपर्ने अवस्था आएको छ। गाउँमा बसेर काम गर्न सचिव छैन, पञ्जिकरण गराउन सदरमुकाम आउनुपर्छ। योजनाहरु कार्यन्वयनको चरणमा छन्, बिल भुक्तानी, अनुगमन फछ्र्योट गर्नदेखि धेरै काममा बाधा भइरहेको छ।'


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.