रसुवा भन्सारबाट ७ महिनामा ७ अर्ब ५६ करोड राजश्व संकलन
रसुवागढी : विनाशकारी भूकम्पपछि खुल्ला रहेको एकमात्र उत्तरी नाका रसुवागढी भन्सार नाकाबाट चालु आर्थिक वर्षको ७ महिनाको अवधिमै अपेक्षित राजश्वको उपलब्धि हाँसिल भएको छ।
विनाशकारी भूकम्पपछि अस्तव्यस्त कार्यालय, भौगालिक कठिनाइ, र सडकको दुरावस्थाका बाबजुद पनि चालु आर्थिक वर्षको ५ महिना अगावै अपेक्षित राजश्व संकलन भएको हो। राजश्व संकलनको अवस्था असाध्यै राम्रो देखिएपनि बाटोको अवस्था खराब रहँदा आयात गर्ने व्यवसायीहरुले भने सास्ती खेप्दै आइरहेका छन्।
चालु आर्थिक वर्षका लागि रसुवा भन्सार कार्यालयलाई ७ अरब ६२ लाख ६४ हजार राजश्व तोकिएकोमा आर्थिक वर्षको ७ महिनाको अवधिमै (माघ महिनासम्म) ७ अरब ५६ करोड राजश्व संकलन भएको छ। संकलित उक्त रकम रसुवागढी भन्सार कार्यालयलाई दिएको राजश्व संकलनको वार्षिक लक्ष्यभन्दा ७ प्रतिशत बढी हो।
रसुवा भन्सार कार्यालय टिमुरेका प्रमुख भन्सार अधिकृत पुण्य विक्रम खड्काले भने, 'हामीले ७ महिनाको अवधिमै सरकारले तोकेको राजश्वको लक्ष्य हाँसिल गरिसकेका छौँ। यही अनुपातमा राजश्व संकलन भए आर्थिक वर्षको अन्त्यसम्ममा हामी सरकारले तोकेको लक्ष्य भन्दा दोब्बर संकलन गर्न सक्छौँ।'
रसुवागढीनाकाबाट आयात निर्यात सूचारु गर्ने वित्तिकै आएको विनाशकारी भूकम्पका कारण मितेरी पुलमा समेत क्षति पुर्याएपछि अहिले अस्थायी पुलको प्रयोग गरेर आयात निर्यात हुँदै आएको छ। चिनियाँ पक्षबाटै अहिले मितेरी पुलको पुननिर्माण सुरु भएको छ भने अस्थायी पुल राखेर आयात निर्यातको काम हुँदै आएको छ।
भूकम्पताका ३ जना कर्मचारी र भन्सार कार्यलय समेत गुमाएको रसुवा भन्सार कार्यलय भूकम्पपछि रसुवाकै टिमुरेबाट संचालनमा रहेको छ। भौगोलिक कठिनाइ, खोलाको किनारमा राखिएको अव्यवस्थित क्याड व्यवस्थापनलगायतका चुनौतीको सामना गरेर भनेपनि राजश्व संकलनमा भने राम्रो उपलब्धि हाँसिल भएको प्रमुख भन्सार अधिकृत खड्काले बताए।'हामी चुनौतीको चाङमाथि नै उभिएर काम गरिरहेका छौँ।'
कार्यालय संचालन भर्खर अधिग्रहण गरिएको घरबाट गरिएको छ। खोलाको किनारमा रहेका रहेको क्याड व्यवस्थापन र संचालन गर्न उत्तिकै कठिनाइ परिरहेको छ। नेपाल तर्फको बाटो कच्ची र जीर्ण रहेको छ।
भूकम्प पछि तातोपानी नाका बन्द रहेको अवस्थामा छिमेकी देश चिनसँग आयात निर्यातको कारोवार गर्नका लागि रसुवागढी नाकाको विकल्प छैन। असहज परिस्थिति हुँदाहुँदै पनि राजश्व संकलनको अवस्था राम्रो देखिएको छ। सडककै दुरावस्थाका कारण आयात गर्ने व्यवसायीहरुले भने सास्ती खेप्दै आइरहेका छन्। त्रिदेशीय मार्गको रुपमा बनाइँदै गरेको गल्छी-रसुवागढी सडकको स्तरउन्नति कार्य सुस्त गतिमा भइरहेको छ।
नेपाली सेनाले बनाएको बेत्रावती-मैलुङ-स्याफ्रुवेशी सडकको ट्रयाक भर्खरै खुलेपनि ठूला मालवाहक कन्टेनरको लागि बाटो अत्यान्तै जोखिमपूर्ण बनेको छ। भर्खरै खुलेको ट्रयाकमा अलिक जोडले हावाहुरी चल्दा समेत पहिरो खस्ने जोखिम रहेको छ। रसुवाको धुन्चे भएर गुड्ने सवारीका साधनले पनि बाटोकै कारण सास्ती खेप्दै आएका छन्।
उत्तरको रसुवागढी नाकालाई दक्षिणको भारतसँग जोड्नका लागि गल्छी, मलेखु भण्डारा हुँदै पर्साको ठोरी जोडेर चिन नेपाल र भारत जोड्ने सबैभन्दा छोटो बाटोको रुपमा विकास गर्न लागेको भएपनि सबै ठाउँमा सडक निर्माण कार्य भने कछुवा गतिमा भइरहेको छ।
रसुवागढी नाकाबाट हाल लत्ताकपडा, जुत्ता, चप्पल, आधारभुत घरायसी सामान, भूकम्प पछिको पुननिर्माणमा चाइना सरकारले प्रतिवद्धता जनाएअनुसारका पुननिर्माणका लागि तथा हाइड्रोपावरको संचरना निर्माणका लागि सामाग्रीको आयात हुँदै आइरहेको भन्सार अधिकृत खड्काले बताए।
उनले भने, 'प्राय त हामीले दैनिक प्रयोग गर्ने घरायसी सामानकै बढी आयात भएको देखिन्छ, पछिल्लो समय भूकम्प पछिको पुननिर्माणमा चाइना सरकारले गरेको सहयोगका भौतिक सामाग्री र रसुवा जिल्लामा बन्दै गरेका ठूला जलविद्युत आयोजनाका निर्माण सामाग्री पनि यही नाकाबाट आयात हुँदै आइरहेको छ।'