खेलकुदमा खाडल
आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता हुन सक्छ/सक्दैन भन्ने आशंकाबीच बुधबारदेखि पाँच खेल सुरु भएका छन्। घोषित हुँदै पटकपटक सरेपछि खेल क्षेत्र अन्योलमा थियो। यद्यपि यसको औपचारिक उद्घाटन भने वैशाखमा हुनेछ। अन्तर्राष्ट्रिय प्रचलनअनुसार स्क्वास, लनटेनिस, हकी, टेबुलटेनिसलगायत केही खेल उद्घाटन समारोहअघि सुरु भएका हुन्। विश्वका हरेक राष्ट्रले प्रतिभावान् खेलाडी उत्पादन गर्न नियमित राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्छन्।
राष्ट्रिय खेलकुदले नयाँ प्रतिभाको खोजी मात्र गर्दैन, भएका खेलाडीको क्षमता तिखार्न समेत मद्दत पुर्याउँछ। राष्ट्रिय प्रतियोगिताअघि तल्लो तहदेखि नै छनोट प्रतियोगिता आयोजना गरिन्छ। तल्लो तहका प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी क्रमशः छनोट चरण पार गर्दै मुख्य प्रतियोगितासम्म आइपुग्छन्। यसरी छनोट भएका खेलाडीले राष्ट्रिय स्तरमा चर्चित खेलाडीसँग प्रतिस्पर्धा गरेर क्षमता देखाउने अवसर पाउँछन्। आठौं खेलकुदमा पदकीय दृष्टिकोणले महत्त्वपूर्ण मानिएका ३५ खेल समावेश छन्। दुई हजार आठ सय २५ पुरुष र दुई हजार तीन सय ८६ महिला खेलाडीले प्रतिस्पर्धा गर्दै छन्।
राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई लामो समयसम्म प्रशिक्षणमा राखेर उनीहरूको सीप तिखारिन्छ। त्यसपछि ती खेलाडीलाई अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी गराइन्छ। त्यसैले नयाँनयाँ प्रतिभा खोजी गर्न राष्ट्रिय प्रतियोगिता महत्त्वपूर्ण माध्यम हो। बृहत् राष्ट्रिय प्रतियोगिता २०३८ देखि सुरु भएको हो। दुई/दुई वर्षमा हुने भनिएको यो प्रतियोगिता नियमित आयोजना भएको भए नेपाली खेलकुद यतिबेला १९औं संस्करणको तयारीमा व्यस्त हुनुपर्ने थियो। तर, हामी केवल आठौं संस्करण आयोजना गर्ने तरखरमा छौं। यो नेपाली खेल क्षेत्रको दुर्भाग्य हो।
खेल क्षेत्रमा हुने अनावश्यक राजनीतिक हस्तक्षेप, खेलकुदलाई अनुत्पादक क्षेत्रको रूपमा हेर्ने सरकारी दृष्टिकोण, आर्थिक अभाव, अदूरदर्शी खेल नेतृत्व र खेल पदाधिकारीको निहित स्वार्थ यसको प्रमुख कारण हो। तेस्रो राष्ट्रिय खेलकुद नियमित समयमै भएको थियो। त्यसपछि कुनै पनि संस्करण नियमित हुन सकेनन्। २०४२ मा तेस्रो खेलकुदको १३ वर्षपछि ०५५ मात्र चौथो संस्करण आयोजना भयो। चौथो र पाँचौं (०६५ साल) को बीचमा पनि १० वर्षको अन्तर रहन गयो। त्यसको तीन वर्षपछि ०६८ सालमा छैटौं र त्यसको पाँच वर्षपछि ०७३ सालमा सातौं संस्करण आयोजना भए। खासगरी देशमा ०४६ को परिवर्तनपछि राष्ट्रिय खेलकुदको कुनै पनि संस्करण समयमा नहुँदा प्रजातान्त्रिक सरकारहरूको खेलकुद क्षेत्रलाई हेर्ने दृष्टिकोणमाथि नै प्रश्न उठाउने गरिएको थियो।
राष्ट्रिय खेलकुद नियमित र समयमा हुन नसकेकै कारण क्षमतावान् खेलाडीको अभाव देखिन्छ। विगतमा जे भए पनि यतिबेला बृहत् राष्ट्रिय खेलकुद पुनः आफ्नो तालिकामा फर्किएको छ। सातौं खेलकुद भएको दुई वर्षपछि आठौं संस्करण आयोजना हुँदा यसले समग्र खेल क्षेत्रलाई उत्साही बनाएको छ। अबका दिनमा पनि बृहत् राष्ट्रिय खेलकुदले निरन्तरता पाउनुपर्छ। यति मात्र हुन सके हामी ठूला अन्तर्राष्ट्रिय प्रतियोगितामा आफ्ना खेलाडीबाट उपलब्धिमूलक प्रदर्शनको आशा गर्न सक्छौं।
खेल क्षेत्रले कम प्राथमिकता पाएको हाम्रोजस्तो देशमा बृहत् खेलकुदलाई भौतिक पूर्वाधार निर्माणसँग पनि जोडेर हेर्ने गरिन्छ। एक हिसाबले खेल क्षेत्रका लागि यो सकारात्मक हो। आठौं खेलकुदलाई सन् २०१९ मा नेपालमा आयोजना हुने भनिएको १३औं दक्षिण एसियाली खेलकुद (साग) का लागि खेलाडी छनोट गर्ने प्रतियोगिताका रूपमा पनि लिइएको छ। त्यसैले आठौं खेलकुदलाई विवादरहित सम्पन्न गर्नु अनि, सागजस्तो अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि दक्ष र क्षमतावान् खेलाडी छनोट गर्नु आयोजकका लागि अर्को चुनौती हो। पक्कै पनि बृहत् राष्ट्रिय खेलकुद श्राद्धमा बिरालो बाँध्ने संस्कारजस्तो औपचारिक पूरा गर्न मात्र प्रतियोगिता आयोजना गर्ने परम्परामा सीमित हुनु हुँदैन। यस्ता प्रतियोगिताले नयाँ प्रतिभा उत्पादन गर्दै अन्तर्राष्ट्रिय खेलवृत्तमा राष्ट्रको गौरव बढाउने खेलाडी तयार पार्न सक्नुपर्छ।