कक्टेलका रेसिपी
मान्छेका सोख पनि अनेक हुन्छन्। कोही यात्रा गर्न, देश विदेश घुम्न, गाडी किन्न, पुराना वस्तु संकलन गर्न रुचाउँछन्। त्यसमध्ये कसैको मदिरा सेवन गर्ने सोख हुन्छ। मदिरा पारखीको एउटा छुट्टै लहर छ। मदिरामा पनि कोही वियरमात्रै पिउने, कोही हार्ड ड्रिंक्समात्रै गर्ने पनि छन्। पछिल्लो समय कक्टेलका विभिन्न रेसिपीसँग रमाउने जमात ठूलो छ।
पछिल्लो समय विहेलगायत विभिन्न कार्यक्रममा गरिने कक्टेल पार्टीले पनि यसलाई अझ फराकिलो बनाएको छ। यो विस्तारै सहज बन्दै गएको छ। सहरिया उच्च र मध्यमवर्गको विहेभोज, पास्नी, न्वारन, तीजको दर सबैमा मदिरा चल्छ। कुनै बेला मदिरा र मदिरा सेवन गर्नेलाई हेयले हेर्ने समाज अहिले उदार बन्दै गएको छ। यसलाई प्रतिष्ठाको रूपमा पनि लिन थालिएको छ। यही सहजताले मदिरा सेवनमा फरक फरक शैली भित्रिएका छन्। त्यसैको एउटा उपज कक्टेल हो। अर्थात विभिन्न फरक फरक पेयपदार्थलाई मिसायर सेवन गर्नेे शैली। यो बार टेन्डरहरूले सिर्जना गरेको कला हो। मदिरा उद्योगले कक्टेल कहिल्यै उत्पादन गर्दैनन्। बार टेन्डरले एकआपसमा मदिरा मि श्रण गर्दा कक्टेल संस्कृति भित्रिएको हो। यो ठाउँअनुसार मदिरामा मिसाउने कुरा पनि फरकफरक छन्। जस्तो, नेपालमा रम जाडोमा तातोपानी, मह आदि मिसाएर र गर्मीमा कोक मिसाएर पिउने गरिन्छ। यो नेपालको मैलिक चलन हो। यस्तो चलन बाहिर भेटिन्न। कक्टेलका हजारौं रेसिपी छन्। तीमध्ये केही रेसिपीको विषयमा जानकारी दिने प्रयत्न यहाँ गरिएको छ।
मल्ड वाइन कक्टेल
यो कुनै पनि पार्टीका लागि उत्कृष्ट कक्टेल ड्रिंक्स हुन सक्छ। यो विशेषत पार्टी सुरु हुनुभन्दा अघि नै तयार पारी चिसोमा राखिएको हुन्छ। ता कि पार्टी सुरुभएसँगै त्यसलाई चिसोबाट झिकेर पाहुनाको स्वागत गर्न सकियोस्। यसका लागि सय ग्राम मुस्कोभाडो सुगर, एउटा दालचिनी र सुक्मेल, अलिकती सिनामुन स्टिक, एउटा ल्वाङ, कागती, सुन्तला, १५० एमएल कोइनट्रियू वाइन, ७५० एमएल लाइट रेड वाइन आवश्यक पर्छ।
लेमनसेलो
यो एउटा लेमन ड्रिंक्समात्रै हो। यो घरमै बनाएर खान सकिन्छ। विशेष गरी यसलाई आइसक्रिममा हालेर खाएको खण्डमा यसको स्वाद विशेष हुने उल्लेख गरिएको छ। यसका लागि पाँचवटा कागती, एक बोतल भोड्का, ७५० ग्राम कास्टर सुगर र सात सय एमएल उमालेको पानी आवश्यक पर्छ। यसका लागि एउटा ठूलो जारमा कागती निचोर्ने, त्यसमा भोड्का हाल्ने र त्यसलाई सात दिनसम्म छाडिदिने। प्रत्येक दिन उक्त जारलाई एक पटक हल्लाउन भने पर्छ। एक हप्तापछि तातोपानीमा कास्टर सुगर घुलाउने र त्यहाँ पहिले तयार पारेको कागती र भोड्कासँगै मिसाउने। त्यसलाई पनि एक दुई हप्तासम्म त्यसै छाडिदिने। त्यसपछि यसलाई सवेन गर्दा यसको स्वादमा जादु हुने उल्लेख गरिएको छ।
भोड्का एन्ड क्यानबेरी बल्स
यो विशेष गरी ठुल्ठूला पार्टीहरूमा प्रयोग गरिन्छ। यसका पारखी छुट्टै छन्। यो कक्टेल तयार पार्न २०० एमएल भोड्का र कोइनट्रियू वाइन, ६०० एमएल क्यानबेरी जुस, ४०० एमएल ओरेन्ज जुस, २–३ वटा कागतीको टुक्रा र आइस आवश्यक पर्छ।
रमबेरी पञ्च
यो रमको कक्टेल हो। यो धेरैजसो पार्टीमा प्रयोग गरिन्छ। यसका लागि ३५० एमएल डार्क रम, एक बोतल क्यानबेरी जुस र अदुवाको रस आवश्यक पर्छ। यसलाई मिसाएर आइस हाली यसको सेवन गर्न सकिन्छ।
मोजिटो मक्टेल
यो एउटा अल्कोहलरहित मक्टेल हो। जुन पार्टीमा अल्कोहल प्रयोग हुँदैन त्यस्ता पार्टीमा यसको विशेष प्रयोग हुन्छ। यो मक्टेलका लागि एक चम्चा चिनी, केही मात्रामा पुदिनाको पात, कागतीका तीनवटा काटेको पिस र सोडा वाटर आवश्यक पर्छ।
स्पाइस्ड वाइन
यो तपाईको पाहुँनालाई स्वागत गर्ने एउटा उत्कृष्ट परिकार हुन सक्छ। यसका लागि १०० ग्राम लाइट मुस्कोभाडो सुगर, दुई पिस सुन्तला, त्यसको बोक्राको सानो पिस, दुई पिस सिनामुन स्टिक, नेटमेग, एक लिटर लाइट रेड वाइन र काटिएका स्याउका टुक्रा आवश्यक पर्छ।