तराई बचाउन चुरे संरक्षण

तराई बचाउन चुरे संरक्षण

विकासका विभिन्न बहानामा चुुरे क्षेत्रको दोहन रोकिएन भने चुुरे त सकिन्छ नै, तराईलाई मरुभूमिबाट बचाउने हामीसँग कुुनै सामर्थ्य हुुनेछैन।


जलवायु परिवर्तन र विश्वव्यापी तापक्रममा भइरहेको वृद्धिका पछाडि कुनै एउटा देशको मात्र नभई थोरबहुत सबै मुलुकको योगदान छ। तर, हामीजस्ता हिमाली मुलुकले त्यसको बढी असर भोग्नुपरेको छ। यो क्रम आगामी दिनमा बढ्दै जाने निश्चितप्राय: छ।

वातावरण बचाउँदै देशलाई कसरी विकासतर्फ अघि बढाउने भन्नेमा हामीले खासै ध्यान दिएका छैनौं। विश्वव्यापी र हाम्रो आफ्नै कारणले जलवायु परिवर्तनमा असर परिरहेको छ। हाम्रो भूगोलको विविधता छ—हिमाल, पहाड र तराईमधेस। चुरे क्षेत्रको इतिहास पाँच करोड वर्ष पुरानो भएको मानिन्छ।

तराईमा गर्मी अत्यधिक बढ्दै गएको छ। गत वर्ष भैरहवामा ४४ डिग्री तापक्रम थियो। जनकपुरमै ४२ डिग्री थियो। काठमाडौंमा ५५ वर्षअघि पढ्न आउँदा हरियाली थियो। वागमती र विष्णुमतीमा कञ्चन पानी बग्थ्यो। अहिले हेर्दा सपनाजस्तो लाग्छ। चुरे क्षेत्रमा बाक्लो जंगल थियो। दुर्लभ भनिएका बन्यजन्तु चुरे क्षेत्रमा पाइन्थे। म १० सालदेखिको कुरा गर्दैछु, चुरेमुनि तराईमा चारकोसे झाडी थियो।

जनकपुरभन्दा १० किलोमिटर टाढा छ मेरो घर। मेरो काका गाईबस्तुसहित ६ महिना चारकोसे झाडीनजिकै बस्नुहुन्थ्यो। वर्षा सकिएपछि मात्र घर फर्किनुहुन्थ्यो। पानीको समस्या हुँदैनथ्यो। अहिले अतिवृष्टि, अनावृष्टि, खडेरी, डढेलो त अहिले सामान्य भइसक्यो। केही दिनअघि बारा र पर्सामा हावाहुण्डरी चल्यो। यस्तो खालको हुण्डरी चलेको पहिलोपटक सुनेको हो। किनकि त्यतिबेला घनाजंगल हुन्थ्यो। बस्तीवरिपरी पनि रुख हुन्थे। मेरो घरको पश्चिमतर्फ झन्डै एक सय बिघामा आँपको गाछी थियो। उत्तर र पश्चिम दिशामा बढी रुख लगाउँथे। सायद हावाहुरी त्यही दिशाबाट आउँछ भनेर पनि होला तर अहिले जता हेर्‍यो बस्ती मात्र, जंगल देख्नै पाइन्न।

सानैदेखि राजनीतिमा सक्रिय भएँ। राजनीति गर्दै जाँदा एक दिन शीर्ष पदमा पुग्छु भन्ने लागेको थियो। तर राष्ट्रपति हुन्छु भन्ने सोचेको थिइनँ। राष्ट्रपति भइसकेपछि केही काम गर्नुपर्छ भन्ने लाग्यो, ताकि भावी पुस्ताले पनि त्यो काम सम्झियोस्।

म आफू जीवविज्ञानको विद्यार्थी भएकाले वातावरणका क्षेत्रमा काम गर्ने अभिरुचि थियो। पछिल्ला दशक जलवायु परिवर्तनका कारण विश्वव्यापी तापमानमा वृद्धि भइरहेको छ। यसले कुनै एक देशमात्र नभएर सारा विश्वलाई संकटमा धकेल्दैछ। जलवायु परिवर्तनमा हाम्रोजस्तो सानो मुलुकको खासै योगदान नरहे पनि यसको असर नेपालले भोग्नुपरेको यथार्थ हो। यस्तो अवस्थामा नेपालले ठोस काम गर्नुपर्छ। म सानो हुँदा तराई साँच्चिकै स्वर्गजस्तो थियो। जता हेरे पनि हरियाली, घनाजंगल थियो। पछि पूर्वपश्चिम राजमार्ग बन्यो। चारकोसे झाडीको बीचबाटै। त्यसले तराईको ठूलो संख्यामा रहेको बन मास्ने काम भयो। राजमार्ग निर्माणसँगै बस्ती बसाल्ने काम भयो। त्यसले पनि बन मासिने क्रम रोकिएन।

चुरेमाथि अतिक्रमण सुरु भयो। यसले विस्तारै तराईमा पानीको समस्या देखिन थाल्यो। मेरो गाउँमै पानीको समस्या छ। चुरे विनाशले तराईमा बाढी र डुबानको समस्या बढ्दै गएको छ। महाभारत र चुरेको फेदबाट १६८ नदी र खोला बग्छन्। ती सबै बालुवा लिएरै तल जान्छन्। यसकारण मैले चुरे संरक्षणमा जोड दिएको हुँ। चुरे र तराईको भूभाग करिब ३० प्रतिशत छ। तराईमा करिब ५१ प्रतिशत बसोबास छ। चुरेसहित ६० प्रतिशत बस्ती र जमिनको भविष्य बचाउन पनि चुरे संरक्षण अत्यावश्यक छ।

मैले वनस्पति विज्ञ डा. तीर्थबहादुर श्रेष्ठको लेख पढेको थिएँ, राष्ट्रपति भएकै बेलामा। उहाँका अनुसार भूमध्यरेखादेखि साइबेरियासम्म जति प्रकारको जीवजन्तु, मौसम, बनस्पति, पशुपन्क्षी छन्, हाम्रो मुलुकको अढाइ सयदेखि तीन सय किलोमिटरको भूभाग (दक्षिण भारतको सीमादेखि उत्तर चीनको सीमा) सम्म यी सबै चिज पाइन्छ। प्रकृतिले हामीलाई ०.०२ प्रतिशत मात्र भूगोल दिए पनि प्राकृतिक स्रोतका रूपमा अथाह सम्पत्ति उपहारस्वरूप हामीले पाएका छौं।

जनमत संग्रहका बेला जंगल फडानीलाई छुट दिइयो। पञ्चायती व्यवस्था जोगाउन र बहुदल पराजित गर्न तत्कालीन सरकारले यस्तो निर्णय गरेको थियो। त्यसपछि पनि विभिन्न नाममा चुरे क्षेत्र र तराईको बन फडानी रोकिएको छैन। प्राकृतिक सम्पदामाथिको दोहन झनै व्यापक बन्दै गएको छ। यो मेरा लागि चिन्ताको विषय हो।

प्रकृतिको संरक्षण गर्नेभन्दा पनि पैसा कमाउने नाममा त्यसको दोहन बढेको छ। पछिल्लो समय सामुदायिक बन संरक्षण गर्ने क्रम पहाडमा देखिएको छ। यसले केही हदसम्म बन संरक्षणमा टेवा पुर्‍याएको भए पनि तराईमा अवस्था डरलाग्दो छ। तराईको आधा जंगल पञ्चायतकालमै सखाप पारियो। २०४६ को राजनीतिक परिवर्तनपछि दुई वर्ष जति कांग्रेस र तत्कालीन नेकपा एमालेको झन्डा राखेर राजमार्गभन्दा माथि रुख काटियो। विसं. २०४८ देखि २०५१ सम्म रुख कटानीलाई केही हदसम्म नियन्त्रण गरियो। त्यसपछि सरकार गठन÷विघटन हुने क्रम चलिरह्यो। यो क्रम २०६३ सालसम्म कायमै रह्यो। यस बीचमा तस्करका नाममा ठूलो मात्रामा जंगल मास्ने काम भयो। त्यसपछि तत्कालीन नेकपा माओवादीका लडाकुका शिविर तिनै चुरे क्षेत्रमा राखियो।

यसरी चुरे क्षेत्र र तराईको चारकोसे झाडीमा कटानी नरोकिएपछि म राष्ट्रपति भएको बेला चुरे बचाउन अभियान चलाउने योजना बनाएँ। तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल, अर्थमन्त्री सुरेन्द्र पाण्डे र बन मन्त्रालयका अधिकारीसँगको छलफलपछि चुरे क्षेत्रको संरक्षणका लागि संस्था बनायौं। त्यसको २० वर्षे गुरुयोजना बनिसकेको थियो तर विडम्बना अहिले त्यो त्यत्तिकै थन्किएको छ।

तराई विस्तारै मरुभूमि बन्ने खतरा बढ्दै गएको छ। स्वर्गजस्तो तराईलाई जोगाउने हो भने चुरेको संरक्षण अनिवार्य र अपरिहार्य छ भन्ने सोचेरै मैले चुरे संरक्षणमा जोड दिएको हुँ। पञ्चायतमा तराईको चारकोसे झाडी मासिने गरी पूर्वपश्चिम राजमार्ग बनाइयो। राजमार्गवरिपरि अनियन्त्रित बसाइ बस्यो। त्यसले चुरेमा चरम दोहन भयो। यसले तराईमा पानीको अभाव भएको छ। पानीका मुहान सुक्दै गएका छन्। इनार, पोखरी र ताल सुक्ने क्रम जारी छ।

म जलवायु विज्ञ त होइन तर विगतमा राजनीति गर्ने क्रममा मुलुकका सबै जिल्लामा पुगें। मेरै जीवनकालमा जलवायु परिवर्तन र यसको प्रभावका बारेमा धेरै परिवर्तन भएको देखेको छु। भोगेको छु। काठमाडौं अरब मुलुकजस्तै कंक्रिट जस्तै बनिसकेको छ। जताततै बस्तीमात्र छ।

जापानमा गर्मीले मान्छे मरेको कहिल्यै सुनेको थिइन, तर अहिले यस्तो समाचार आउन थालेको छ। क्यानडा, फ्रान्स र अस्ट्रेलियामा गर्मी बढ्दो छ। हिउँ पग्लिने क्रम बढ्दो छ भनेर विज्ञहरूले भनिरहेका छन्। आइल्यान्ड मुलुकहरू २०/२५ वर्षमा समुद्रमा बिलाउने अध्ययनले देखाएको छ। विश्वव्यापीरूपमा अहिले देखिएको जलवायु परिवर्तनका घटनाप्रति संवेदनशील बन्न ढिलाइ गर्नुहुन्न।

नेपाल जलवायु परिवर्तनको विश्वव्यापी प्रकोपबाट टाढा रहन सक्दैन। यसका प्रभाव नेपालमा पर्न थालेका छन्। हामीले जलवायु परिवर्तनमा भइरहेको प्रभाव र असरका बारेमा अन्तर्राष्ट्रिय जगतलाई झक्झक्याउनुपर्छ। तर हामीले यसलाई न्यूनीकरण गर्न कुनै पहल गरेको देखिन्न। प्रकृतिले दिएको एउटा सुन्दर उपहार नेपाललाई बचाउन र भावी पुस्तालाई सुन्दर नेपाल हस्तान्तरण गर्नुपर्ने अहिलेको प्रमुख जिम्मेवारी हो। तर यो काममा हामी संवेदनशील भएर जिम्मेवारीका साथ लागेको मैले पाइनँ। यो चिन्ताको विषय हो।

चुरे संरक्षणमा सरकार पनि संवदेनशील देखिँदैन। अहिले त तीन तहका सरकार छन्। सबैले आआफ्नो ठाउँबाट चुरे संरक्षणमा पहल गर्ने हो भने काम प्रभावकारी हुन्छ। इसिमोडको अध्ययन अनुसार मध्यपहाडी र चुरे क्षेत्रमा पचास प्रतिशतभन्दा बढी पानीका मुहान सुकिसकेका छन्। तर पनि चुरेको दोहन रोकिएको छैन। अनियन्त्रित रूपमा दोहन भइरहेको छ।

जुन भूमिमा जन्मेर म यो देशको राष्ट्रपति बनें तर आज जिन्दगीको उत्तराद्र्धमा पुग्दा त्यो भूमि मरुभूमि बन्न सक्छ भनेर अध्ययनले भन्दा निकै दु:ख लाग्छ।

पहाडमा मध्यपहाडी लोकराजमार्ग बनिरहेको छ। चुरे भएर मदन भण्डारी राजमार्ग बन्ने सुनिएको छ। महेन्द्र राजमार्ग ६ लेनको बनाउने भन्ने छ। पूर्वपश्चिम रेलमार्ग निर्माणको कुरा आएको छ। विकास निर्माण हुनु राम्रो हो। विकास हुनुहुन्न भन्ने होइन तर हामीले यसका लागि कत्तिको अध्ययन गरेका छौं ? यो मेरो जिज्ञासा हो। यसले वातावरणीय, पर्यावरणीय र मानवजातिमा पार्न सक्ने असरका बारेमा अध्ययन भएको छ कि छैन ? यो अहं प्रश्न हो।

प्रकृतिले दिएको प्राकृतिक सुन्दरता जोगाउँदै विकास निर्माण गर्नेतर्फ हामीले ध्यान दिनुपर्छ। स्विजरल्यान्ड, चीन, जर्मनी, भारतजस्ता मुलुकले पहाडमा कसरी विकास गरेका छन् त्यसको अध्ययन गरेर हामीले यहाँ विकास गर्न सके कम क्षतिमा समृद्धि हासिल गर्न सक्छौं। म राष्ट्रपति भएदेखि नै जोड दिँदै आएको कुरा पहाडको सुन्दरतालाई विकासका नाममा कुरुप नबनाऔं। पहाड र चुरेको भविष्यसँग तराईको पनि भविष्य र अस्तित्व जोडिएको छ। यसतर्फ सबैले ध्यान दिनु जरुरी छ।

चुरे संरक्षणका लागि २० वर्षको गुरुयोजना बनेको थियो। त्यसको कार्यान्वयनमा कसैले ध्यान दिएको छैन। तीन तहकै सरकार चुरेको संरक्षणमा गम्भीर नभएको देख्दा दु:ख लागेको छ। तराई मरुभूमि नबनोस् भन्ने मरो चिन्ता हो। ५१ प्रतिशत बसोबास गर्ने त्यहाँका बासिन्दाको भविष्यका लागि चुरे संरक्षण आवश्यक छ। तराईको पानीको मुहानको स्रोत हो चुरे। तर त्यहाँ अव्यवस्थित बसोबास भइरहेको छ।

बारा, पर्सा र रौतहटका केही स्थानमा मात्र जंगल छ। त्यही ठाउँमा हामी अन्तर्राष्ट्रिय विमानस्थल बनाउँदै छौं। लाखौंको संख्यामा रुख काटेर विमानस्थल निर्माण गर्दैछौं। अहिले निजगढ विमानस्थल निर्माणमा विवाद आएका छन्। मलाई शंका छ, विमानस्थल निर्माणमा पर्याप्त अध्ययन भएको छ। म सरकार र संसद्लाई आग्रह गर्दछु, अझै राम्रो अध्ययन गर्नुस्। तराईमा अन्यत्र ठाउँ नै छैन विमानस्थल निर्माण गर्न ? त्यसको विकल्प खोज्न सकिन्छ कि सकिँदैन ? विमानस्थल निर्माण हुनुपर्छ तर बारामै अर्काे ठाउँमा विमानस्थल निर्माण गर्न सकिन्छ भने त्यतातर्फ ध्यान दिन सरकारको ध्यानाकर्षण गराउँछु।

वातावरणविद्का अनुसार विमानस्थल निर्माणस्थलमुनि जलाशय छ। हामीले विमानस्थल निर्माण गरेपछि त्यो जलाशय रहन्छ कि रहँदैन ? यसको अध्ययन भएको छ त ? बरु ६ महिना थप गरेर पर्यावरणीय र वातावरणीय प्रभावका बारेमा अध्ययन गर्दा उपयुक्त हुन्छ कि भन्ने हो।

उता सुदूरपश्चिम प्रदेशको राजधानी पनि जंगलकै बीचमा बनाउँदैछौं। बाक्लो जंगल रहेको ठाउँमै राजधानी बनाउने आवश्यकता कसरी आयो ? दुईचार किलोमिटर यता उता बनाउँदा के हुन्छ ? कैलालीको अन्त ठाउँ राजधानी बनाउन उपयुक्त छैन र ?    जंगल नै मास्नुपर्ने किन ? यी प्रश्न मेरो मनमा उब्जिएका छन्। सकेसम्म कम भन्दा कम जंगल मासेर विकास निर्माणका काम गर्दा त्यसले हाम्रो पर्यावरणीय र वातावरणीय असर कम गर्छ।

अहिलेकै गतिमा चुरेको विनास भयो भने बढीमा ३० वर्षभित्र तराई मरुभूमि बन्छ भन्ने विभिन्न अध्ययनहरूको निचोड छ। जुन भूमिमा जन्मेर म आज यो देशको राष्ट्रपति बनें तर आज जिन्दगीको उत्तराद्र्धमा पुग्दा त्यो भूमि मरुभूमि बन्न सक्छ भनेर अध्ययनले भन्दा निकै दु:ख लाग्छ। त्यसकारण मैले चुरे संरक्षणमा जोड दिँदै आएको हुँ।

विश्वव्यापी तापक्रममा भइरहेको वृद्धि र जलवायु परिवर्तनमा हामीले सचेत हुने बेला आइसकेको छ। विकासका विभिन्न वहानामा चुरे क्षेत्रको दोहन रोकिएन भने चुरे त सकिन्छ नै, तराईलाई मरुभूमिबाट बचाउने हामीसँग कुनै सामथ्र्य हुनेछैन भन्नेतर्फ आमनागरिक र सरकारले समयमै ध्यान दिनुपर्छ। मेरो अपेक्षा यत्ति हो।

–यादव पूर्वराष्ट्रपति हुन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.