आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता : विभागीय टोलीको दबदबा

आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता : विभागीय टोलीको दबदबा

प्रदेश ब्युरो । बुटवल : आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा प्रदेशहरूलाई पछि पार्दै विभिन्न विधाका खेलमा विभागीय टिमले स्वर्णको खाता खोलेका छन् । नेपाल पुलिस, आर्मी र एपीएफले स्वर्ण प्राप्त गरेका छन् ।

बुटवलमा जारी लन टेनिस प्रतियोगितामा दुई स्वर्णको टुंगो लागेको छ । पुरुषतर्फ एपीएफ र महिलातर्फ नेपाली सेनाले स्वर्ण हात पारेका हुन् । आठौं राष्ट्रिय प्रतियोगिताअन्तर्गत देवीनगरस्थित लन टेनिस कोर्टमा बिहीबार भएको टिम इभेन्टतर्फको खेलमा नेपाली सेना र सशस्त्र प्रहरीलाई स्वर्ण हात परेको हो ।

पुरुष टिम इभेन्टमा सशस्त्र प्रहरी एपीएफले नेपाली सेनालाई ३–० को सेटमा पराजित गर्दै स्वर्ण जितेको छ । नेपाली सेनाले दोस्रो हुँदै रजत पदक पायो । प्रदेश ४ र एनआरएनको टिमले तृतीय हँुदै कांस्य पदक पाएका छन् । यसैगरी महिला टिम इभेन्टतर्फ नेपाली सेनाले सशस्त्र प्रहरी बलको एपीएफलाई २–१ को सेटमा पराजित गर्दै स्वर्ण हात पार्‍यो । एपीएफ क्लबले रजत पदकमा चित्त बुझायो । प्रतियोगितामा प्रदेश ३ र प्रदेश ४ ले तृतीय हँुदै कांस्य पदक पाए ।

बिहीबार खुला इभेन्टतर्फका खेलहरू सम्पन्न भएका छन् । खुलाको मेन्स सिंगलमा भीष्म काउचा सञ्जय श्रेष्ठलाई ७–५, ६–३, ७–६ ले पराजित गरी क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । यसैगरी संरक्षकभूषण वज्राचार्य दावा सोनाम शेर्पालाई ६–३, ६–१ ले पराजित गर्दै क्वार्टरफाइनलमा प्रवेश गरे । यसैगरी नवीन मगर इवेक जोशीलाई ६–१, ६–१ सेटमा पराजित गर्दै क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । अर्को खेलमा सम्यकभूषण वज्राचार्य निशान्त श्रेष्ठलाई ६–०, ६–० को सेटमा पराजित गर्दै क्वार्टरफाइनलमा प्रवेश गरे ।

त्यस्तै महिला सिंगलमा पे्ररणा कोइराला एनी माथेमालाई ६–२, ६–२ को सेटमा पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेका छन । यसैगरी रायना शाह श्रीया भट्टराईलाई ६–१, ६–१ को सोझो सेटमा पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेका छन् ।

यसैगरी बिहीबार नै भएको मेन्स डबल्सतर्फको खेलमा रामबहादुर विक र शेषमणि चौधरीको जोडीले निशान्त श्रेष्ठ र कुमार जीसीको जोडीलाई ७–५, ६–३, १०–६ ले पराजित गर्दै क्वार्टरफाइनलमा स्थान बनायो । चन्द्र थापा र विकास खड्काको जोडी कृष्ण गोविन्द र शिवराम मगरको जोडीलाई ६–१, ६–१ ले पराजित गर्दै क्वार्टरफाइनलमा प्रवेश गर्‍यो । यसैगरी संरक्षकभूषण वज्राचार्य र अमृत पौडेलको जोडी भीष्म काउचा र सञ्जय श्रेष्ठको जोडीलाई ६–१, ६–३ को सेटमा पराजित गर्दै क्वार्टरफाइनलमा प्रवेश गर्‍यो ।

मिक्स डबल्सतर्फको खेलमा अनिल शाही र गंगा शर्माको जोडी आत्माराम कार्की र इन्द्रकला श्रेष्ठको जोडीलाई ६–०, ६–२ को सेटमा पराजित गर्दै क्वार्टरफाइनलमा प्रवेश गर्‍यो । प्रणव खनाल र अभिलाष विष्टको जोडी गोविन्द नेपाली र विमला बस्यालको जोडीलाई ६–१, ६–२ को सोझो सेटमा पराजित गर्दै क्वार्टरफाइनलमा प्रवेश गर्‍यो । यसैगरी आइभन लिसानोभिच र अस्लेशा लिसानोविचको जोडी निशान्त श्रेष्ठ र अल्सा रेग्मीलाई ६–३, ६–२ को सेटमा पराजित गर्दै क्वार्टरफाइनलमा प्रवेश गर्‍यो ।

राष्ट्रिय प्रतियोगिताअन्तर्गत रुपन्देहीमा पुरुष र महिला गरी मेन्स सिंगल, मेन्स डबल्स, वुमन सिंगल, वुमन डबल्स, मिक्स डबल्स, टिम इभेन्ट गरी सातवटा स्वर्ण पदकका लागि प्रतिस्पर्धा भइरहेको छ । प्रतियोगितामा प्रदेश ३, ४, ५, नेपाली सेना, सशस्त्र प्रहरी बलको एपीएफ क्लब र एनआरएनका २८ पुरुष र १५ महिला खेलाडी सहभागी छन् । प्रतियोगिता वैशाख २ सम्म चल्ने छ ।

टेबुल टेनिसमा पुलिसलाई दुई, एपीएफलाई एक स्वर्ण

दाङ : आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गतको पहिलो स्वर्ण पदक नेपाल पुलिस क्लबले जितेको छ । दाङको घोराहीमा बुधबारदेखि सञ्चालन भएको टेबुल टेनिस प्रतियोगितामा प्रतियोगिताकै पहिलो स्वर्ण पदक टेबुल टेनिसको महिला टिम इभेन्टमा पुलिसले जितेको हो । पुलिसले फाइनलमा एपीएफ क्लबलाई ३–१ को सेटमा हराउँदै स्वर्ण जितेको हो ।

पुलिसकी एलिना महर्जनले सेलिषा खड्गीलाई ३–२ तथा नविता श्रेष्ठले अनिता महर्जनलाई ३–० ले पराजित गरिन् । मञ्जु सुवाल एपीएफकी सिक्क सुवालसँग ३–१ ले हारेकी थिइन् । तर, नविताले सेलिषालाई ३–१ को सेटमा हराएपछि पुलिसले आठौं राष्ट्रिय खेलकुदको पहिलो स्वर्ण पदक जितेको आयोजकले जनाएको छ ।

यसैगरी महिला डबल इभेन्टमा पनि पुलिसले स्वर्ण जितेको छ । नेपाल आर्मी क्लबलाई हराउँदै नेपाल पुलिस क्लबले स्वर्ण जितेको हो । पुलिस क्लबका नवीना श्रेष्ठ, एलिना महर्जन, रविना महर्जन, स्वेच्छा नेम्बाङले डबल महिला इभेन्टमा स्वर्ण पदक जितेका टेबल टेनिस संघ दाङका उपाध्यक्ष अरुण लहरेले जानकारी दिए ।

यसैबीच पुरुषतर्फको टेबल टेनिसतर्फ पनि विभागीय टिमले नै स्वर्ण पदक जितेको छ । नेपाल पुलिसलाई हराउँदै एपीएफले पुरुषतर्फ स्वर्ण पदक जितेको हो । दाङका भइरहेको बास्केट बल प्रतियोगितामा नेपाल पुलिस क्लब, नेला आर्मी क्लब, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशले विजयी सुरुआत गरेका छन् ।

आर्मी, पुलिस र सुदूरपश्चिम विजयी

नेपालगन्ज : आठौं राष्ट्रिय खेलकुदको हक्की प्रतियोगिता नेपाल पुलिस, त्रिभुवन आर्मी र सुदूरपश्चिम प्रदेश विजयी भएका छन् । नेपालगन्जको मंगलप्रसाद माविको खेल मैदानमा बिहीबार भएको पहिलो खेलमा नेपाल पुलिस क्लबले गण्डकी प्रदेशलाई ५–० ले हरायो । नेपाल पुलिस क्लबका रोमन राना एक्लैले पाँच गोल गरेका थिए ।

बिहीबार नै भएको हक्कीको दोस्रो खेलमा नेपाल आर्मीले प्रदेश २ लाई १–० ले हरायो । आर्मीको जितमा राम शाहले गोल गरे । बिहीबार अपराह्न भएको तेस्रो खेलमा सुदूरपश्चिम प्रदेशले कर्णाली प्रदेशलाई ३–० ले हरायो । सुदूरपश्चिमका लागि राम परियारले पहिलो गोल गरे । भीमदत्त भट्ट र कान्तुराम पनेरूले पनि एक एक गोल थपे ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.