घरेलु हिंसाले महिलामा मानसिक समस्या बढ्यो
अछाम : न्याय हेल्थ बयलपाटा अस्पतालले मानसिक स्वास्थ्यसम्बन्धी सेवा सूचारु गरेको ३ वर्ष भयो।यो अवधिमा ५ हजार भन्दा बढीले उपचार सेवा लिएका छन्। सेवा लिनेमा सबैभन्दा बढी महिला छन्।अस्पतालको तंथ्याकअनुसार महिलाको संख्या ४ हजार ७१ रहेको छ भने पुरुषको १ हजार ६ सय ८१ रहेका छन्।घरेलु हिंसाका कारण महिलामा मानसिक समस्या बढेको अस्पतालको तथ्यांकले देखाएको छ।
अस्पतालमा बिरामी समस्या लिएर आउँछन्, बिरामीमा समस्या छ तर रोग देखिदैन।उपचारको क्रममा केही नदेखिएपछि उपचारमा संलग्न स्वाथ्यकर्मीले मानसिक स्वास्थ चेकजाँचका लागि पठाउँछन्, परामर्शका क्रममा मानसिक स्वास्थ्यसम्बन्धी समस्या देखा पर्ने गरेको मनोविमर्शकर्ता भरत कडायतले बताए।
परामर्शका क्रममा अधिकांश महिलामा मदिराका कारण पारिवारिक कलहले गर्दा मानसिक समस्या देखा पर्ने गरेको कडायतले बताए।उनले भने, 'मदिरा सेवन गरी दिनहुँजसो घरमा झैंझगडा कुटपिट हुने गरेका कारण मानसिक तनाब महिलाले झेल्नु परेको छ, अहिले नियमित औषधि सेवन र परामर्शका लागि अस्पताल आइरहन्छन्, अधिकांशको मानसिक स्वास्थमा क्रमश सुधार हुँदै गइरहेको छ।'
मानसिक स्वास्थ बिग्रिनुमा यहाँका मानिस देउतालाई दोष दिने गरेको र धामी झाँक्रीको उपचारपछि मात्र अस्पताल आउने गरेको उनले बताए। अस्पतालमा हप्तामा १ सयभन्दा बढी मानसिक रोगी उपचारका लागि आउने गरेका र त्यसमा पनी दैनिक ५/६ जना नयाँ बिरामी थपिने गरेका छन्। कडायतले भने,'१९ देखि ४९ वर्ष उमेरसम्मका महिला मानसिक स्वास्थसम्बन्धी समस्या लिएर आउने गरेका छन्, परामर्शपछि ७५ प्रतिशतलाई निको समेत भएको छ, कतिपय महिलालाई सेफ हाउसमा पठाउने गरेका छौं, हाम्रो समाजमा रोग लुकाउने र देउतालाई दोष दिने प्रवृत्ति बाधक बनेको छ।' धेरैजसो मानसिक रोगी धामी झाँक्रीको उपचारबाट निको नभएपछि बयलपाटा अस्पताल आउने गरेका छन्।
अस्पतालका डाक्टर विकास गौचनका अनुसार पछिल्लो समय मानसिक समस्या भएकाहरु उपचारका लागि आउने गरेका छन्। निको हुँदैन भनेर बसेका पनि अस्पतालको सम्पर्कमा आएर उपचारपछि सामान्य जीवन बिताइरहेका छन्।
घरेलु हिंसाका कारण मानसिक तनाव झेल्दै आएका केही महिलालाई सेफ हाउसमा समेत पठाउने गरेको डाक्टर गौचनले बताए।उनले भने ,'उपचारपछि निको भएकाले नै त्यस्ता बिरामी अस्पताल जान सुझाव दिएपछि मानसिक स्वास्थ समस्या लिएर आउने गरेका छन्।'
'विशेषज्ञ डाक्टरसँगै गाउँघर भेटघाट कार्यक्रमअन्र्तगत यस्ता बिरामीलाई परामर्श गर्ने गरेका छौं, उनले भने, 'अन्य रोगजस्तै यो रोग पनी नियमित औषधि सेवन र परामर्शबाट निको हुन्छ, बिरामीको अवस्था हेरेर औषधि सेवनको अवधि तोक्ने गरिएको छ।