सगरमाथाको उचाइ नाप्ने टोली नाम्चेमा, अभ्यासका लागि आइल्याण्ड पिक चढ्दै
ओखलढुंगा : नापी विभागले खटाएको सगरमाथा मापन टोली शुक्रबार नाम्चेमा पुगेको छ। जिपिएस र लेवलिङको काम सकिएपछि सगरमाथाको उचाइ नाप्न सहयोगीसहितको ६ सदस्यीय टोली नाम्चे पुगेको हो।
सगरमाथा चढेर उचाइ मापन गर्नुपर्ने भएकाले पूर्वअभ्यास गरेर मात्रै टोलीले सगरमाथा आरोहण गर्ने बताइएको छ। टोलीका चार सदस्यमध्ये खिमलाल गौतम र रविन कार्कीले सगरमाथा आरोहण गरेर उचाइ लिनेछन्।
यसअघि विभागले मापनको मापदण्ड १ सय २९ नियन्त्रण विन्दु कायम गरेर सर्वेक्षण गरेको थियो। त्यस्तै सगरमाथाको शिखरसँग जोडेर सर्वेक्षण गर्न पहिचान गरिएका विभिन्न १२ स्थानमध्ये ३ वटाको उचाइ स्थापित गर्ने काम पनि सकिएको छ। सिरहाको माडरदेखि तीनवटा प्रमुख स्थानहरू सोलुखुम्बुको पत्ताले, फाप्लु नजिकै रहेको छुयाङ्मु डाँडा र पीके डाँडासम्मको उचाइ लिएर (लेभलिङ गरेर) सम्पर्क स्थापित गर्ने काम सकिएको हो।
यो सँगै सगरमाथा मापन टोली वेश क्याम्प प्रस्थान गरेको सगरमाथाको उचाइ मापन योजनाका संयोजक तथा प्रमुख नापी अधिकृत सुशील डंगोलले जानकारी दिए। बाँकी ९ स्थानबाट भने शिखरबाट फर्किसकेपछि सर्वेक्षण गरिनेछ। ‘ट्रिगोनोमेट्रिकल’ अर्थात् त्रिकोणमितीय लेभलिङका आधारमा सर्वेक्षण तथा उचाइ नापिने छ। जीपीएस र १२ वटा विन्दुसँगको सर्वेक्षणका आधारबाट सगरमाथाको उचाइ टुंगो लाग्नेछ।
कामका हिसाबले सगरमाथा मापनको प्राविधिकबाहेक ६० प्रतिशत काम सम्पन्न भएको छ। सगरमाथाको उचाइ मापनको कामबारे टोली प्रमुख डंगोलले भने, ‘लेवलिङ र जिपिएस लगायतका काम सकिएका छन्, यसलाई आधार मान्दा सगरमाथा उचाइ मापनको काम ६० प्रतिशत सकिएको छ।’
सगरमाथाको उचाइ नाप्ने मुख्य काम भने बाँकी नै छ। यसका लागि सहयोगसहितको ६ सदस्यीय टोली २७ गते नै वेशक्याम्पतर्फ प्रस्थान गरेको सगरमाथा मापनको व्यवस्थापनको जिम्मा पाएको पिक प्रमोसनका प्रबन्ध निर्देशक एवं पर्यटन व्यवसायी आङबाबु शेर्पाले बाताए। उनले टोली शुक्रबार नाम्चेमा रहेको जानकारी दिए। शेर्पाका अनुसार टोलीले सगरमाथा चढेर उचाइ मापनको अभ्यासका लागि अप्रिल १९ तारिखमा (०७६ वैशाख ६ गते) आइल्याण्ड पिक समिट गर्ने तयारीमा रहेको छ। आइल्याण्ड पिकको सफल आरोहणपछि मात्रै अप्रिल २२ तारिखमा (०७६ बैशाख ९ गते) उक्त टोली सगरमाथाको आधार शिविर पुग्ने छ। मेभित्रै टोलीले सगरमाथा आरोहण गरेर उचाइ लिइसक्ने कार्यसूची तय भएको छ।
नेपाल आफैंले पहिलो पटक मापन गर्दै
२०७२ वैशाख १२ गतेको भूकम्प तथा त्यसपछिका पराकम्पनले सगरमाथाको उचाइ घटबढ भएका समाचार आएपछि नापी विभागले भारत, चीन, जापान, संयुक्त राज्य अमेरिकालगायत नौ देशका विशेषज्ञसँग छलफल गरी सगरमाथाको उचाइ मापनका लागि सुझाव लिएको थियो।
यसअघि छिमेकी भारत, चीनलगायत देशले पाँच पटक सगरमाथाको मापन गरेका थिए। पछिल्लो पटक सन् १९५४ मा भारत सरकारले सगरमाथाको उचाइ मापन गरी ८८४८ मिटर पत्ता लगाएकोमा त्यसलाई नै अहिलेसम्म आधिकारिक मानिएको छ।
उचाइ मापनका क्रममा अत्याधुनिक प्रविधि ‘स्नो राडार इक्विपमेन्ट’ प्रयोग गरी स्वदेशी स्रोत र साधनको समेत उपयोग गरिने छ। नेपाल–भारतको सीमा भएको सिरहास्थित मदार भन्ने स्थानबाट झण्डै एक वर्ष अगाडि मापनका लागि प्रारम्भिक सर्वेक्षण तथा अन्य आवश्यक काम गरिएको थियो। सगरमाथाको उचाइ मापनका लागि भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयले २२ करोड रुपैयाँ विनियोजन गरेको छ।
चीनले सन् २००५ मा गरेको मापनमा सगरमाथाको चट्टान सतहको उचाइ ८८४४ मिटर तथा अमेरिकाको नेशनल जियोग्राफीले झण्डै दुई दशक अगाडि गरेको अध्ययनले ८८५० मिटर कायम गरेको थियो। इटालीले गरेको अध्ययनले भने सगरमाथाको उचाइ ८८४७ मिटर कायम गरेको थियो। यस पटकको मापनमा कायम गरिने उचाइ नै अबको आधिकारिक उचाइ हुने भएकाले सरोकारवालाहरुले यसलाई महत्वका साथ हेरेका छन्।