वीरगन्ज नाकाको विकल्प छैन : पूर्वअर्थमन्त्री पाण्डे
वीरगन्ज : पूर्वअर्थमन्त्री एवं नेकपाका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले आर्थिक र व्यापारिक कारोबारका लागि वीरगन्जको विकल्प अरु कुनै सहर बन्न नसक्ने बताएका छन्।
वीरगन्जमा शुक्रबार नेपाल राष्ट्रिय शिक्षक संगठन पर्साले आयोजना गरेको कार्यक्रममा बोल्दै पूर्वअर्थमन्त्री पाण्डले भने, 'देशको राजनीतिक राजधानी काठमाडौं हो, प्रदेश २ को प्रादेशीक राजधानी जनकपुर हो तर देशको आर्थिक राजधानी भने वीरगन्ज नै हो, यसको विकल्प अरु कुनै नाका वा सहर बन्नै सक्दैन।
भारतीय सीमाबाट काठमाडौं पुग्ने सबैभन्दा छोटा नाका वीरगन्ज नै रहेको भन्दै उनले भने, 'एकीकृत भन्सार जाँच चौकी आइसीपी, रेल सुविधासहितको सुख्खा बन्दरगाह, सबै भन्दा ठूलो औद्योगिक कोरिडोर, ६ लेनको व्यापारिक मार्ग , विशेष आर्थिक क्षेत्र सेज, निजगढ अन्र्तराष्ट्रिय विमानस्थल, तराई काठमाडौं द्रूतमार्ग, पेट्रोलियम पाइप लाइन सबै वीरगन्ज र यस आसपासमै छन्, त्यसैले वीरगन्ज, देशकै आर्थिक राजधानी हो।'वीरगन्जमा रहेका प्रचूर सम्भावनालाई सदुपयोग गर्न सके वीरगन्जको भविष्य कसैले रोक्न नसक्ने पनि उनले बताए।
अब मुलुकको मुख्य प्राथमिकता आर्थिक क्रान्ति
पूर्वअर्थमन्त्री पाण्डेले मुलुकमा राजनीतिक परिवर्तनको क्रान्ति सकिएकाले अब आर्थिक क्रान्ति नै मुलुकको मुख्य प्राथमिकता र आवश्यकता रहेको बताए।
मुलुकको समृद्धिका लागि अबको अध्याय र आवश्यकता भनेको आर्थिक क्रान्ति नै हो,उनले भने,' आर्थिक क्रान्ति गर्न सकिएन भने मुलुक अगाडि बढ्नै सक्दैन, त्यसैले अब बन्द, हडताल र जुलुश गर्न छाडेर देश निर्माणमा जुट्नु पर्ने बेला आइसकेको छ।'
नेपालको अहिलेको शिक्षा प्रणालीमा आमुल परिवतर्न गर्नुपर्ने खाँचो रहेको भन्दै उनले भने,'अहिलेको शिक्षा प्रणाली ज्यादा किताबी मात्रै भयो, मान्छेको जीवनमा लागु हुने खालको व्यवहारिक शिक्षा प्राणाली बनाउनुपर्छ।'
उनले नेकपाको पार्टी एकता प्रक्रिया बैशाख ९ गते भित्र नै टुंगिने जानकारी पनि दिए।कार्यक्रममा अम्बिका सिंह स्मृति शिक्षा पुरस्कार, वीरगन्जको सिद्धार्थ माविका पूर्व प्रधानाध्यापक जगरनाथ तिवारीलाई प्रदान गरिएको थियो।
पूर्व अर्थमन्त्री पाण्डले तिवारीलाई दोशल्ला औढाउँदै २५ हजार नगद राशीको पुरस्कार प्रदान गरे। नेकपाका युवा नेता अरविन्द सिंहले आफ्नी आमा स्वर्गीय अम्बिका सिंहको स्मृतिमा स्थापना गरेको अम्बिका सिंह स्मृति शिक्षा पुरस्कार यसवर्ष तिवारीलाई प्रदान गरिएको हो।
कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संगठन पर्साले पर्साका विभिन्न सामुदायिक विद्यालयमा अध्यापन गराइ अवकाश प्राप्त गरेका ३३ जना पूर्व शिक्षकलाई दोशल्ला ओढाउँदै सम्मानित गरेको थियो।
नेपाल राष्ट्रिय शिक्षक संगठन पर्साका अध्यक्ष शीवनाथ थारुको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व सांसद राजकुमार गुप्ता , विचारी यादव र प्रधुमन चौहान, नेकपाका नेताहरु चिरन्जिवि आचार्य, रहबर अन्सारी, छोटेलाल यादव, वीरगन्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष गणेश लाठलगायतको उपस्थिती थियो।