सकियो चैते छठ
विराटनगर : उदाउँदो सूर्यलाई अर्घ दिँदै चार दिनसम्म मनाउने गरेको छठ पर्वको शुक्रबार समापन भएको छ। चैत्र शुल्कपक्ष चतुर्थी तिथिदेखि सुरु भएको छठ पर्व सप्तमी तीथिमा उदाउँदो सूर्यलाई अर्घ दिई विधिवतरुपमा समापन गरिएको छ।
मिथिलावासीको 'साँझा पर्व'को रुपमा स्थापित भएको चैते छठपर्व शुक्रबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिँदै हिन्दु परम्पराअनुसार हर्षोल्लासकासाथ विधिवतरुपमा समापन गरिएको हो।
शारीरिक कष्ट हरण, चर्मरोगको निवारण तथा दरिद्रपन नष्ट र पुत्र प्राप्तीका लागि भगवान सूर्यको पूजा आराधनास्वरुप छठ पर्व मनाउने परम्परा मिथिला अञ्चलमा रहेको छ।
कार्तिक र चैत्र गरी वर्षको दुईपटक छठ पर्व मनाउनुपर्ने धर्मशास्त्रमा वर्णत गरिएको छ।कार्तिकमा मनाइने छठ पर्वमा हिन्दुधर्मालम्बीले प्रार्थना वा आराधानको निम्ति गर्छन् भने चैत्रे छठमा कार्तिक महिना गरिएको आराधना पूरा हुने (पूर्ति) जनविश्वास रहेको छ।
मिथिला अञ्चलमा आराधना गरिएपछि मनोकांक्षा पूरा हुने गरेको जनविश्वास रहेकाले कार्तिकको तुलनामा चैत्रे छठको पनि वर्षेनी रौनकता थपिदै गएको जानकार बताउँछन्। चैत्रे छठमा गरिने आराधनाले एक महिनाभित्र पूरा हुने जनविश्वास समेत रहेको पण्डित मृतुञ्जय झाले बताए।
सत्य, अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने मिथिलावासीको महत्वपूर्ण पर्वको रुपमा स्थापित हुँदै आएको छठ पर्व चैत्र शुल्क पक्षको चौथी तिथिदेखि आरम्भ हुन्छ।
सप्तमी तिथिको उदाउँदो सूर्यलाई अर्घ दिई समापन हुने यो पर्वमा पहिलो दिन चतुर्थी तिथिमा 'अरबा-अरबाइन' वा नुहाई खान भन्ने गरिन्छ। पहिलो दिन ब्रतालुले खोला, नाला, नदी, पोखरी वा जलासयमा गई स्नान गरेर पवित्र भई चोखो खाना खाने गर्छन्।
ब्रतालुले पहिलो दिनदेखि नै माछामासु, लसुन, प्याज र कोदो परित्याग गरी अरवा वा नुनविनाको खाना खाने प्रचलन रहिआएको छ।पञ्चमी तिथिको दिन 'खरना' गरिन्छ।'खरना' अस्ताउँदै सूर्यलाई अर्घ दिनुभन्दा अघिलो दिन गर्ने भएकाले 'खरना'को दिन ब्रतालु व्रत लिने गरिन्छ। सोही दिन साँझपख नुहाएर पवित्र(चोखो)भई आफ्नो कुल देवता स्थापना गरेको पूजा घरमा नयाँ चुल्हो स्थापना गरी प्रसादका लागि खीर बनाउँछन्। प्रसादको रुपमा पाकेको केरा र खीरलाई उतम मानिन्छ।
षष्ठीको तिथिमा ओखलमा कुटिएको गहुँको पिठोबाट बनेको ठकुवासहितका मिष्टान परिकार र पिठोबाट विभिन्न खाद्यसामग्री बनाइन्छ।छठ पूजाका लागि बनाउने साम्रगी अपवित्र भए अनिष्ट हुने जनविश्वास रहेकाले साम्रगी बनाउँदा अति नै चनाखो हुनुपर्ने पं महेन्द्रनारायण ठाकुरले बताए।
पूजा सामग्री बनाउँदा महिलाले शुभ गीत गाउने गर्छन्।ब्रतालुले तेस्रो दिन सन्ध्याकालीन अस्ताउन लागेको सूर्यलाई अर्घ दिनका लागि पानीभित्र पसेर सूर्य अस्ताउन्जेलसम्म आराधना गर्ने गर्छन्।
अर्घ दिने बेलामा ब्रतालुको दुवै हाथमा 'पिठार' र सिन्दुर लगाएर हातमा अक्षत र फूल राखेर अराधनको निम्ति ल्याएको साम्रग्री आलोपालो गरी सूर्यलाई अर्पण गरिन्छ। चौथो दिन अर्थात् सप्तमी तिथिको दिन उस्ताउँदै सूर्यलाई फेरी विधिपूर्वक अर्घ दिइ छठ ब्रतको कथा सबै श्रद्धालुले सुनेर चैते छठको समापन गरिन्छ।